शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

संयोगको फल
प्रा. रामप्रसाद दाहाल
अध्यक्ष, किष्ट बैङ्क


उनको परिचय बहुआयामिक छ । बैङ्किङ, प्राध्यापन, साहित्य लेखन, प्रशासन, समाजसेवालगायत क्षेत्रमा उत्तिकै सक्रिय छन् प्रा. रामप्रसाद दाहाल । सामान्यत: एउटा मान्छेको विशिष्ट प्रतिभा एउटा निश्चित क्षेत्र वा विधामा प्रस्फुटन हुने भए पनि दाहालको धेरै क्षेत्रमा उत्तिकै लगाव र दख्खल छ । आफूले गरेको काममा सधैं सफल भएको दाबी गर्छन् उनी । अहिले दाहाल आफैले स्थापना गरेको किष्ट बैङ्क, किष्ट कलेज र मोर्डन कन्या बहुमुखी क्याम्पसका अध्यक्ष तथा काठमाडौं इञ्जिनीयरिङ क्याम्पसको सदस्य-सचिव पदमा रहेर काम गरिरहेका छन् । नि:स्वार्थ सेवा भावकै परिणामस्वरूप आफू संलग्न सबै क्षेत्रमा सफलता हात लागेको उनी ठान्छन् ।

तत्कालका लागि बैङ्किङ र शिक्षा क्षेत्र दाहालका प्राथमिकता क्षेत्र हुन् । बैङ्क अध्यक्षको जिम्मेवारी सम्हालिरहेका उनले हिजोआज अलि बढी समय कलेज व्यवस्थापनका लागि छुट्टयाएका छन् । शिक्षामा महिलाको पहुँच बढाउने सोचका साथ खुलेको मोर्डन कन्या क्याम्पसको गुणस्तर वृद्धिमा केन्द्रित छ उनको ध्यान । 'त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अर्थशास्त्र विषय लिएर पढ्न खोजेको तर 'क्रेडिट आवर' नपुगेको भनेर पढ्न दिइएन', आफ्नो रुचिको विषय पढ्न नपाएको प्रति खिन्नता प्रकट गर्दै उनले भने । नयाँ शिक्षा योजनामा उल्लेखित व्यवस्थाले उनको अर्थशास्त्री बन्ने सपना भत्ताभुङ्ग पारिदियो । त्यसपछि विकल्पमा नेपाली विषय लिएर पढ्नुपरेको बताउँछन् उनी ।  

अध्ययन पूरा गरेलगत्तै पाटन संयुक्त क्याम्पसमा सहायक प्राध्यापक भएर अध्यापन गर्ने थाले दाहाल । अध्यापनक्रममा नेपाली विभाग प्रमुख, सहायक क्याम्पस प्रमुख हुँदै निमित्त क्याम्पस प्रमुखसम्म भए । त्रिविको विषय समिति र अनुसन्धान समिति सदस्य भएरसमेत उनले काम गरे । त्यसैगरी पशुपति बहुमुखी क्याम्पसमा पनि उनले केही समय पढाए । यसैगरी डिल्लीबजारस्थित कन्या क्याम्पसको प्रमुख भएर २२ वर्ष गुजारे । उनको व्यावस्थापन र संयोजनकला अत्यन्त उत्कृष्ट छ । शिक्षा र अर्थशास्त्रमा रुचि राख्ने उनले आफ्ना केही साथीहरूको समूह निर्माण गरेर आफ्नै अगुवाइमा शुरूमा किष्ट कलेज र त्यसको केही समयपछि काठमाडौं इञ्जिनीयरिङ क्याम्पसको स्थापना गरे । सोही समूहको अगुवाइमा २०५९ मा किष्ट फाइनान्सको स्थापना भयो । अहिले ती सबै संस्थालाई दाहालले नै नेतृत्व प्रदान गरिरहेका छन् ।

