शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''मनोरञ्जन व्यापार'' -  नकिम उद्दिन
अध्यक्ष, क्वेष्ट इण्टरटेनमेण्ट प्रालि

भुटेको मकैको सुस्वादु सुगन्ध । र, कोठाको कुनै कुनाबाट फैलिएको कफीको वासनाले भवनको वातावरणलाई  मादक बनाएको थियो । विशाल फ्रेममा कैद गरिएका हलिउड र बलिउडका उत्कृष्ट चलचित्रका महत्त्वपूर्ण दृश्यले भवनका भित्ताको सौन्दर्य थपेका थिए । जयनेपाल चलचित्र घरको माथिल्लो तलामा रहेको कार्यकक्षमा एप्पल कम्पनीको ल्यापटपमा व्यस्त भेटिए- क्वेष्ट इण्टरटेनमेण्ट प्राइभेट लिमिटेडका अध्यक्ष नकिम उद्दिन । मनोरञ्जनको दुनियाँमा नयाँ आयाम थप्ने उद्देश्यले उनले चलचित्र क्षेत्रलाई व्यवसाय नै बनाएका छन् । नेपाली चलचित्र निर्माण, वितरण र प्रदर्शनका साथै हिन्दी र अङ्ग्रेजी सिनेमा देखाउनु उनको पेशा हो । उनी सिनेमाको संसारमा समाहित भएको पनि एकदशक बितिसकेको छ । पत्रकारिताको सैद्धान्तिक ज्ञान हासिल गरेका भाष्कर ढुङ्गाना र 'सफ्टवेर' इञ्जिनीयर राजेशकुमार सिद्धीसँगको साझेदारी र सहकार्यमा उनले क्वेष्ट इण्टरटेनमेण्ट स्थापना गरेका हुन् । 'म' लाई भन्दा 'हामी'लाई जोड दिने उनी ढुङ्गाना र सिद्धीलाई पृथक् राख्न चाहँदैनन् । भन्छन्- समूहगत कार्य हो, म एक्लैको केही पनि होइन ।

क्वेष्ट इण्टरटेनमेण्टअन्तर्गत कुमारी सिनेमा, जय नेपाल, डिजिटल सिनेमा नेपाल र हालै सञ्चालनमा आएको सिभिल मलमा 'मल्टिप्लेक्स' अत्याधुनिक सुविधायुक्त चलचित्र भवन पर्छन् । व्यापारिक परिवारका ४७ वर्षीय  उद्दिनले ताइवानको ताइपेइ विश्वविद्यालयबाट व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातक गरेका छन् । परिवारका एक जना सदस्यको सहयोगमा उनले उक्त विश्वविद्यालयमा छात्रवृत्ति पाएका हुन् । राजधानीको ओटु टोलमा जन्मेर त्यही हुर्केका उनले नेवारी बोलेको सुन्दा धेरै मानिस विश्वास गर्दैनन् उनी गैरनेवार हुन् भनेर । १ करोड ५० लाखको लगानीमा प्रारम्भ भएको उनको कम्पनीले ५० करोडभन्दा माथिको जायजेथा जम्मा गरिसकेको छ । १० जना कर्मचारीको स्थानमा २ सयलाई रोजगारी दिन पाउनुलाई उनी घुमाउरो पाराले सफलता मान्छन् । तर, आफूलाई सफल उद्यमी भन्दैनन् । चलचित्र क्षेत्रको सर्वाधिक राजस्व तिर्ने कम्पनी क्वेष्ट भएको उनको दाबी छ ।

