''परिणाममुखी व्यवस्थापन'' - युवराज भुसाल
सचिव, वन तथा भूसंरक्षण
केटाकेटीमा हामी सबैले पढेको 'हरियो वन, नेपालको धन' जोगाउने जिम्मेवारी पाएका छन् उनले । तर, नेतृत्ववर्गको अदूरदर्शिता र दृढ इच्छाशक्तिको अभावका कारण त्यो गहन दायित्व निर्वाह गर्न हम्मेहम्मे परेको छ उनलाई । विद्यमान कानूनले सबै अधिकार सामुदायिक वनलाई दिएकाले उनको भूमिका हात बाँधिएको योद्धाको जस्तै भएको छ वनसम्पदाको संरक्षणमा । ५३ वर्षअघि पश्चिम गुल्मीको अतिदुर्गम गाउँ बाँझकटेरीमा उनको जन्म भएको हो । आफ्ना गाउँका बासिन्दाले 'रोलमोडेल' मानेका तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओलीजस्तै बन्ने उनको उत्कट चाहनामा भरपुर मलजल गरे उनका पिताले । पाँच भाइमध्येका काँहिला उनी ५ लाख भुसालको भीडमा एकमात्र सचिव भएका छन् । वन तथा भूसंरक्षण मन्त्रालय हाँकिरहेका युवराज भुसाल सम्पन्न मध्यमवर्गीय परिवारका भए पनि विकट पहाडी भेगमा हुर्केका हुन् । घरको मानो खाएर सात कक्षासम्म गाउँमा नै पढेका हुन् उनले । माध्यमिक शिक्षा र उच्च शिक्षाको क्रममा उनले कयौँ भुक्तमान भोगे -ज्ञान, शीप र दक्षता अभिवृ द्धिका लागि ।
स्नातकोपाधि हासिल गरेको ८ महीनामा शाखा अधिकृत बन्ने सौभाग्य पाएका भुसालको पहिलो पोष्टिङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको थियो । झण्डै अढाइ दशक निजामती सेवामा बिताएका उनलाई भावी मुख्यसचिवका रूपमा धेरै कर्मचारीले लिएका छन् । वरिष्ठताका आधारमा पनि त्यो पदमा उनको दाबी स्वाभाविक हो । माध्यमिक शिक्षाका लागि धुर्कोट जानु र क्याम्पस पढ्न पोखरा पुग्नुलाई उनले जीवनको उपलब्धि मानेका छन् । त्यस्ता कैयौं अवसर र उपलब्धि उनले प्राप्त गरेका छन्, जसलाई उल्लेख गर्नु अरुचिकर मान्छन् । पिता र गुरु गणेशबहादुर गुरुङलाई प्रेरणाको स्रोत मान्छन् उनी । तिनै गुरुको प्रेरणाबाट पढाइमा पोख्त उनले दोस्रो श्रेणी कहिल्यै देख्नु परेन । विकास, योजना र व्यवस्थापनमा एशियन इन्षिटच्युट अफ टेक्नोलोजीबाट स्नातकोत्तर गरेका उनले त्यहाँ स्वर्णपदक हात पारेर आफूलाई मेधावी विद्यार्थीका रूपमा मात्र प्रमाणित गरेनन् अपितु मुलुकको नाम नै अन्तरराष्ट्रियजगत्मा उजिल्याए । अध्ययन, अनुसन्धान र अध्यापन भनेपछि हुरुक्कै हुने उनले अहिले पनि लोकसेवा परीक्षामा सामेल हुन चाहने गाउँले युवालाई निःशुल्क पढाउने गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेपछि उनले विदेशी विश्वविद्यालयका डिग्री लिएका हुन् । कानूनमा स्नातक उनले जर्मनीको डोर्टमण्ड युनिभर्सिटीबाट विकास, योजना र व्यवस्थापनमा पनि पोष्ट ग्य्राजुएट डिप्लोमा गरेका छन् ।
विकेन्द्रीकरण तथा स्थानीय विकास, लैङिगक सन्तुलन एवम् सकारात्मक विभेद, मानव संसाधन विकास, सुशासन र प्रशासनिक सुधारलगायत दर्जनौँ सुधारका नीतिगत योजना तर्जुमा र तिनको कार्यान्वयनमा भुसालको उल्लेख्य योगदान छ । प्रशासनिक पुनः संरचना आयोगको सदस्यसचिव तथा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको कायममुकायम सचिव रहिसकेका उनलाई सहभागितामूलक र निष्पक्ष कार्यप्रणाली सफल हुने लाग्छ । पैसाले मात्र कर्मचारी उत्प्रेरित नहुने उनको बुझाइ छ । मीठो वचन बोलेर र उनीहरूको आत्मविश्वास बढाएर पनि लक्षित परिणाम हासिल गर्न सकिनेमा उनी विश्वस्त छन् । सबैसँग मित्रवत् व्यवहार गर्ने उनी परिणाममुखी व्यवस्थापनका पक्षधर हुन् । निहित स्वार्थ र अदूरदृष्टि भएकाहरूसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन । महिला र केटाकेटी रोएको देख्न सक्दैनन् उनी । निरीह बालबालिकालाई हातपात गर्नेप्रति जाइलाग्न पनि पछि पर्दैनन् । यद्यपि उनी शान्त, सौम्य र सहिष्णु छन् । शाहीकालमा कामुसचिव भएका उनलाई कथित लोकतन्त्रवादीहरूले हेय भावले हेरेपछि राष्ट्रसङ्घीय आर्थिक सल्लाहकारको आकर्षक पदमा काम गर्न उनी काबुल पनि पुगेका हुन् । १ वर्ष त्यहाँ बिताएका उनी सचिवमा पदोन्नति पाउने पक्कापक्की भएपछि घर फर्केका हुन् ।
पारदर्शिताका नाममा नाङ्गिने र नङ्ग्याउने प्रवृत्त्रि्रति कटाक्ष गर्छन् उनी । 'कुनै कर्मचारीलाई माथिल्लो तहको हाकिमले १४ वर्षसम्म अध्ययन बिदा दिनुलाई भ्रष्टाचार वा सदाचार कुन कोटिमा राख्ने ?' उनको प्रश्न छ । मुलुकमा भ्रष्टाचार संस्थागत भएको अस्वीकार गर्दैनन् उनी । ऐन नियम मिचेर कुनै काम नगरेको ठोकुवा गर्नुका साथै आफूमाथि औँला उठाउनेलाई चुनौती दिन्छन् आक्षेप प्रमाणित गर्न । देशको भूबनोटअनुसार १ सयभन्दा बढी विधायक हुनु उनलाई औचित्यपूर्ण लाग्दैन । सार्वजनिक प्रशासनको क्षेत्रले पनि गरिमा र महत्ता गुमाउँदै गएको उनको अनुभव छ । पदयात्रा र पौडीका शोखिन भुसाल ईश्वरप्रति आस्थावान् छन् । गायत्री मन्त्र नजपी भोजन गर्दैनन् उनी ।
पूजाआराधनाबाट सकारात्मक सोचको विकास हुने उनको अनुभव छ । विकास अर्थतन्त्रमा विद्यावारिधि गर्ने उनको सोच छ । राष्ट्र र जनताको अहित हुने काम गर्नेलाई कठोर दण्ड दिनुपर्छ भन्ने उनको घर पनि सहभागितामूलक निर्णय प्रक्रियामा चल्ने गरेको छ ।
Admin 2011-02-25