शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

उच्चमाविका अग्रणी
डा. माधवप्रसाद बराल
प्रिन्सिपल
नेशनल स्कूल अफ साइन्सेस (निष्ट)


नेपालमा निजीक्षेत्रबाट पहिलोपटक विज्ञान विषयमा उच्च शिक्षा प्रदान गर्ने श्रेय निष्ट कलेजलाई जान्छ । सरकारी क्याम्पसमा मात्र सीमित विज्ञान शिक्षाको पहुँचलाई निजीक्षेत्रमा स्थापित गर्ने कार्य डा. माधवप्रसाद बरालले निष्ट कलेजमार्फत गरे । महँगो भए पनि बरालको अगुवाइ गुणस्तरीय शिक्षा र शैक्षिक जागरण प्रदान गर्ने हिसाबले फलदायी नै बन्यो । अहिले विज्ञान विषयमा उच्च शिक्षा र  निजी उच्चमावि पर्यायजस्तै बनेका छन् । यसलाई उनी आफ्नो प्रयास सफल भएको अनुभूति गर्छन् । 'यसले मलाई स्थापित बनायो,' बराल सन्तुष्ट हुँदै भन्छन् । २०५० सालअघि विज्ञान पढ्न अमृत साइन्स वा त्रिचन्द्र क्याम्पसमा तँछाडमछाड हुन्थ्यो । उनले विज्ञान विषयप्रति यस प्रकारको आकर्षण  देखेर कलेज खोल्ने निर्णयगरे । स्थापनाको छोटो अवधिमै उनले निष्टलाई उचाइमा पुर्याउन सफल भए बराल ।

निष्ट कलेजले अहिले प्लस टुदेखि स्नातकोत्तर तहसम्मको अध्यापन गराउँदै आएको छ । बरालको अगुवाइमा १३ जना शिक्षाकर्मीको संलग्नतामा २०५० सालमा स्थापना भएको यो कलेज अहिलेको स्थितिमा पुग्न निकै मेहनत गर्नुपरेको थियो । शुरूमा प्लस टु सञ्चालन गर्दा ९ हजार रुपैयाँ जम्मा गरेका थिए उनले । शुरूका दिनमा लैनचौरको शान्ति विद्यागृह स्कूलको भवनमा पढाइ सञ्चालन भएको थियो । 'हामीले त्यहाँ (शान्तिविद्या) कक्षा सञ्चालन गरेबापत प्रतिविद्यार्थी भर्नामा लाग्ने रकमको ५ प्रतिशत भाडाका रूपमा बुझाउने सहमति गरेका थियौं  ,' उनले अप्ठयारो परिस्थितिसँगै कलेज स्थापना गरेको प्रसङ्गलाई कोटयाउँदै भने । त्यसबेला १० ओटा प्लाष्टिकको कुर्चीमात्रै किनेको बताउँछन् उनी । स्थापनाको केही समयमै विद्यार्थीको आकर्षण निरन्तर बढ्दै गएको बरालको अनुभव छ । उनको संस्थामा प्लस-टु विज्ञान र व्यवस्थापन सङ्कायमा पढाइ हुन्छ । विद्यार्थीको चाप थामिनसक्नु भए पनि निश्चित सङ्ख्यामा मात्रै भर्ना लिइन्छ । वर्षमा विज्ञानमा ९ सय र व्यवस्थापनमा २ सय विद्यार्थी मात्रै भर्ना लिने गरेको उनी बताउँछन् । त्यस्तै, स्नातक तहमा व्यवस्थापन र विज्ञान तथा स्नातकोत्तर तहमा विज्ञान सङ्काय पढाइ हुन्छ । ती तहमा पनि निश्चित सङ्ख्या तोकिएको छ । सबै गरी उनको संस्थामा ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

