''पर्यटनबाट समृद्धि'' - अशोकचन्द्र पोखरेल
अध्यक्ष
नेपाल एशोसिएशन अफ टुर अपरेटर्स (नाटा)
उनको नसानसामा पर्यटन रक्तकोषिका बनेर सञ्चरित भएको छ । त्यसैले उनले कम वयमा नै नाटोको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । पेशाप्रतिको प्रतिबद्धता र कामप्रतिको समर्पण उनको व्यवस्थापन मन्त्र हो । नेपाल एशोसिएशन अफ टुर अपरेटर्स (नाटो)का अध्यक्ष अशोकचन्द्र पोखरेललाई कार्यालयमा बसेर कार्यसम्पादन गर्नुपर्छ भन्ने लाग्दैन । स्पष्टवक्ता उनी घरमै रहेर काम गरे पनि आपत्ति मान्दैनन् तर त्यो फत्ते भएकै हुनुपर्छ भन्छन् । सबैसँग समान व्यवहार गर्ने उनको बानी छ । पुरातन सोच र मानसिकता समयअनुसार परिवर्तन हुनुपर्छ भन्ने उनी खुला बहस र विचारमा विश्वास गर्छन् ।
पर्यटन क्षेत्रमा दुइ दशकभन्दा बढी बिताएका अशोकलाई मुलुकको आर्थिक विकास पर्यटनको प्रवर्द्धनबाट मात्रै सम्भव हुन्छ भन्ने लाग्छ । आरामदायी वाहन, विमानस्थल, सडकजस्ता अत्यावश्यक पूर्वाधारको व्यवस्था र उत्पादनको विविधीकरण विदेशी पाहुना भित्र्याउने पूर्वशर्त मान्छन् उनी । पर्यटन व्यवसाय उकालो लागेको उनको अनुभव छ । भूराजनीतिक अवस्था, न्युयोर्क र मुम्बईमा भएका आतङ्कवादी आक्रमण, बर्डफ्लु र सार्सजस्ता सङ्क्रामक रोगको फैलावटले पनि पर्यटन क्षेत्रको भाग्य निर्भर गर्ने उनको अनुभव छ । सामान्य परिस्थितिमा पर्यटन खस्केको होइन, फस्टाएको उनी बताउँछन् । टुर, ट्रेकिङ र कार्गोको क्षेत्रमा सेवा प्रदान गर्दै आएको संयुक्त लगानीको कम्पनी साङ्ग्रिला टुर्सको निर्देशकसमेत रहेका उनले त्यो पदमा रहेर मुलुकको पर्यटन उद्योगलाई उजिल्याउन अविराम काम गरिरहेका छन् ।
साहसिक पर्यटनको क्षेत्रमा नाम कमाएको हिमालयन जर्निज् नामक कम्पनीको पनि नेतृत्वदायी भूमिकामा छन् अशोक । उनी सम्बद्ध कम्पनीले १ सय ६० जनाभन्दा बढीलाई रोजगारी दिएको छ । उनले सबैलाई काम गर्ने वातावरण दिएका छन् र साथसाथै जिम्मेवारी पनि । उनको कार्यालयमा स्वतन्त्रतापूर्वक काम गर्न पाइन्छ । तलबभत्ता मात्र उत्प्रेरणाको उपाय नभएको उनको बुझाइ छ । ट्राभल कम्पनी भएकाले कर्मचारीलाई बाह्य विश्वसँग घुलमिल हुने प्रशस्त अवसर दिन्छन् उनी । समयसीमा निर्धारण गरेर कार्यसम्पादन गर्ने उनी बेलाबेलामा अनुगमन पनि गर्छन् कामको । बहस र तर्क गर्ने छूट छ उनको कार्यालयमा । घुसघुसे मान्छेसँग काम गर्न उनलाई मन लाग्दैन । भन्छन्- ओपन माइण्ड नभएकासँग व्यवहार गर्न गार्हो हुन्छ । यती ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत मनोहरशमशेर जवरा पोखरेललाई व्यावसायिक उद्यमी मान्छन् । कम उमेरमा नै नाटोको अध्यक्षको गहन जिम्मेवारी पाउनु उनको व्यावसायिकता र कामप्रतिको समर्पण भएको बताउँछन् मनोहर । अशोकले हासिल गरेका उपलब्धि युवापुस्ताका निम्ति दृष्टान्त हुने उल्लेख गर्छन् उनी ।
देशको चौतर्फी विकासका लागि स्थायी सरकार अपरिहार्य देख्छन् अशोक । पर्यटन क्षेत्रका सेरोफेरोमा त्यसैलाई अधिक उत्पादनमुखी बनाउन र बढीभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने ठोस योजनाका साथ उनले नाटोका तर्फबाट १५ ओटा वस्तुको सूची सरकारसमक्ष प्रस्तुत गरेका छन् । नीतिनिर्माणको तहबाट हुनुपर्ने कार्य थाती रहँदा लक्षित उपलब्धि हासिल गर्न अवरोध पुगेको उनको विश्लेषण छ । कार्ययोजना, कार्यक्रम, स्पष्ट दृष्टिकोण र लक्ष्य निर्धारण गरेर अघि बढेमा सफलता हासिल गर्न कठिनाइ नहुने उनको ठम्याइ छ ।
सन् ७० को दशकको नेपालको छवि पुनः स्थापना गर्न सके मनग्गे पर्यटक भित्रनेमा आशावादी छन् उनी । 'पर्यटकले ल्याएको सबै पैसा यही सकेर जाऊन्' मुसुक्क हाँसेर विदेशी पाहुनालाई प्रभावित पार्ने र धेरैभन्दा धेरै खर्च गराउने उद्देश्य सुनाउँदै उनी भन्छन् । दीर्घ, मध्यम र लघु योजनाका साथै पर्यटन प्रवर्द्धनको गुरुयोजना सरकारीस्तरमा आउनुपर्नेमा उनको जोड छ । निजीक्षेत्रले सघाउने प्रतिबद्धता व्यक्त गर्न पनि चुक्तैनन् उनी ।
दिल्ली विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका अशोकले नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्य, नाटोको प्रथम उपाध्यक्ष तथा मानार्थ सचिव, पाटाको सदस्य, टानको सदस्य पाटा नेपाल च्याप्टरको अध्यक्षका रूपमा पनि पर्यटन विकासमा योगदान गरेका छन् । आफ्नो मूल्याङ्कन अरूले गर्नुपर्ने उनको मान्यता छ । यद्यपि आफूले गरेको कामबाट सन्तुष्ट रहेको बताउँछन् उनी । ईश्वरप्रति आस्था भएका उनले बाइबल पनि पढेका छन् । हाल कुरान पढिरहेका उनी जुनसुकै धर्मले सन्मार्गमा हिँड्ने शिक्षा दिएको देख्छन् । मुलुकमा शनैः शनैः संस्थागत संस्कारले गति लिएको उनको बुझाइ छ । समाजबाट कमाएपछि त्यसको उत्थानका लागि खर्च गर्नुपर्छ भन्ने उनी 'पल ह्यारिस फेलो' हुन् ।
Admin 2011-02-24