शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''सकारात्मक सोचको आवश्यकता'' - प्रदीपकुमार श्रेष्ठ
प्रबन्ध निर्देशक, पञ्चकन्या समूह

हरेक नेपालीले सकारात्मक सोचका साथ काम नगरेसम्म समृद्धि 'आकाशको फल' बाहेक केही नहुने उनको बुझाइ छ । अरूप्रति औंला ठडयाउनुभन्दा बाँकी चारओटै औँलाले आफैलाई गिज्याएको वास्तविकतालाई बुझेर 'नेपाल हाम्रो हो' भन्ने भावना र मानसिकताका साथ नागरिक जिम्मेवारी वहन गर्न सबैसँग विनम्र आग्रह गर्छन् उनी । आम नेपालीमाझ उनको परिचय जरुरी छैन । सुपरिचित उद्यमी प्रदीपकुमार श्रेष्ठले मुलुकको प्रतिष्ठित उद्योग पञ्चकन्या समूहलाई प्रबन्ध निर्देशकका रूपमा नेतृत्व गरेको तीन दशक नाघिसकेको छ । ५१ वर्षीय प्रदीपको उद्यमी-व्यवसायीमाझ बेग्लै परिचय छ- गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने व्यक्तिका रूपमा । प्रतिष्ठित उद्योगपति उनलाई राजनीतिक दलहरू मुलुक र मुलुकवासीप्रति कम र आफ्नै दलप्रति बढी केद्रित भएकोमा दिक्क लाग्छ । आर्थिक विकासका विषयले प्राथमिकता नपाउनुलाई उनी विडम्बनापूर्ण मान्छन् ।

गुणस्तरीय निर्माण सामग्री उत्पादनको पर्याय बनेको पञ्चकन्या समूहअन्तर्गत डेढ दर्जनभन्दा बढी औद्योगिक तथा व्यापारिक प्रतिष्ठान सञ्चालित छन् । यस समूहमा पञ्चकन्या आइरन, स्टील, प्लाष्टिक इण्डष्ट्रिजका साथै नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योगलगायतले मुलुकको आर्थिक विकासमा टेवा पुर्याइरहेका छन् । चार दशकअघि झापाको चारपानेमा पिता प्रेमबहादुर श्रेष्ठले पञ्चकन्या राइस मिलबाट थालेको व्यवसायले ध्रुव, प्रदीप र बद्रीको साथले फड्को मारेको हो । पञ्चकन्या समूहमा १ हजार रोजगारी पाएका छन् । विकेन्द्रीकरण, व्यावसायिक व्यक्तिहरूलाई जिम्मेवारी दिने र विभागीय प्रमुख तोकेर काम लगाउने प्रदीपको बानी छ । जोखिम उठाउन पछि नपर्ने उनी केही 'एग्रेसिभ' पनि हुने गर्छन्- नयाँ उत्पादन बजारमा ल्याउँदा । परलमोल लिने तर गुणस्तरमा कदापि सम्झौता नगर्ने उनको उद्योगको मन्त्र हो । दण्ड र पुरस्कारको पद्धतिबाट बाँधिएको छ पञ्चकन्या समूह । उक्त समूहको प्रधान कार्यालयमा पुग्ने जोकोहीले आकर्षक 'फ्रेम'मा उत्कृष्ट कर्मचारी अर्थात् 'इम्प्लोइ अफ द इयर' को गर्विलो स्थानमा देख्न सक्छन् । इमानदारी र लगनशीलतालाई मन्त्र मान्न उत्प्रेरित गर्छन् । आफ्नो बुताले भ्याएको काम आफै गर्नुपर्छ भन्ने उनको मान्यता छ । घुसघुसे, झुक्याउने र काम छल्ने मान्छे उनलाई अप्रिय लाग्छन् ।

पञ्चकन्या ग्रूपअन्तर्गतका सबै उद्योगप्रतिष्ठानबाट उत्पादित वस्तु तथा सामग्रीले नेपाल गुणस्तर चिह्न तथा अन्तरराष्ट्रिय गुणस्तर सङ्घबाट प्रमाणपत्र पाएका छन् । उक्त ग्रूपका निर्माण सामग्री टीएमटी छड, सीआरटी स्टील बार, एचडीपीई पाइप, पीभीसी पाइप, एचबी वायर, इको बार, पीभीसी फिटिङ्सलगायत उत्पादन उच्च गुणस्तरका कारण उपभोक्ताले अधिक रुचाएका छन् ।

