गीताको अनुसरण
गोविन्दबाबु तिवारी
प्रमुख कार्यकारी अधिकृत
नेपाल-बङ्गलादेश बैङ्क
उनले नेतृत्व गरेको बैङ्कले भर्खरै १८औं वसन्तमा पाइला टेकेको छ । तर, उनको जीवनको सर्वाधिक ऊर्जाशील समय भने बैङ्क तथा वित्तीय क्षेत्रको सेरोफेरोमा नै बितेको छ । नेपाल-बङ्गलादेश बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्दबाबु तिवारीले नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क हुँदै एनएमबी बैङ्कमा काम गरेको ४२ वर्षभइसकेको छ । र, आगामी पुसदेखि सेवानिवृत्त हुँदै छन् उनी- निक्षेप सङ्कलन, कर्जा प्रवाहलगायत आर्थिक कारोबारको दुनियाँबाट । केन्द्रीय बैङ्कमा सहायक पदमा एक दशक सेवा गर्दा पनि योग्यताअनुसारको पदोन्नति नपाएपछि वाणिज्य बैङ्कको अधिकृत हुँदै १५ वर्षको सेवा अवधिमा नायब मुख्य अधिकृतको जिम्मेवारी वहन गरेका उनी व्यावसायिकता कम अनि राजनीति ज्यादा भएपछि त्यहाँबाट विरक्तिएर एनएमबी पुगेको बताउँछन् । स्थापनाकालदेखि नै एनएमबीको उच्च व्यवस्थापन तहमा रहेका उनी आफूलाई पैसाको पछाडि नदौडने अपवादको मान्छे भन्न रुचाउँछन् । पारिवारिक संस्कारले पनि पैसालाई प्राथमिकता नदिएको उनको भनाइ छ ।
छ दशकअघि लमजुङको चिती गाउँ विकास समितिअन्तर्गतको तिवारीडाँडामा मध्यमवर्गीय परिवारमा जन्मेका तिवारीका पिता जिल्लामा शैक्षिक विकासका अभियन्ता थिए । उनले नै काठमाडौंबाट अङ्ग्रेजी शिक्षक लगेर आधुनिक शिक्षाको श्रीगणेश गराएका हुन् । पिताकै प्रेरणाबाट आजको अवस्थामा पुगेको बताउने उनलाई घरायसी एवम् व्यक्तिगत कारणले स्नातकोत्तर पूरा गर्न नपाएकोमा थकथकी लागिरहेको छ । 'सबै विषयमा उत्तीर्ण भए पनि 'थेसिस' बुझाउन विलम्ब हुँदा एमएको डिग्री हात पार्न सकिएन' ज्ञानको भोक पूर्णरूपमा मेट्न नसकिएकोमा पश्चात्ताप गर्दै उनी भन्छन् ।
लगनशीलता, सच्चरित्र र परिश्रम तिवारीको व्यवस्थापन मन्त्र हो । ठूलालाई आदर र सानालाई स्नेह गर्ने उनको बानी छ । समूहगत एवम् सहभागितामूलक कार्यप्रणाली अपनाएका छन् उनले । जुनसुकै काम पनि समर्पित भएर गर्नुपर्छ भन्छन् उनी । आफै दृष्टान्त बन्नुपर्ने उनको मान्यता छ । स्पष्ट दृष्टिकोण र योजना बनाएर अघि बढ्दा सफलता प्राप्त हुनेमा उनको विश्वास छ । परेको बेला कर्मचारीलाई सहयोग गर्ने बानीले उनीहरूमाझ अत्यन्त प्रिय छन् उनी । उनीबाट कर्मचारीले स्वामित्वबोध र उत्तरदायित्वपूर्ण जिम्मेवारी निर्वाहको शिक्षा पाएका छन् । 