''सफलता पारदर्शिताको'' - शशीराज पाण्डे
प्रमुख कार्यकारी अधिकृत
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी
उनको कार्यकक्षमा पुग्न न सुरक्षा जाँच गराउनुपर्छ न सेक्रेटरीको अनुमति नै लिनुपर्छ । उनको कार्यालयको ढोका सधैँ सबैका लागि खुला रहन्छ । उनलाई पारदर्शिताको अभियन्ताभन्दा पनि फरक पर्दैन । विधिको शासनमा विश्वास गर्ने उनको व्यवस्थापन मन्त्र नै पारदर्शिता हो र सफलताको रहस्य पनि । र्'र्सवसाधारणसँग व्यवहार गनुपर्ने मान्छेले आफूसम्मको पहुँचलाई दुरुह बनाउनु हुँदैन' भन्ने उनी आफूलाई जोकोहीले विनारोकटोक भेट्न सक्ने दाबी गर्छन् । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शशीराज पाण्डे निक्षेपकर्ताको अगाध स्नेहका कारण संस्थालाई अहिलेको अवस्थामा पुर्याएकोमा गर्व गर्छन् । उनको मातहतमा काम गरेका धेरै व्यक्ति बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । किष्ट बैङ्कका प्रबन्ध निर्देशक कमलप्रसाद ज्ञवाली र जेनिथ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भोला पाठक औंलामा गन्न सकिने उदाहरण हुन् ।
प्रजातन्त्र पुनःस्थापनापछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको नेपाली काङ्ग्रेसको बहुमतको सरकारले ल्याएको प्रशासनिक नीतिको विरोधमा २०४७ सालमा चर्केको कर्मचारी आन्दोलनले पाण्डेको २० वर्षको सरकारी सेवामा विराम लगायो । 'एभ्री थिङ ह्यापेन्स फर योर ओन गुड' अर्थात् सबै कुरा तपाईंको हितमा हुन्छ भन्ने मान्यतालाई अङ्गीकार गर्ने उनी तत्कालीन सरकारको पेलानमा नपरेको भए शायद सचिवबाट सेवानिवृत्त हुन्थे । भारतले नाकाबन्दी गरेका बेला उनले पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रबन्धकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह मात्र गरेनन् प्रतिकूल अवस्थामा पनि पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाएका थिए । प्राविधिक उपसचिव भएर त्यति लामो समय बिताएका उनले विमान व्यवस्थापन तथा मेकानिकल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका हुन् । रसियाबाट एमई उपाधि लिएका उनको व्यवस्थापनसम्बन्धी शिक्षा आर्जनको भोक भने अमेरिकाको मासाचुसेट्स इन्षिटच्युट अफ टेक्नोलोजीले शान्त गरेको हो । सिक्ने कार्य जीवनपर्यन्त जारी रहने उनको बुझाइ र गराइ छ ।
पाण्डेलाई निजामती सेवाका साथै अर्थ तथा वित्तीय क्षेत्रमा लाग्न तत्कालीन सचिव रामचन्द्र मल्होत्राले उत्प्रेरित गरेका हुन् । पिता गोविन्दराज पाण्डेलाई प्रेरणाको अजस्र स्रोत मान्ने उनी सोल्टी होटलका आजीवन अध्यक्ष प्रभाकरशमशेर राणाले आफूलाई निजीक्षेत्रमा पारङ्गत बनाएको बताउँछन् । संस्थागत सुशासनसम्बन्धी सिक्ने अवसर पनि राणाबाट नै प्राप्त भएको उनको स्वीकारोक्ति छ । युनिलिभर र सोल्टी होटलसँगको आबद्धताले उनलाई त्यो विषयमा थप सिक्न बल पुगेको उनको भनाइ छ ।
सोर्ह वर्षअघि श्री इन्भेष्टमेण्ट स्थापना गरेका उनको संस्थाको लोगोमा सिक्का छ । 'पैसाको कारोबार गर्ने भएकाले श्री नामकरण गरेका हौँ ' उनी नाम र लोगोका बारेमा स्पष्टीकरण दिन्छन् । १ करोडको लगानीबाट प्रारम्भ भएको श्री इन्भेष्टमेण्टको चुक्ता पूँजी १४ करोड पुगेको छ । शेयर पूँजी १३ करोड र जगेडा रकम ४ करोड ९१ लाख छ । ६० प्रतिशत संस्थापक शेयर र ४० प्रतिशत सर्वसाधारणको लगानी रहेको उनको संस्थाले आगामी ५ वर्षसम्म शाखा विस्तार वा विकास बैङ्कमा स्तरोन्नति गर्ने कुनै योजना बनाएको छैन । 'स्मल इज ब्युटिफुल' भन्ने उनी श्री इन्भेष्टमेण्टलाई दिगो प्रतिफल दिने संस्थाका रूपमा स्थापित गर्न चाहन्छन् । संस्थालाई बुद्धिमत्तापूर्वक सञ्चालन गर्नुपर्नेमा जोड दिने उनी नेतृत्वको वित्तीय कम्पनीबाट ९ सय ७७ जनाले कर्जा लिएका छन् । निक्षेपकर्ताको सङ्ख्या ६ हजार ८ सय १५ पुगेको छ ।
नेपालको आकाश असुरक्षित भएका भनाइहरू सार्वजनिक भइरहँदा उनले त्यसमा पनि पारदर्शिताको अपरिहार्यतामा जोड दिए । सबैले आआफ्नो जिम्मेवारीबोधका साथ काम नगर्दा अकल्पनीय अवस्था सृजना भएको उनको ठम्याइ छ । समयमा विमानको मर्मतसम्भार नहुनु, काम वा अन्य कारणले विमानचालक मानसिक दबाबमा पर्नु, आराम नपाएको वा मदको लतमा हुनुजस्ता विविध कारणले दुर्घटना निम्तन सक्ने उनी घुमाउरो पाराले भन्छन् ।
सधैँ सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिने पाण्डेको परिस्थितिलाई बुझेर तत्काल निर्णय गर्ने क्षमता जेनिथ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भोला पाठकलाई प्रभावकारी लाग्छ । तल्लो तहका कर्मचारीलाई पूर्ण जिम्मेवारी दिने र प्रतिफल एवम् परिणाममा पनि समानरूपमा सरिक गराउने उनको कार्यशैली पाठकलाई अनुपम लाग्छ । उनका लागि पाण्डे वन्दनीय व्यक्ति हुन् । पाठकले पाण्डेमा केही पनि अवगुण देखेका छैनन्- अहिले मात्र होइन १३ वर्ष श्री इन्भेष्टमेण्टमा सँगै काम गर्दा पनि ।