''योजना : केएफसीलाई नेपालीको कुखुरा'' - जगदीशप्रसाद अग्रवाल
अध्यक्ष, निम्बस समूह
नेपालमा पोल्ट्री व्यवसायको आधुनिकीकरणको श्रीगणेश उनले गरेका हुन् । पशुपंक्षीका निम्ति पोषणयुक्त 'पेलेट' दाना उत्पादन गर्नु उनको व्यवसाय हो । दाना मात्र होइन 'पोल्ट्री' व्यवसायलाई आवश्यक पर्ने कच्चा पदार्थ, औषधि तथा भिटामिनको बिक्री पनि उनको कम्पनीले गर्दै आएको छ । निम्बस समूहका अध्यक्ष जगदिशप्रसाद अग्रवाललाई देशको अर्थतन्त्र खस्केकोमा खेद छ । र्'अर्थतन्त्र परतन्त्रमुखी भयो' बढ्दो आयात र त्यसले भुक्तानी सन्तुलनमा सिर्जना गरेको असन्तुलनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनी भन्छन् । सेवा र मालसामान आयात गरेर अर्थतन्त्र सुदृढ नहुने कुरामा विश्वास राख्ने उनी कृषि क्रान्तिमा जोड दिन्छन् । राज्यले कृषि क्षेत्रको विकासमा विशेष जोड दिनुपर्ने मत व्यक्त गर्ने उनी विकसित मुलुकहरुको आर्थिक विकासको मेरुदण्ड कृषि नै भएको उल्लेख गर्छन् । पशुपालन र दुग्ध उत्पादनका साथै कुखुरापालनबाट ग्रामीण भेगका कैयौ आत्मनिर्भर भएका दृष्टान्त उनीसँग छन् ।
देशका प्रतिष्ठित उद्योगपति अग्रवाल उद्यमीव्यवसायीमाझ बौद्धिक व्यक्तित्वका रूपमा पनि चर्चित छन् । नेपालको आर्थिक गतिविधि र यसका सूचकाङ्कलाई नजिकबाट नियाली रहेका उनी कृषि क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ३२ प्रतिशत योगदान रहेको कृषिलाई गरिएको कदर अपर्याप्त ठान्छन् । केही दिन पहिले सार्वजनिक गरिएको चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको ४ प्रतिशतको आर्थिक वृद्धिदर उनलाई अति महत्त्वाकाङ्क्षी लाग्छ । 'विप्रेषण, वैदेशिक सहायता र ऋण'लाई वृद्धिका सूचक मान्न नमिल्ने उनको तर्क छ । कुल जनसङ्ख्याको झण्डै दुई प्रतिशत प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा कृषिमा आश्रति रहेका उल्लेख गर्दै उनी कृषि क्षेत्रमा ६६ प्रतिशत नेपालीले रोजगारी पाएको तथ्याङ्क प्रस्तुत गर्छन् । अन्य व्यवसायको तुलनामा कृषि क्षेत्रको तुलनात्मक लाभ अत्यन्त कम रहेको बताउने उनी कृषिको व्यावसायिकरणबाट तत्काल निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न सकिनेमा विश्वस्त छन् ।
तीन अर्ब रुपैयाँको लगानीमा २०६१ सालदेखि व्यावसायिक रूपमा पेलेट दाना उत्पादन थालेको अग्रवाल नेतृत्वको कम्पनीले वर्षोनि ८० हजार मेट्रिक टन दाना उत्पादन गर्दै आएको छ । निम्बस समूहअन्तर्गतको प्रो-वायोटेक इण्डस्टि्रज व्यावसायिक दाना उत्पादन गर्ने मुलुकको पहिलो व्यापारिक प्रतिष्ठान बनेको उनी सगर्व सुनाउँछन् । उनको कम्पनीले भारतमा समेत दाना निर्यात गर्दै आएको छ । वार्षिक ३ अर्ब ५० करोड रुपैयाँको कारोबार गदै आएको उनको कम्पनीले ३ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । समूहमा काम गर्ने र विषम परिस्थितिमा पनि अविचलित ढङ्गले कार्यक्षेत्रमा लाग्न सबैलाई हौसला दिने उनको बानी छ । व्यवस्थापनमा कुनै जादुको छडी हुँदैन भन्ने उनी हरेक कर्मचारीको कामको कदर गर्नुपर्ने बताउँछन् ।
सकारात्मक सोचका धनी अग्रवाललाई आशावादीले प्रगति गर्न सक्छ भन्ने लाग्छ । अन्य मुलुकको तुलनामा नेपालमा उद्यमशीलताको विकास भएको उनको अनुभव छ । 'के गाउँ के शहर जहाँसुकै महिलाले समेत उद्यम गरेका छन्' नाङ्गलो पसलदेखि बैङ्कका प्रमुख कार्यकारी अधिकृतसम्म महिला वर्ग पुग्नुलाई उनी 'आन्त्रप्रेनसशिप'को विकासको उदाहरणका रुपमा प्रस्तुत गर्छन् । तयारी खाना बिक्रीको विश्वव्यापी सञ्जाल भएको केण्टुकी फ्राइड चिकेन अर्थात् केएफसीलाई आवश्यक पर्ने कुखुरा आपूर्ति गर्ने लक्ष्यका साथ उनी काम गरिरहेका छन् । नेपालमा हालै सञ्चालनमा आएको केएफसीलाई स्वस्थ मासु उपलब्ध गराउन सक्ने क्षमता नेपाली कुखुरा उद्यमीमा भएको उनी बताउँछन् ।
भारतको राजस्थानमा सन् १९४५ मा जन्मेका अग्रवालले विराटनगरका मदनलाल चिरञ्जीलालको कार्यालयबाट काम थालेका हुन् । स्टार बियर कम्पनीलाई प्रमुख कार्यकारी अधिकृतका रूपमा २८ वर्षनेतृत्व दिएका उनले उक्त कम्पनीलाई साझेदारीमा सञ्चालन गरेका थिए । आफ्नै परिवारको सहयोगमा निम्बस समूह सञ्चालन भएकोमा उनी गर्व गर्छन् । कृषि, वित्त, पशु र बाली बिमा क्षेत्रमा पनि लगानी सम्भाव्यताबारे उनको कम्पनीले अध्ययन गरिरहेको छ ।
नेपालमा संस्थागत संस्कृतिको क्रमशः विकास भइरहेको ठान्ने अग्रवाल साना उद्योग सङ्गठित एवम् विस्तारित हुनुलाई त्यसैको परिणामका रूपमा चित्रित गर्छन् । बैङ्किङ क्षेत्रमा संस्थागत संस्कृतिको अधिक विकास भएको उनको बुझाइ छ । संस्थागत संस्कृतिको विस्तारसँगै संस्थागत सामाजिक उत्तरदायित्वको पक्ष सवल हुने उनको कथन छ ।
सीएसआरप्रति प्रतिबद्ध छौं' निम्बसले वारा, पर्सा चितवनका किसानलाई निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनी भन्छन् । दानदातव्यबारे मौन रहनु पर्नेमा जोड दिने उनको कम्पनीले ६० जना सडक बालबालिकाको भरणपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएको छ ।