''क्यामेरा छाडी कलेज'' - समीर थापा
अध्यक्ष तथा संस्थापक प्रमुख
सिल्भर माउण्टेन स्कूल अफ होटल म्यानेजमेण्ट
कुनै बेला भक्तहरूले चढाएका भेटी र अक्षताको चोट बोकेर भुइँमा लडिरहेका देवताका मूर्तिहरूको फोटो खिच्दै हिँड्थे उनी । तर, समय सधैँ त्यस्तो रहेन, जिम्मेवारीका भारी थपिन थाले । समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्दै एक दशकअघि 'सिल्भर माउण्टेन स्कूल अफ होटल म्यानेजमेण्ट' स्थापना गरेका थिए समीर थापाले । थापालाई 'टीमवर्क' नै सफलताको मूल आधार हो भन्ने कुरामा दुबिधा छैन । अमेरिकाबाट होटल व्यवस्थापनमा स्नातकोत्तर गरेका थापा 'र्याडिशन होटल' खोल्ने इच्छा बोकेर देश फर्केका थिए । होटलमा काम गर्नका लागि परेका ३ हजार आवेदनमध्ये सय जनालाई तीन महिना लाएर छनोट गरे उनले । त्यसमध्ये जम्मा १० जनामात्र होटल व्यवस्थापन पढेका थिए । त्यो घटनालाई उनी आफ्नो व्यावसायिक जीवनको 'टर्निङ प्वाइण्ट' मान्छन् । 'म साँच्चै दुःखी भएँ त्यो घटनाले, उनले भने, 'त्यसपछि र्याडिशन छाडेर होटल व्यवस्थापनको क्षेत्रमा स्वदेशमै दक्ष-जनशक्ति उत्पादन गर्ने प्रणका साथ यो कलेज खोलेँ ।'
सिल्भर माउण्टन कलेजले अमेरिकास्थित अमेरिकन हस्पिटालिटी एकेडेमीको सम्बन्धन प्राप्त गरेको छ । अहिले यस कलेजले नेपालबाहेक अमेरिका, फिलिपिन्स, दक्षिण अफ्रिका र रोमानियामा शाखा विस्तार गरेको छ । 'यो क्षेत्रमा नेपालमा कलेज खोलेर अन्तरराष्ट्रिय क्षेत्रमा शाखाहरू विस्तार गर्ने हामी नै पहिलो हौं' काठमाडौं ठमेलका रैथाने थापा गर्वका साथ भन्छन् । आफ्ना सबै कर्मचारीसँग सहकर्मीको व्यवहार गर्छन् उनी । सबैसँग हात मिलाउने उनी कसैलाई नमस्कार गराउँदैनन् । संस्थाको दिगो प्रगतिका लागि कर्मचारीलाई जिम्मेवारी र अधिकार दुवै दिनुपर्ने उनको मान्यता छ ।
थापाले होटल व्यवस्थापन कलेज खोलेको (सन् २००१) १ वर्षपछि मात्र नेपालमा विदेशी सम्बन्धनका बारे ऐन बनेको थियो । हाल उनको कलेजमा १ सय २० जना विद्यार्थी आवासीय रूपमा अध्ययन गर्दै आएका छन् । आफ्नो कलेजमा अन्तरराष्ट्रिय मापदण्डअनुरूप अमेरिकामा तयार पारिएको पाठयक्रम लागू गरिएको उनी बताउँछन् । 'पाठयपुस्तक, परीक्षाको प्रश्नपत्रसमेत अमेरिकाबाटै आउने र उत्तरपुस्तिका जाँचका लागि पनि अमेरिका नै पठाइने गरेको छ,' उनी भन्छन्, 'स्वेदेशमै पढेर अन्तरराष्ट्रिय डिग्री प्राप्त गरेकोमा विद्यार्थी तथा अभिभावकहरू समेत खुशी छन् ।' 'योङ आन्त्रप्रेनर फोरम' नेपालका उपाध्यक्ष समेत रहेका ३७ वर्षको युवा व्यवसायीलाई आजको प्रतिस्पर्धी बजारसँग कुनै डर छैन । नेपालको निजी लगानी वा सरकारी तहमा कुनै होटेल व्यवस्थापन कलेज खोलिए पनि सिल्भर माउण्टेनको गुणस्तरलाई उछिन्न नसक्ने उनको दाबी छ ।