'एनएमबीमा सबै समान छन् । हाकिम-कर्मचारीमा विभेद छैन' उनको कार्यालयमा पुग्ने जोकोहीले त्यस्तो महसूस गर्छन् । कार्यशैली र त्यसप्रतिको व्यक्तिको लगाव हेरेर तुरुन्तै खुट्टयाउँछन् उनी मेहनती र लोसे कर्मचारी । उनीहरूलाई शीप एवम् दक्षता प्रस्फुटन गर्न प्रशस्त अवसर दिने गरेका छन् । पूर्ण अभिव्यक्ति स्वतन्त्रता र सोचको क्षितिजलाई फराकिलो पार्न उनीहरूलाई उकासिरहने उनको बानीको मातहतका कर्मचारीहरू सधैं प्रशंसा गर्छन् । देशका विभिन्न भागमा १९ ओटा शाखा सञ्चालन गरेर वित्तीय सेवा दिइरहेको एनएमबीमा ४ सय १९ जनाले रोजगारी पाएका छन् । १९ प्रतिशतमा पुगेको बैङ्कको निष्क्रिय कर्जाको अनुपातलाई ५ प्रतिशतमा झार्ने योजनाका साथ काम गरिरहेका छन् उनी । मर्जरको प्रभावका कारण गत पुसको तुलनामा बैङ्कको निष्त्रिmय कर्जाको अनुपात ४ प्रतिशतले बढेको स्पष्टीकरण दिन्छन् उनी ।
स्पष्ट दृष्टिकोणसहितको कार्ययोजना र त्यसलाई व्यवहारमा अनुवाद गर्ने दृढ इच्छाशक्ति तथा आत्मविश्वासबाट व्यवसाय र व्यवसायी दुवै सफल हुने तिवारीको ठम्याइ छ । उनीसँग सहकार्य गर्नेहरू उनलाई आफ्ना भनाइ स्पष्ट शब्दमा प्रस्तुत गर्ने र समूहगत रूपमा पनि प्रभावकारी ढङ्गले काम गर्न सक्ने प्रतिभावान् सीईओ मान्छन् । उमेरअनुसार जीवनको लक्ष्य फेरिने उनको बुझाइ छ । सम्पूर्णतामा मान्छे हुनुपर्छ भन्ने उनी आफूलाई यान्त्रिक मानव भन्छन् । जीवन र जिब्रोको स्वादमा रमाउने मान्छेलाई यन्त्र मानवको कोटिमा राखेका छन् उनले ।
मन्दिर जानु हिन्दू संस्कार भए पनि तिवारी त्यसो गर्दैनन् । धर्मको गलत अर्थ लगाइएको उनको विश्लेषण छ । मानस पूजा गर्ने उनी दया, प्रेम र अहिंसालाई धर्म मान्छन् । आध्यात्मिक चिन्तनमा विश्वास गर्छन् उनी । उनको विचारमा गीता नै सम्पूर्ण ज्ञानको सार हो । मानव जीवनमा यसको अध्ययन अनिवार्य मान्छन् उनी । राष्ट्रसेवा गर्ने मान्छेमा यसको चिन्तन हुनु जरुरी लाग्छ उनलाई । सामाजिक उत्थानका लागि दान गर्नुपर्ने मान्यता भए पनि उनी त्यसलाई प्रचार गर्न चाहँदैनन् । ज्ञान दान सबैभन्दा ठूलो दान हो उनका निम्ति । 'लोका: समस्ता सुखिनो भवन्तु'अर्थात् संसारका सबै मानिस सुखी होउन् भन्ने उनको चाहना छ । देव, पितृ र मातृऋण तिर्नु हरेक नागरिकको अभिभारा भएकाले त्यसबाट कसैले पनि उन्मुक्ति नपाउने उनको ठम्याइ छ । नेपालमा संस्थागत संस्कृतिले गति लिएको उनलाई लाग्दैन । व्यक्तिवादी चिन्तन र सोच हाबी भएसम्म त्यो विषय कोरा कल्पना मात्र हुने उनको टिप्पणी छ । अनुशासन र इमानको अभावमा मुलुक पछाडि परेको विश्लेषण गर्ने उनी सबै देशवासी अनुशासित एवम् इमानदार भएमा नेपालको काँचुली फेरिन बेर नलाग्ने उनी बताउँछन् ।
Admin 2011-06-26