अप्ठयारो परिस्थितिबाट हुर्काएको सो संस्थामा अहिले करोडांैको लगानी भइसकेको छ । बराल संस्थालाई विश्वविद्यालयका रूपमा विकास गर्ने अठोटका साथ खटिरहेका छन् । उनले बिहान ७ देखि साँझ ७ बजेसम्मको समय संस्थालाई दिइरहेका छन् । कडा मेहनत र परिश्रममा विश्वास गर्ने उनी भन्छन्, 'संस्थालाई हामी सबैले साझा सम्पत्ति ठान्नुपर्छ ।' त्यही मेहनतकै परिणाम स्वरूप यो निरन्तर देशकै उत्कृष्ट उच्चमाविमा पर्दै आएको छ । संस्थालाई आफ्नो खल्तीको बनाउन नहुने उनको धारणा छ । अहिले उनको संस्थामा ५ सयभन्दा बढीले रोजगारी पाएका छन् । निष्टमा कार्यरत कर्मचारीलाई उनले रोजगारीको स्थायित्वदेखि राम्रो सुविधा दिएका छन् । तर, संस्थामा राजनीतिक पार्टीका भ्रातृ सङ्गठन गठन गर्न नदिने पक्षमा उनी दृढ छन् । 'हेर्नुस् त, विश्वविद्यालयहरूमा राजनीतिक गतिविधि गर्न खुला छोडिदिँदा उनीहरूको हालत आज के छ', उनले प्र्रश्न गर्दै भने । उनी आफ्नो संस्थामा विद्यार्थीले राजनीति गर्ने थाले भने 'अस्कल क्याम्पस जाऊ' भनेर सुझाव दिन्छन् ।

सिन्धुलीको घोक्सिला पोखरीगाउँमा ५८ वर्षअघि जन्मिएका बरालले विद्यालय शिक्षा जनकपुरको सरस्वती माविमा लिएका हुन् । उनले त्रिचन्द्रबाट स्नातक र त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर गरेका हुन् । पढाइमा अब्बल विद्यार्थी बराल छात्रवृत्ति पाएर फिलिपिन्स विश्वविद्यालयबाट 'फूड टेक्नोलोजी'मा विद्यावारिधि गरेका छन् । केही समय पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा रसायनशास्त्रमा प्रध्यापन गरेका उनले १५ वर्षनेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) मा वरिष्ठ वैज्ञानिक भएर काम गरे । 'विभिन्न कारणले त्यहाँ (नाष्ट) हामीले केही गर्न सकेनौं, त्यसैले जागीर छोडेर म कलेज खोल्न पुगेँ,' उनले भने  ।   

उनको अगुवाइमा जनकपुरमा मिथिला इन्षिटच्युट अफ टेक्नोलोजी, धरानमा नेशनल कलेज अफ फूड साइन्स एण्ड टेक्नोलोजी, बनेपामा पञ्चकुमारी उच्चमावि तथा राजधानीमा स्कूल अफ मेडिकल साइन्सेस एण्ड ल्याब टेक्नोलोजी र भक्तपुर लोकन्थलीमा मिलेनियम इण्टरनेशनल एकेडेमीको स्थापना भएका छन् । सबै संस्थामा उनी हप्तैपिच्छे अनुगमनका लागि जाने गरेका छन् ।

आफ्नो सफलताको श्रेय बुबाआमालाई दिन्छन् उनी । फुसदमा विज्ञान र प्रविधिमा आएका नयाँ आयाम र प्रयोगका बारेमा अध्ययन गर्न रुचाउँछन् । बिहान ५ बजे उठेर १ घण्टा कसरत गर्छन् र आफै चिया बनाउँछन् । विश्वेश्वरप्रसाद कोइरालाबाट निकै प्रभावित बराल देवताप्रति अगाध आस्था राख्छन् । 'देवताप्रतिको विश्वास नै मेरो प्रगतिको आधार हो,' उनी भन्छन् ।

हालसम्म पढाएका विद्यार्थीमध्ये दाङका गोपाल पुनलाई उनले सम्झीरहन्छन् । गरीब परिवारको सन्तान पुनलाई उनले आफ्नो कलेजमा राखेर चिकित्सक बनाउन सहयोग गरे । समाजसेवामा पनि उनको उत्तिकै शोख छ । आफू जन्मिएको सिन्धुलीको पोखरीगाउँको विद्यालयलाई रू. १ लाखबराबरको विज्ञान उपकरणको व्यवस्था र पुस्तकालय स्थापना गरिदिएका छन् । उनी आफ्नो कलेज अमेरिका र जापानमा जस्तो गरी नियम बनाएर समुदायलाई हस्तान्तरण गर्ने पनि तयार छन् । तर, अस्कल र त्रिचन्द्रको हालतजस्तो नहोस् भन्ने पूर्वप्रतिबद्धता उनलाई चाहिएको छ । 'यस कलेजलाई पैतृक सम्पत्तिका रूपमा छोराछोरीलाई हस्तान्तरण गर्न चाहन्नँ,' उनी भन्छन् ।

Admin 2011-06-28