मनासिव मूल्यमा अन्तरराष्ट्रियस्तरका सिनेमा घरमा बसेर चलचित्रको मजा लिँदा बेग्लै किसिमको आनन्दानुभूति हुने उद्दिनको विश्लेषण छ । त्यस्तो स्तरीय चलचित्रको प्रदर्शनीस्थल सिभिल मलको 'मल्टिप्लेक्स'मा उनको १२ करोड लगानी छ । त्यसलाई उनी आन्तरिक सजावट, श्रव्य तथा दृश्यको गुणस्तरका हिसाबले दक्षिण एशियाको एक नम्बर मल्टिप्लेक्स भएको ठोकुवा गर्छन् । संस्थागत स्वरूप र संरचनामा उनको काम गर्ने बानी छ । कर्मचारीमाझ अनुभव साटासाट गर्छन् उनी । र, उनीहरूको वृत्तिविकासका लागि समयसमयमा तालीम आयोजना गर्छन् । व्यवस्थापकीय पक्षको हरेक दिन समीक्षा गर्छन् उनी । मीठो बोलेर सबैलाई मख्ख पार्न उनी खप्पिस छन् । जालीहरूसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन । उनका व्यापारिक साझेदार राजेशकुमार सिद्धी नकिमलाई प्रतिबद्धता पूरा गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्छन् । उनको इमानदारीबाट सिद्धी अत्यन्त प्रभावित भएको बताउँछन् ।

सिनेमा हलमा बसेर हेरेको चलचित्रको मजा घरमा वा अन्यत्र हेरेजस्तो नहुने नकिमको बुझाइ छ । उनका अनुसार हलिउडका चलचित्र निर्माताहरूले गरेको अध्ययनले पनि डीभीडी र होम थिएटरले चलचित्र गृहलाई प्रतिस्थापन गर्न नसक्ने देखाएको छ । निर्मित चलचित्र एकैपटक प्रदर्शन गर्दा तथा त्यसलाई निरन्तरता दिँदा चलचित्रका पारखीहरू सिनेमा हलमा नै आउने उनको बुझाइ छ । सिनेमा हलमा गएर मनोरञ्जन लिने दर्शकमा  मध्यम वर्गको बाहुल्य रहेको उनको अनुभव छ ।

ध्वनि, दृश्य, प्रविधि र गुणस्तरमा नेपाली सिनेमाजगत्ले ठूलो फड्को मारेको भए पनि लेखन र कथावस्तु भारतीय चलचित्रबाट प्रभावित भएका उनको विश्लेषण छ । बलिउडबाट नक्कल गरिएका चलचित्रलाई उनी 'ठोकठाक'गरेर बनाइएको सिनेमा भन्छन् । त्यस्ता सिनेमाको बजार र दर्शक दिन प्रतिदिन घट्नेक्रम बढेकाले स्तरीय सिनेमा निर्माणमा उनी जोड दिन्छन् । आर्थिक रूपमा सफल नभए पनि 'कागवेनी' र 'सानो संसार' अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएका बेजोड चलचित्र मानिन्छन् । उनी प्रबन्ध निर्देशक रहेको डिजिटल सिनेमा नेपालले त्यस्तै चलचित्र निर्माणलाई प्रश्रय दिँदै आएको छ । अन्तरराष्ट्रियस्तरका सिनेमा बनाउनु उनको लक्ष्य हो । र, उपयुक्त कथावस्तु लिएर आउने चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उनको नीति छ ।

हरेक साता 'च्यारेटी शो' गरेर रोटरी, लायन्स क्लब र टेवाजस्ता सामाजिक संस्थालाई सहयोग गर्ने नकिम इस्लाम धर्म मान्छन् । समय पाउँदा मस्जिद जाने उनी त्यसबाट मन शान्त हुने बताउँछन् । दशौं वर्षदेखि उनले चलचित्रघरमा आउने दर्शकलाई दुइ सातापछिदेखि 'लोयल्टी प्रोग्राम'अन्तर्गत सहुलियत दिने योजना अघि सारेका छन् । विभिन्न विमान कम्पनीले दिने 'माइलेज कार्ड' जस्तै उनले प्रदान गर्ने त्यो सहुलियत योजना पुराना दर्शकको सम्मान र नयाँलाई आकर्षण गर्ने अचुक उपाय बन्न सक्छ ।