शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सहज सहजकर्ता


मृगेन्द्रमान प्रधान
अध्यक्ष
उद्योग वाणिज्य सङ्घ ललितपुर


बाल्यकालमा जहाज उडेको देख्दा पाइलट बन्ने सपना देख्थे उनी । त्यही सपना साकार पार्न विज्ञान विषय लिएर पढे मृगेन्द्रमान प्रधानले । नेपालमा पाइलट पढाउने संस्था थिएन । त्यसका लागि कम्तीमा छिमेकी मुलुक भारत जानुपर्थ्यो । उनले भारतीय दूतावासमार्फत 'भारतीय एयर फोस'को तालीमका लागि प्रवेशपरीक्षा पनि दिए । तर, नतीजा भने पानीजहाज पाइलटका लागि योग्य भन्ने आयो । आफ्नो आकाशमा उड्ने सपना साकार नहुने देखेपछि अर्थशास्त्र पढेर व्यापारी बन्ने सुर कसे प्रधानले । उनको यो चाहना पूरा पनि भयो । 'बाल्यकालको सपना भत्किएपछि व्यापारमा लागेँ,' उनी भन्छन्, 'अहिले यसमै सन्तुष्ट छु ।'

वास्तवमा उनी व्यवसायीहरूका नेताकै रूपमा आफूलाई चिनाउन सफल भएका छन् । हाल उद्योग वाणिज्य सङ्घ ललितपुरको अध्यक्ष रहेका प्रधान इमानदार र सर्वस्वीकार्य व्यवसायीको नेताको पहिचान कायम गर्न सफल देखिन्छन् । ६ दशकअघि मङ्गलबजारमा जन्मिएका उनी निर्माण व्यवसायका सामग्रीको व्यापार गर्छन् । सहयोगी र शालिन व्यवहारले जोकोहीलाई पनि प्रभावित सहजै पार्छन् । उनले व्यापारीका दु:ख र मर्का बुझ्ने कार्यमा आफूलाई बढी समर्पित गरेका छन् । अर्थशास्त्रमा स्नातक तहको पढाइ पूरा गरेपछि २०३३ सालमा व्यवसायमा प्रवेश गरेका हुन् उनी । बैंशमा उनले मकवानपुरमा बसेर दाउरा र कोइलाको व्यापार गरे । 'भारतबाट आउने कोइला र मकवानपुरका दाउरा काठमाडौं सप्लाई गरेर व्यापार शुरू गरेँ ,' आफ्नो व्यवसायको प्रारम्भिक चरण सुनाउँछन् प्रधान । करीब ५ वर्षसिमेण्टको व्यापार पनि गरे । पछि त्यो व्यवसाय छोडेर ललितपुरै फर्किएर मङ्गलबजारमा निर्माण सामग्रीको व्यापार थाले । २०३८ सालबाट शुरू गरेको यो व्यवसाय अहिलेसम्म निरन्तर छ ।निर्माण व्यवसायी सङ्घको सहसचिव हुँदै ललितपुर वाणिज्य सङ्घमा प्रवेश गरेका प्रधान २०५३ सालदेखि हालसम्म निरन्तर सङ्घमा आबद्ध छन् । सङ्घको सदस्य, कोषाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै अध्यक्ष निर्वाचित भएका हुन् उनी । ललितपुर उवासङ्घको अध्यक्षमा उनी निर्विरोध चयन भए । 'म सबैको नजिक छु,' उनी भन्छन्, 'सबैले विश्वास गरेकै कारण निर्विरोध भए ।'

सबैलाई समेटेर लैजान सक्नु नै उनको व्यवस्थापन कला हो । प्रधान कहिल्यै कसैसँग रिसाउँदैनन् । खुद्रे व्यापारीदेखि उच्च घरानासम्मका सबै व्यवसायीका पीरमर्कालाई बुझ्ने प्रयास गर्छन्  । व्यवसाय र व्यक्तिगत सफलताको श्रेय आफैलाई दिन्छन् उनी । ललितपुरमा मजदूर र मालिकबीच केही समस्या रहेको भए पनि सङ्घको पहलमा सबै समस्या समाधान हुने परम्परा बसेको बताउँछन् । 'केही समयअघि समस्या थिए,' उनी भन्छन्, 'सबै समस्या मालिक र मजदूरलाई सँगै राखेर समाधान गर्यौँ  ।' नेपालमा 'एक गाउँ एक उत्पादन' भन्ने जापान सरकारद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत ललितपुरमा सिमीडीएन अर्किडको खेती गरिएको छ । बाँडेगाउँमा त्यसको व्यावसायिक खेती शुरू भइसकेको प्रधान बताउँछन् । बाँडेगाउँ कफी र बाँसखेतीका लागि राम्रो सम्भावना भएको क्षेत्र हो, उनी भन्छन् ।

ललितपुरका व्यवसायीले बुझाउने राजस्वअनुरूपको सहयोग राज्यबाट उनीहरूले नपाएको प्रधानको गुनासो छ । व्यवसायीलाई सुरक्षा प्रदान गर्नु राज्यको पहिलो दायित्व भएको उनको ठम्याइ छ । राज्यको कर कार्यान्वयन नीतिमा कमजोरी रहेको ठान्छन् उनी ।

'भ्याट छली गर्नेहरूलाई तत्कालै कारबाही गरेको भए नक्कली भ्याटबिलको रोग बल्झिदैनथ्यो,' उनी भन्छन् । व्यावसायिक नीति, सुरक्षा र पूर्वाधार विकासका लागि सहयोग राज्यले पुर्याउनुपर्ने र राज्यलाई कर नबुझाउनु अपराध भएको उनको ठम्याइ छ । उनी आफ्नो सङ्घसम्बद्ध १ हजार २ सय सदस्यलाई राज्यलाई कर बुझाउन प्रेरित गरिरहन्छन् । राजनीतिक नेताप्रति विश्वास गुम्दै गएकाले राज्यबाट यतिखेर केही पनि अपेक्षा गर्न नसकिने उनको विश्लेषण छ ।

योजना बनाएर मात्रै कामको थालनी गर्छन् प्रधान । बिहान साढे चार बजे उठ्छन् । पत्रपत्रिकाको अध्ययन र बिहानीको भोजनपछि सङ्घको कार्यालय पुग्छन्, साँझ ८ बजे घर फर्किन्छन् । 'दिन सङ्घकै काममा बित्छ,' उनी भन्छन् । फुसदमा साथीहरूसँग रमाउँछन् । 'मेरो पाइलट बन्ने सपना त अधुरै रह्यो, छोराछोरीको सपनाका बारेमा त सोच्नुपर्यो नि,' उनी भन्छन् ।

Admin 2011-07-28