शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''सन्तुलित विकासको मनोरथ'' - वामनप्रसाद न्यौपाने
सचिव, राष्ट्रपतिको कार्यालय

धेरैले उनलाई कथाकारका रूपमा पनि चिन्छन् । बाबा न्यौपाने हो उनको साहित्यिक नाम । 'बैंसको आकाश' र 'दोस्रो प्रहर' कथासङ्ग्रह दिएर उनले नेपाली कथाको फाँटलाई फराकिलो पारेका छन् । भक्तपुरको झौखेलका पाँचघरे परिवारका वामनप्रसाद न्यौपानेले मुलुकको प्रशासनतन्त्रको उपल्लो तहमा पुग्छु भनेर कहिल्यै कल्पनासमेत गरेका थिएनन् । पढ्ने र पढाउने परिवारका उनले अग्रजहरूको प्रेरणाबाट धूलौटे पाटीमा कखरा सिकेका हुन् । बाजे र बुबा नेपाली भाषा प्रकाशिनी समितिमा सम्बद्ध भएकाले उनमा नेपाली भाषाप्रतिको रस बाल्यावस्थामा नै बसेको हो । पारिवारिक वातावरणको प्रभाव र विद्वान्हरूको सङ्गतले कालान्तरमा नेपाली साहित्यको भण्डारलाई उनले कथाका कृति दिएका हुन् ।  नेपालीमा नै स्नातकोत्तर गरेकाले उनको लेखनीले लय समातेको घुमाउरो पाराले उनी उल्लेख गर्छन् ।

चवन्न वर्षअघि धराधाममा आएका न्यौपानेले २०३५ सालमा सरकारी सेवा शुरू गरेका हुन् । भोटो र कट्टु लगाएर झौखेलमा दौडेको उनलाई अस्तिजस्तो लाग्छ । तर, पत्तै नपाई आधा शताब्दी बितेको वास्तविकतालाई बिसन नसकिने उनी बताउँछन् । सधैं काममा प्रतिबद्ध र कर्तव्यप्रति इमानदारी उनको व्यवस्थापन मन्त्र हो । कर्मचारीलाई उनीहरूले  गरेका  कामको जश दिने र सार्वजनिक रूपमा सम्मान एवम् स्याबासी दिएर हौस्याउने उनको बानी छ । सामयिक पदोन्नति र वृत्ति विकासको अवसर दिएर पनि कर्मचारीलाई उत्प्रेरणा गर्छन् उनी । संस्थाप्रति सधैं बफादर एवम् क्रियाशील रहनुपर्ने उनको सुझाव छ । सहभागितामूलक कार्य प्रणालीमा विश्वास गर्छन् उनी र त्यस्तै पद्धतिको विकासमा जोड दिन्छन् ।

कर्मचारीलाई उसको योग्यता र क्षमताअनुसारको जिम्मेवारी नदिएर पद्धति नबसेको न्यौपानेको विश्लेषण छ । 'उपयुक्त मानिस उपयुक्त स्थानमा' सिद्धान्तलाई अनुशरण गर्न उनको अनुरोध छ । कर्मचारीलाई रुचिअनुसारको स्थानमा खटाउँदा लक्षित उपलब्धि हासिल गर्न सहज हुने उनको अनुभव छ । उनका अनुसार योजना बनाएर काम गर्दा सफलता प्राप्त हुन्छ । थालेको काम फत्ते गरेरै छाड्ने उनको स्वभाव छ । व्यक्तिले नभई पद्धतिले प्रशासन संयन्त्र सञ्चालन गर्नुपर्ने उनको मान्यता छ । त्यही पद्धति नहुँदा निजामती प्रशासनप्रति नयाँ पुस्ताको आकर्षण घटेको उनको ठम्याइ छ । निजीक्षेत्रले प्रदान गर्ने अवसर र सुविधा सार्वजनिक प्रशासनमा नभएकाले पनि यसप्रति विकर्षण बढेको उनलाई लाग्छ ।

सकारात्मक सोचका साथ गरिएको कामले सुखद परिणाम दिनेमा विश्वस्त न्यौपाने सेवा प्रवाहमा छरितोपना आउनैपर्नेमा जोड दिन्छन् । एक्काइसौं शताब्दीको सार्वजनिक सेवा प्रवाह जनचाहना अनुरूपको नभएको टिप्पणी गर्छन् उनी । प्रजातन्त्र आए पनि पद्धति नआएको उल्लेख गर्ने उनी स्वतन्त्रका नाममा अनुशासनहीन काम गर्ने छूट कसैलाई हुनु हुँदैन भन्छन् । व्यक्तिगत सर्म्पर्कका आधारमा मान्छेलाई अगाडि ल्याउने कार्य उनलाई गैरव्यावसायिक लाग्छ । २०४८ सालअघि र अहिलेका निजामती कर्मचारीमा आकाश जमीनको अन्तर देख्छन् उनी- शीप, दक्षता, विषयगत ज्ञानका आधारमा तुलना गर्दा । झण्डै साढे तीन दशकको जागीरे जीवनमा कर्मचारीको चेतनास्तरलाई राम्ररी परख गरेका छन् उनले । र, पञ्चायती शासन तथा त्यसपछिका शासकलाई नजिकबाट नियालेका उनलाई मुलुकको संरक्षकत्व कसैले नलिएको महसूस भएको छ आजपर्यन्त ।

मानव संसाधन, पानी र पर्यटनको भरपुर उपयोगबाट आर्थिक क्रान्ति हुने उनको ठम्याइ छ । राजनीतिक स्थायित्व भएमा विकासका बाटा बन्द नहुने उनलाई लाग्छ । कृषिको विविधीकरण, वन पैदावर र जडीबुटी प्रशोधन तथा त्यसको निर्यातले पनि आर्थिक विकासमा टेवा पुग्ने उनको अनुभव छ । भन्छन्- सामूहिक सत्प्रयासबाट समाज बनाउन सकिन्छ । समाजको प्रगति नै राष्ट्रको समृद्धि हो । समाज सुधार र विकासका काम यसले वा उसले गर्नुपर्छ भन्नु तर्कहीन ठान्छन् उनी । त्यसलाई  हरेक नागरिकले आफ्नो कर्तव्य सम्झेर राष्ट्रोन्नतितिर लाग्नुपर्ने उनको अभिमत छ । यातायात, सडक र विद्युत्जस्ता आवश्यक पूर्वाधारको विस्तारबाट सन्तुलित विकास गर्न सकिने बताउँछन् उनी ।

न्यौपाने नास्तिक होइनन् । उनका लागि धर्म जीवन पद्धति हो । आस्था भएकाले समय पाउँदा मन्दिर पनि जान्छन् उनी । आफूले गरेको काम दृष्टान्त बनाउनुपर्ने उनको मान्यता छ । गच्छेअनुसार दान गरेका छन् उनले । र, त्यसलाई निरन्तरता पनि दिएका छन् । आफूले दान गरेको समाजको बृहत्तर हित र उपयोगितालाई हेरेर दान गर्छन् उनी । मुलुकमा व्यावसायिक कार्य संस्कारको आरम्भ भए पनि त्यो संस्थागत भइनसकेको उनलाई लाग्छ । आफ्नो मूल्याङ्कन आफै नगर्ने उनले सेवा निवृत्त भएपछि साहित्य सृजनामा लाग्ने योजना बनाएका छन् ।

Admin 2011-03-27