अहिले उनी आर्थिक विषयलाई साहित्यमा जोडेर चिन्तन मनन गर्छन् । त्यसैको परिणाम मान्नुपर्छ- भर्खरै प्रकाशित उनको कृति 'पर्खि बसे फर्की आउला' । निरन्तरता र लगनशीलतामा विश्वास गर्ने दाहालको परिपक्क अगुवाइका कारण उनी नेतृत्वका सबै संस्था सफल देखिन्छन् । अहिले किष्ट बैङ्कमा २ लाख ८० हजार निक्षेपकर्ता छन् । बैङ्कले ७८ स्थानबाट एटीएम सेवा उपलब्ध गराउँदै आएको छ । ५ सय ९० जना कर्मचारीले रोजगारी पाएका छन् । १ करोड रुपैयाँको लगानीबाट शुरू गरिएको मोर्डन कन्या क्याम्पस अहिले ५ करोडभन्दा बढीको पूर्वाधारले सम्पन्न भएको छ ।

शिक्षा र बैङ्किङ क्षेत्रमा समान क्रियाशीलताले उनले कही नयाँ अनुभव पनि बटुलेका छन् । 'बैङ्क विश्वासमा बाँच्दोरहेछ र संवेदनशीलता बढी हुँदोरहेछ तर शिक्षामा मेहनत, कर्तव्य र अनुशासन बढी चाहिने रहेछ', उनले भने । आफू संलग्न संस्थाका कर्मचारीलाई उनी समान स्नेह र सम्मान गर्छन् । फुसदमा लेखनमा रमाउने उनी लक्ष्य प्राप्त गर्न उद्देश्य स्पष्ट हुनुपर्ने बताउँछन् । 'उद्देश्य स्पष्ट, राम्रो परिकल्पना र सकारात्मक सोचउन्मुख हुनुपर्छ । र, त्यसलाई कार्यान्वयन गर्दा विधि, अनुशासन र लगन हुन अनिवार्य छ ।' यसो हुनसके मात्र लक्ष्य प्राप्त गर्न सकिने उनको बुझाइ छ ।   

'आक्रामक' शाखा विस्तारका कारण किष्ट बैङ्कका बारेमा चल्ने हल्लाले उनलाई कत्ति पनि असर गरेको छैन । 'छोटो समयमा हामीले धेरै शाखा सञ्चालन गरेका हौं तर यसले हामीलाई कत्ति पनि नोक्सान गरेको छैन', उनले भने । उनका हालसम्म १३ ओटा कृति प्रकाशित भइसकेका छन् । विश्वेश्वरप्रसाद कोइरालाका कृति बढी मन पराउने उनी पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको व्यक्तित्वबाट बढी प्रभावित छन् । उनी आफ्नो पे्ररणाको स्रोत विद्यार्थीलाई मान्छन् । हालसम्म उनले पढाएका विद्यार्थीमा अभि राईलाई सम्भिmरहन्छन् रे दाहाल । पाटन क्याम्पसका ती विद्यार्थी अङ्ग्रेजीमा अब्बल भए पनि अनिवार्य नेपालीमा धेरै वर्षअनुत्तीर्ण भएर निराश भएका बेला दाहालको साथले राम्रो अङ्कसहित उत्तीर्ण भएछन् । 'त्यस विद्यार्थीको याद आइरहन्छ', उनले विगत स्मरण गर्दै भने ।

२०१३ सालमा उदयपुरमा जन्मिएका दाहालको इच्छा वाल्यकालदेखि नै समाजसेवामा थियो । त्यसैले, अहिले पशुपति अध्ययन व्यवस्थापन स्वतन्त्र अधिकारसम्पन्न समितिको सदस्यका रूपमा समाजसेवाको काममा सक्रिय छन् । उनी भन्छन् 'म अर्थशास्त्र पढ्न भनेर काठमाडौँ आएको संयोगले नेपाली पढ्नुपर्यो । अहिले त्यही नेपालीको शिक्षक संयोगले बैङ्कको नेतृत्व गरिरहेको छु । त्यसैले म त संयोगले बनेको मान्छे', उनी आफ्नो बाध्यता सुनाउँछन् ।

Admin 2011-06-27