सुजल फुड्स प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ प्रदीपलाई नेतृत्व क्षमता भएको ऊर्जाशील व्यक्ति मान्छन् । सबैसँग खुलेर मित्रवत् व्यवहार गर्ने र कर्मचारीसँग घुलमिल हुने उनको बानी अञ्जनलाई अद्भुत लाग्छ । सहयोगी, समूहगत काममा विश्वास गर्ने प्रदीपका गुणले नै पञ्चकन्यालाई आजको अवस्थामा पुर्याएको उनलाई लाग्छ ।  

देश र जनताका लागि अत्यावश्यक केही विशाल परियोजना लिएर बजारमा चाँडै प्रस्तुत हुँदै छन् प्रदीप । यद्यपि त्यसलाई आजै सार्वजनिक गर्न उनी रुचाउँदैनन् । उनको कम्पनीले केही वर्षभित्रै सिमेण्टको उत्पादन थाल्ने तयारी गरेको छ । मलेखुमा 'क्रसर'उद्योग स्थापना भइसकेको तथा केही दिनभित्रै त्यो सञ्चालनमा आउने उनी बताउँछन् । मुलुकमा राजनीतिक स्थायित्व कायम भएमा ५ वर्षमा विगतमा हासिल भएको आर्थिक वृद्धिदर पुनः प्राप्त गर्न सकिनेमा उनको दृढविश्वास छ । जलविद्युत्, सेवामूलक उद्योग र कृषिक्षेत्रको विकासले देश उँभो लाग्ने उनको ठम्याइ छ । नेपालको भौगोलिक अवस्थितिलाई उनी 'चिज इन द स्याण्डविच' भन्छन्- भारत र चीनबाट प्राप्त गर्न सकिने तुलनात्मक फाइदालाई लिएर । उनको पूर्वाधार विकासमा अधिक जोड छ । १ सय किलोमिटर बाटो बनाउन सके कुल गार्हस्थ्य उत्पादनमा ठूलै योगदान गर्न सकिने उनलाई लाग्छ । बजारमा पर्याप्त पैसा भएको उनको ठम्याइ छ । तरलता अभाव अन्त्य गर्न स्रोत नखोजी अनौपचारिक प्रणालीमा राखिएको रकम स्वयम् घोषणा गर्ने व्यवस्था सरकारीस्तरमा हुनुपर्ने उनको सुझाव छ ।

 नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का पूर्वअध्यक्षसमेत रहेका प्रदीप महासङ्घ टुक्रेर नेपाल उद्योग परिसङ्घ बन्नुलाई 'जुँगाको लडाइँ'भन्छन् । उत्पत्तिको प्रमाणपत्र महासङ्घले नै जारी गर्न पाउनुपर्ने उनको धारणा छ । दुवै संस्था ढिलोचाँडो एकीकरण हुनेमा उनी विश्वस्त छन् । दक्षिण अफ्रिकाका वाणिज्यदूतसमेत रहेका उनी आर्थिक कूटनीतिका कुरा कागजमा मात्र सीमित रहेको टिप्पणी गर्छन् । नयाँ नेपाल निर्माणमा नवपुस्ताको अपरिहार्यता देख्ने प्रदीप उनीहरूको विश्वास जितेर काम गर्नुपर्नेमा जोड दिन्छन् । महिलावर्गलाई पनि उत्तिकै महत्त्व एवम् प्राथमिकता दिनुपर्ने उनको मान्यता छ । 'भविष्यका लागि युवा बनाऔँ र युवाका निम्ति भविष्य पनि' उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले दर्जनौं व्यावसायिक सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । कसैको दुःख देख्न नसक्ने उनी दीनहीनलाई सक्दो सहयोग गर्छन् । पञ्चकन्या समूहले मठमन्दिरहरूको पुनः निर्माण एवम् मर्मतसम्भारका निम्ति वर्षेनि लाखौं रुपैयाँ खर्चने गरेको छ ।