अमेरिकी व्यवस्थापन र स्वीस सञ्चालन शैलीको संयोजन गरेर तयार गरिएको पाठयक्रमले विद्यार्थीहरूको दक्षतालाई अझ माझेको उनको विश्वास छ । नेपालका अधिकांश तारे होटेलका उच्च पदमा विदेशी भएकोमा उनलाई चित्त बुझेको छैन, तर तीनवटा पाँचतारे होटलको महाप्रबन्धकमा नेपाली भएकोमा भने गर्व गर्छन् । हाल स्वदेश तथा विदेशबाट यो विषयमा औपचारिक शिक्षा तथा दक्षता हासिल गरेर आएका जनशक्ति बढ्दै गएका कारण होटेलहरूको गुणस्तरमा समेत सुधार आएको उनको भनाइ छ । तर, तालीमपछि 'इर्ण्र्टनशिप'मा पठाएका विद्यार्थीहरूको वर्ग छुट्टयाउन नसक्नुचाहिँ होटलहरूको कमजोरी मान्छन् उनी । आफ्ना विद्यार्थीलाई 'इर्ण्र्टनशिप'का लागि नेपालका पाँचतारे होटल र विदेशमा दुबई तथा माल्दिभ्स पठाउने गरेको उनले जानकारी दिए । भारतको पुनामा क्षेत्रीय कार्यालय खोलेको छ सिल्भर माउण्टेन कलेजले । १६ लाख रुपैयाँबाट शुरू भएको यस कलेजमा अहिले १० करोड लगानी पुगेको उनी बताउँछन् । उनी भन्छन्, 'चाँडै नै इर्ण्र्टनशिपका लागि पाँचतारे सिल्भर माउण्टेन रिसोर्ट खोल्ने योजनामा छौँ ।' अमेरिकाको प्रेष्टोन कलेजको सम्बन्धनमा ३ वर्षअघि बीबीए कलेजसमेत सञ्चालनमा ल्याएका छन् । 'प्रत्येक वर्ष१० जना सीमान्तकृत वर्गका विद्यार्थीलाई छात्रवृत्तिमा पढाउँदै आएका छौँ' उनले भने ।
विश्वका ३५ देशको भ्रमण गरिसकेका थापा सानो छँदा शिकारमा रुचि राख्थे । केही समयपछि 'वन्यजन्तु त संरक्षण पो गर्नुपर्छ त' भन्ने उनलाई लाग्यो । फुर्सदको समयमा देशविदेशमा भएका होटेल व्यवस्थापन गतिविधिमा ध्यान दिने उनीसँग २० वर्ष पहिलेदेखिका ज्याज र हेभी मेटल सङ्गीतहरू सङ्कलित छन् । क्याजुअल ड्रेसका लागि टमी, बनेना, रिपब्लिकलगायतका ब्राण्ड रोज्ने थापा घडीका शौखिन हुन् । 'म सँग २० वटाजति निकै राम्रा घडी छन्,' उनी भन्छन् । बिदाको दिन उनी सकेसम्म परिवारका साथ बिताउँछन् । हरेक हप्ता पशुपतिनाथको दर्शन गर्न पुग्ने शिवभक्त थापाको बिहान ७ बजेबाट शुरू भएको दिनचर्या राति झण्डै १ बजेसम्म निरन्तर रहन्छ । आफ्ना विदेशी सहकर्मीहरू सिण्डी रिम्यान र डा. कोरा ग्याचालिनसँग व्यवसाय र व्यवस्थापनबारे राति १० बजेदेखि १ बजेसम्म अनलाइन कुरा गर्ने गर्छन् । बिहान क्लबमा टेनिस, स्क्वास, ब्याडमिण्टन खेल्नु उनको नियमितता हो । थापाले २०४३/४४ सालतिर दुइ पटकसम्म क्रिकेटको राष्ट्रिय समूहमा रहेर खेलिसकेका छन् । घडी, मोबाइल, पर्स र पकेट रुमाल कहिल्यै नछुटाउने थापा दम्पतीले गोदाबारीको मेरीवर्ड स्कूलका ९ जना छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । सामाजिक अभियानमा रमाउने थापाले कलेज रहेको क्षेत्र लैनचौरभित्रका केही बाटो अलकत्रे गराएका छन् । निकट भविष्यमै लैनचौरको मुख्य चौरवरिपरि पक्की पर्खाल लगाइदिने योजना रहेको उनी बताउँछन् ।