शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अहोरात्र चिन्तन
रामेश्वर अर्याल
प्रबन्ध निर्देशक
काठमाडौं मोडल कलेज

आपसी विश्वास, पारदर्शिता र इमानदारीले मात्रै संस्था सफल हुने ठान्छन् रामेश्वर अर्याल । यही सूत्रको प्रयोगले नै काठमाडौं मोडल कलेज (केएमसी) तीव्र प्रतिस्पर्धाका बीच पनि उत्कृष्ट हुनसकेको उनको बुझाइ छ । 'आपसी विश्वास र समर्पणले नै उत्कृष्ट संस्था निर्माण गर्न सक्यौं,' अर्याल भन्छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा २०५२ सालमा स्नातकोत्तर अध्ययन पूरा गरेको समूहका केही साथीको पहलमा स्थापित कलेज हो- केएमसी । २०५७ सालमा प्लसटु कक्षा सञ्चालन गरेको यस संस्थाले शैक्षिक क्षेत्रमा ठूलो सञ्जाल निर्माण गर्न सफल भएको छ । यो सबै उनको व्यवस्थापनकलाको देन हो । ४३ वर्षअघि गुल्मीको आँपचौरमा जन्मिएका अर्यालको सपना थियो( शिक्षक बन्ने । यही सपना पूरा गर्न सम्पुर्णानन्द संस्कृत विश्वविद्यालय बनारस गए । र, त्यहीबाट पूर्वमध्यमा (एसएलसी) उत्तीर्ण गरे । नेपालीमा स्नातकोत्तर सिध्याएपछि उनले त्रिविमै प्राध्यापन थाले । केही निजी स्कूलमा पनि पढाएपछि आफ्ना सहपाठीसँग मिलेर कलेज खोल्ने निर्णय गरे । 'हामीले कलेज स्थापना गरेर त्यसलाई अब्बल बनाउन सक्छौं भन्ने लाग्यो,' उनी संस्था स्थापनाको प्रसङ्ग कोटयाउँदै भन्छन् ।आठ शिक्षक र २ फरक व्यवसायका व्यक्तिलाई समेटेर केएमसी स्थापना भएको थियो । करीब ६० लाख लगानीमा स्थापित केएमसीले ५ करोडभन्दा बढीको पूर्वाधार खडा गरिसकेको बताउँछन् अर्याल । व्यवस्थापन र मानविकीमा स्नातकोत्तरसम्म  र विज्ञानमा प्लसटुसम्म अध्यापन गराउँदै आएको छ सो कलेजले ।

'हाम्रो उद्देश्य नै गुणस्तरीय शिक्षा प्रदान गर्नु हो,' अर्याल भन्छन् । विद्यालयतहदेखि क्याम्पस हुँदै अहिले इञ्जिनियरिङ अध्यापनतिरसमेत लागिसकेको बताउँछन् अर्याल । 'हिमालय कलेज अफ इञ्जिनीरिङ'मा केएमसीकै लगानी रहेको छ । त्यस्तै न्यूसमिट कलेज पनि हाल केएमसीको व्यवस्थापनमा सञ्चालन भइरहेको छ । अर्यालको सपना संस्थालाई विश्वविद्यालयका रूपमा उभ्याउनु रहेको छ । आफ्नो शैक्षिक सञ्जालमा ५ हजार २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ४ सयभन्दा बढीले रोजगारी पाइरहेको बताउँछन् उनी ।

आधुनिक भौतिक पूर्वाधार र बाहिरी सजावटमा उनको त्यति विश्वास छैन । मुलुकका करीब ३ हजार प्लसटुमा उत्कृष्ट पाँचमा स्थानमा रहेको बताउँछन् उनी । 'राति सुत्दा पनि संस्थाकै बारेमा सोच्छु,' उनी भन्छन् । आफ्नो प्रेरणाको स्रोत लिटिल एञ्जल्सका अध्यक्ष उमेश श्रेष्ठलाई दिन्छन् । केएमसीकै दुई संस्थापक सदस्य विष्णुप्रसाद शर्मा र लङ्क केसीलाई आफ्नो संस्था सफल बनाउनुको मुख्य श्रेय दिन्छन् ।

गुरुप्रसाद मैनालीका कथा र महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता उनलाई औधी मन पर्छ । मानवधर्म मान्छन् तर ईश्वरीय धर्मप्रति विश्वास गर्दैनन् । 'कर्मलाई नै धर्म मान्छु,' अर्याल भन्छन् । आर्थिक अभावमा बाँचेका ४ सयभन्दा विद्यार्थीलाई उनको संस्थाले पढाइसकेको छ । हालसम्म आफूले पढाएका विद्यार्थीमध्ये पाल्पाका श्याम कामीलाई सम्झीरहन्छन् उनी । 'उनकी आमाले गिट्टी कुटेर पढाइरहेकी थिइन्, हामीले थाहा पाएर उनलाई सित्तैमा पढायौं,' उनी भन्छन्, 'अहिले उनी एमबीबीएस पढिरहेका छन् ।' लगनशील, इमानदार र मेहनती विद्यार्थीलाई पढाउन मन लाग्छ उनी भन्छन् । बिहान साढे ६ बजे कलेज आउँछन् उनी । दिनभर प्रध्यापन र संस्थाको काममा व्यस्त रहन्छन् ।

स्थापनाको १० वर्ष बितिसक्दासमेत संस्थापकहरूबीच कहिल्यै मतभेद आएन । सबैसँग सल्लाह गरेर मात्रै काम गर्छन् उनीहरू । संस्थामा मुनाफा खोज्ने होइन भन्छन् । 'शिक्षाक्षेत्रमा तत्काल मुनाफा खोज्ने होइन,' उनी भन्छन् । यसरी सोचियो भने संस्था कहिलै उकालो नलाग्ने उनको मान्यता छ । आफूलाई इमानदार संस्थापकका रूपमा धेरै चिनेकोमा गर्व गर्छन् उनी । दृढ इच्छाशक्ति र पूर्ण प्रतिबद्धताले नै मानिसलाई सफल बनाउने उनको ठम्याइ छ । विज्ञापनको भरमा  शैक्षिक संस्थालाई अडयाउने प्रवृत्तिको आलोचना गर्छन् अर्याल । 'आकर्षक विज्ञापन छापेर भ्रम फैलाउने संस्थालाई कारबाही गर्नुपर्छ,' उनी भन्छन् ।

Admin 2011-07-29