विकास सहकारीमा
मीनराज कँडेल
अध्यक्ष
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ
बचत तथा ऋण सहकारी अभियानलाई संस्थागत गर्दै अघि बढाइरहेका छन् उनले । बचत तथा ऋण सहकारीका माध्यमबाट ग्रामीण क्षेत्रमा वित्तीय सेवा पुर्याएर महिला, जनजाति तथा सीमान्तकृत वर्गको पहुँच विस्तारलाई केन्द्रमा राखेर उनी यो अभियानमा लागेका हुन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) का अध्यक्ष मीनराज कँडेल आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य भएको बताउँछन् । कृषि, पशुपालन, वन विकास, फलफूल, सागसब्जी उत्पादन, जडीबुटीखेती तथा प्रशोधन, औद्योगिक प्रतिष्ठानको स्थापना, बिजुली उत्पादन, व्यापार र यातायातको क्षेत्रमा सहकारीको माध्यमबाट कामको थालनी भए मुलुकको विकास कठिन नहुने उनको विश्लेषण छ ।
सहकारी क्षेत्रबाट वार्षिक झण्डै ५० अर्बबराबरको कारोबार हुने गरेको छ भने यसले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा १ दशमलव १५ प्रतिशतको योगदान गरेको छ । देशभर छरिएका १८ हजार ५ सय सहकारीले १५ हजारभन्दा बढीलाई रोजगारी दिएका छन् । २०५३ सालेखि शुरू भएको सहकारी आन्दोलन ग्रामीण क्षेत्रमा महिलाद्वारा सञ्चालित सहकारी, कृषि सहकारी, फलफूल सहकारी, जडीबुटी उत्पादक सहकारी, दुग्ध सहकारी, विद्युत् सहकारी, चिया तथा कफी उत्पादक सहकारी, सञ्चार तथा स्वास्थ्य सहकारीलगायत क्षेत्रमा जारी छ । झण्डै अढाइ दशक माष्टरी गरेपछि उनी सहकारीतिर तानिएका हुन् । ५० वर्षअघि धादिङको रिचोकटारमा किसान परिवारमा जन्मेका कँडेल एसएलसी पास गर्नेबित्तिकै शिक्षक भएका थिए ।
'जुनसुकै काम कर्तव्यनिष्ठ भएर गर्नुपर्छ' आफ्नो व्यवस्थापन मन्त्र सुनाउँदै कँडेल भन्छन् । सधैँ इमानदार रहने र विश्वसनीयता कायम गर्नु पनि उत्तिकै अपरिहार्य लाग्छ उनलाई । कामप्रतिको निष्ठाका कारण नै आफू नेफ्स्कुनको अध्यक्षमा दोस्रोपटक निर्वाचित भएको उनी बताउँछन् । मातहतका कर्मचारीलाई रचनात्मक काम गर्न घचघच्याइ रहने उनी सकारात्मक सोचको पैरवी गर्छन् । सार्वजनिक रूपमा कर्मचारीलाई धाप मार्ने र पुरस्कार दिँदा लक्षित उपलब्धि हासिल गर्न कठिनाइ नहुने उनको बुझाइ छ । बोली र व्यवहारमा तालमेल कायम नगर्नेहरूसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन । इमानदार र लगनशील मानिस सफल हुने उनको अनुभव छ । न्यून आय भएको व्यक्तिको आम्दानी बढाउने तथा सधैँ सबैलाई असल काम गर्न प्रेरणा दिनु उनको जीवनको एकमात्र उद्देश्य हो ।
कसैलाई यसो वा त्यसो गर भनेर निर्देशन दिनुभन्दा आफूले नै दृष्टान्त बनेर प्रस्तुत हुनुपर्नेमा जोड दिन्छन् कँडेल । मदिरा, चुरोट र जुवातास भनेपछि कोसौं टाढा बस्ने उनी ती चिजमा आजसम्म हात नलगाएको दाबी गर्छन् । उनको शिरमा सधैं टोपी हुन्छ । बाल्यावस्थादेखि नै त्यो उनको शिरको शोभा बनेको छ । नास्तिक होइनन् उनी । र, विरलै मन्दिर जान्छन् । मुलुकमा संस्थागत संस्कृतिको सामान्य विकास भएको उनको विश्लेषण छ ।
दानले कसैलाई उत्साहित नगर्ने विचार व्यक्त गर्ने उनी शीप, क्षमता र ज्ञान बाँड्नु उपयुक्त मान्छन् । आफूले जानेको कुरा अरूलाई सिकाउनु एक किसिमको सीएसआर हो उनका निम्ति । नेफ्स्कुनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दीनहीनलाई आवश्यक परेको समयमा धेरैपटक सघाएको उनी उल्लेख गर्छन् । मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि पूँजी सङ्कलनको महत्त्वपूर्ण माध्यम सहकारीलाई सरकारले अझ सुदृढ बनाउनुपर्नेमा जोड दिने उनी सहकारीलाई करमुक्त गर्नुपर्ने बताउँछन् ।
Admin 2011-05-27