''चाहना अन्तरराष्ट्रिय लगानीको''
अनुज अग्रवाल
निर्देशक, विशाल ग्रूप
उनको कार्यकक्षमा पुग्न न सुरक्षा जाँच गराउनुपर्छ न 'सेक्रेटरी'को अनुमति नै लिनुपर्छ । उनको कार्यालयको ढोका सधैं सबैका लागि खुला रहन्छ । उनलाई पारदर्शिताको अभियन्ताभन्दा पनि फरक पर्दैन । विधिको शासनमा विश्वास गर्ने उनको व्यवस्थापन मन्त्र इमानदारी एवम् पारदर्शिता हो र सफलताको रहस्य पनि । यद्यपि सफल मान्दैनन् उनी आफूलाई । त्यसको मूल्याङ्कन गर्ने जिम्मा अरूलाई नै दिनुपर्ने अभिमत व्यक्त गर्छन् विशाल ग्रूपका निर्देशक अनुज अग्रवाल । व्यापार व्यवसाय गर्ने व्यक्तिले आफूसम्मको पहुँचलाई दुरुह बनाउनु हुँदैन भन्ने मान्यता राख्ने उनी आफूलाई जोकोहीले निर्वाध भेट्न सक्ने दाबी गर्छन् । तर, सामान्य शिष्टाचारका निम्ति अग्रीम 'अपोइण्टमेण्ट' पनि आवश्यक ठान्छन् उनी ।
हरेक काम योजना बनाएर गर्छन् अनुज । अल्प, मध्य र दीर्घकालीन रणनीति बनाएर काम गर्छन् उनी । मातहतका कर्मचारीलाई कामप्रति समर्पित हुन सम्झाइरहन्छन् मित्रका रूपमा । र, आफै 'रोल मोडल' भएर प्रस्तुत पनि हुन्छन् । 'संस्थागत स्वार्थका लागि सबै मिलेर जानुपर्छ' राजनीतिक दलका नेताले झैं अभिव्यक्ति दिन्छन् तथापि राजनीति उनको रुचिको विषय होइन । राजनीतिक खिचातानीले अस्थिरता बढेको विश्लेषण गर्ने उनी विश्वभरका युवा उद्यमीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने 'आन्त्रप्रेनर्स अर्गनाइजेशन'का संस्थापक सदस्य पनि हुन् । हालै उनीलगायत केही युवा उद्यमीहरूको सक्रियतामा राजधानीमा बृहत् अन्तरराष्ट्रिय सम्मेलन भएको थियो । जहाँ विश्वका ४० मुलुकका व्यवसायीको सहभागिता थियो । देशमा उद्योगमैत्री वातावरण भए अर्थतन्त्रलाई उकास्न लामो संघर्ष गर्नु नपर्ने उनलाई लाग्छ । बृहत् राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सबैले होस्टेमा हैंसै गर्दा राष्ट्र निर्माण कठिन नहुने उनको बुझाइ छ ।
सधैं सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिने अनुजको परिस्थिति बुझेर तत्काल निर्णयगर्ने क्षमता इन्भेष्टमेण्ट बैङ्कका अनुसन्धान विभाग प्रमुख शिवान्त पाँडेलाई प्रभावकारी लाग्छ । तल्लो तहका कर्मचारीलाई पूर्ण जिम्मेवारी दिने र प्रतिफल एवम् परिणाममा पनि समान रूपले सरिक गराउने उनको कार्यशैली सबै व्यवस्थापकहरूले अनुशरण गर्नुपर्ने तर्क गर्छन् शिवान्त । विविध विषयलाई समानान्तर ढङ्गले एकैपटक सम्बोधन गर्न सक्ने अनुजमा केही अवगुण देख्दैनन् उनी ।
अमेरिकाको ओइन स्कूल अफ म्यानेजमेण्टबाट अर्थशास्त्र, वित्त र सूचना पद्धतिका साथै 'अप्रेशन म्यानेजमेण्ट'मा स्नातकोत्तर गरेका छन् अनुजले । पढाइ पूरा गरेपछि ८० वर्ष पुरानो आफ्नै पारिवारिक कम्पनी विशाल ग्रूपमा प्रशिक्षार्थीका रूपमा काम गरे उनले, विदेशमा सिकेको शीप व्यवहारमा अनुवाद गर्न । अनुजकै अगुवाइमा अन्तरराष्ट्रिय कम्पनीहरूसँगको सहकार्यमा त्यहाँका उत्पादन नेपाल भित्र्याइएको हो । प्रक्टर एण्ड ग्याम्बल, डिएगो, युनाइटेड विस्किट्स, माष्टरफूड्स, भक्सवागन, नोकिया, तोसिवा, बेल्किन ब्राण्डको आधिकारिक विक्रेता विशाल ग्रूप नै हो । स्टील र त्यससँग सम्बन्धित सामग्रीको उत्पादनका साथै ब्याट्रीजस्ता उपभोगका सामान पनि उनको समूहले उत्पादन गर्दै आएको छ । शिक्षा, रियल इष्टेट, सिमेण्ट र जलविद्युत्का क्षेत्रमा पनि लगानीको योजना बनाएको छ विशाल ग्रूपले । 'रणनीतिक क्षेत्रमा लगानी गर्ने हाम्रो सोच छ' भावी योजना सुनाउँदै उनी भन्छन् । बैङ्क अफ एशिया, ग्लोबल ट्रेडिङ कन्सर्न, युनाइटेड डिष्ट्रिब्युर्टसमा पनि उनले निर्देशकीय जिम्मेवारी बहन गरिरहेका छन् । ग्रूपले संयुक्त लगानीको जीवन बीमा कम्पनी एलआईसी, दूरसञ्चार सेवाप्रदायक एमटीनएनएल, टीसीआईएल,भीएसएनएलसँगको सहकार्यमा नेपालमा सेवा प्रवाह गरिरहेको छ । नेपाल उद्योग परिसङ्घका उपाध्यक्षसमेत रहेका अनुजले आफ्नो कम्पनीमा सूचनाप्रविधि र मानव संसाधन विकासको प्रारूप बनाउने जिम्मेवारी पनि पाएका छन् ।
यात्राका शौखिन अनुज व्यवस्थापन, नवप्रवर्तन र व्यवसायसम्बन्धी पुस्तकहरू खोजीखोजी पढ्छन् । ज्ञानगङ्गामा गोता लगाउन उनलाई कहिल्यै अल्छी लाग्दैन । ईश्वरमा आस्था छ उनको । मन्दिर जाँदैमा धर्म हुनेमा उनी विश्वास गर्दैनन् तर सबै धर्मलाई सम्मान गर्छन् । दीनहीनको सेवामा समर्पित भएर काम गर्दा आनन्दानुभूति हुन्छ उनलाई । सामाजिक उत्तरदायित्वबाट पन्छिन नहुने विचार व्यक्त गर्ने उनले समाज उत्थानका निम्ति आफ्नो स्थानबाट सहयोग गरिरहेका छन् । र, त्यसलाई प्रचारको विषय बनाउन रुचाउँदैनन् ।
Admin 2011-04-25