अफ्रिकाकै सबैभन्दा धनी
काला जातिको बाहुल्य रहेको अफ्रिकामा अत्यन्त गरीबी छ । सामान्यतया काला जातिका मानिसलाई प्रगति गर्न नसक्ने भनेर विश्वमा चिनिने गरेको छ । भनिन्छ, सँधैको लडाइँ- झगडा, सदियौंको दासत्व र उत्पीडनले उनीहरू अगाडि बढ्न नसकेका हुन् । तर, केही काला जातिका मानिसहरूले व्यापार/व्यवसायमा उल्लेखनीय सफलता पनि पाएका छन् । नाइजेरियाका अलहाजी अलिको डाङ्गोटे तिनै केही थौरै सफल काला उद्यमीहरूको सूचीमा सबैभन्दा माथि रहेका छन् । डाङ्गोटे अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक समूह, 'डाङ्गोटे समूह'का अध्यक्ष तथा कार्यकारी प्रमुख हुन् ।
सन् १९५७ अप्रिल १० मा उत्तरी नाइजेरियास्थित कानो राज्यको राजधानी कानो शहरमा जन्मिएका थिए । उनका पिता कानो शहरमा कानून व्यवस्था लागू गर्ने 'नर्दन एर्ल्र्डस पिपुल्स युनियन'का कोषाध्यक्ष थिए । कानोक्षेत्रका फुलानी मुस्लिम जनजातीय समूहका डाङ्गोटेको विद्यालयस्तरको शिक्षा कानो शहरमै भएको थियो । विद्यालय शिक्षापश्चात् आफ्नो कलेजस्तरीय शिक्षा पूरा गर्न उनी इजिप्ट गए । त्यहाँ रहँदा उनको सङ्गत केही धनी इजिप्टेली साथीहरूसँग भयो । डाङ्गोटेका ती साथी व्यापारिक परिवारबाट आएका थिए । उनीहरूको सङ्गतबाट डाङ्गोटेले लगानीबारे राम्रो ज्ञान पाए । विश्वविद्यालयमा व्यापार व्यवस्थापनको पढाइ सकेपछि २१ वर्षको उमेरमा उनी नाइजेरिया फर्के । व्यापार-व्यवसायमा अत्यन्त रुचि भएका डाङ्गोटेसँग व्यापारमा लगानी गर्न पूँजीको अभाव थियो । तर, मेहनती, तीक्ष्ण बुद्धि र लगानीसम्बन्धी राम्रो भएका उनलाई पूँजीको अभावले छेक्न सक्ने कुरै थिएन । २१ वर्षमा डाङ्गोटेलाई उनका काकाले शेयर कारोबारमा आउन प्रस्ताव गरेपछि उनको व्यावसायिक यात्रा शुरू भएको देखिन्छ । दिवङ्गत हजुरबुबाले उनको नाममा छाडेर गएको केही रकम र काकाको लगानी मिलाएर उनले सन् १९७७ मा शेयर कारोबार शुरू गरे । शेयर कारोबारसँगै उनले सिमेण्ट र अन्य कमोडिटीको व्यापार पनि थाले । कारोबार बढ्दै गएपछि उनी कानोबाट नाइजेरियाको राजधानी लेगास आए । उनको कारोबार यति सफल भयो कि उनले सन् १९८१ मा दुई कम्पनी स्थापना गरे । उनले सन् ७० को अन्त्यतिर शुरू गरेको व्यापार नै आज 'डाङ्गोटे समूह'का नामले अर्बौं अमेरिकी डलरबराबरको व्यवसाय भएको छ ।
डाङ्गोटेको व्यापार-व्यवसायमा मुख्यत: तेल र ग्यास उत्पादन, बैङकिङ, यातायात, सिमेण्ट, हल्का पेयपदार्थ, मदिरा, चकलेट, चिनी उद्योग र खाद्यान्न उद्योग रहेका छन् । 'डाङ्गोटे समूह'ले सञ्चालन गरेको ओबाज्ना सिमेण्ट कारखाना र डाङ्गोटे पिठो उद्योग अफ्रिकाकै ठूला सिमेण्ट र पिठो उद्योग हुन् । हालैमात्र पाकिस्तानी व्यापारीहरूसँगको संयुक्त लगानीमा उनले सञ्चालन गरेको चिनी उद्योगले पनि ठूलो व्यापार गरिरहेको बताइन्छ । २ अर्ब अमेरिकी डलर लागनीको उक्त चिनी उद्योग नाइजेरिया स्टक एक्सचेञ्जमा सबैभन्दा बढी मूल्य अङ्कित कम्पनी भएको छ । त्यसैगरी 'नाइजेरियन साल्ट कम्पनी' को ४० प्रतिशत शेयर खरीद गर्दै उनी नाइजेरियाको नुन उत्पादनमा पनि आफ्नो वर्चस्व राख्न अग्रसर देखिएका छन् । सन् १९९३ मा उनले खरीद गरेको 'नाइजेरियन टेक्सटाइल मिल्स' नाइजेरियाको ठूलो कपडा उत्पादकमध्ये एक पर्छ । डाङ्गोटे नाइजेरियाका सबैभन्दा ठूला निर्यातकर्ता हुन् । उनको समूहले नाइजेरियाबाट काजु, कपास, कोका, अनाज, माछा र कपडा पश्चिमी अफ्रिका र यूरोपमा निर्यात गर्ने गर्दछ । त्यसैगरी अन्य मुलुकबाट नाइजेरियामा चामल, वनस्पति घ्यू, तेललगायत दैनिक आवश्यकताका वस्तु निर्यात र विक्रीवितरणमा पनि उनको समूह उत्तिकै सक्रिय देखिन्छ । 'डाङ्गोटे समूह'को व्यापार नाइजेरियामा मात्रै सीमित छैन । दक्षिण अफ्रिका, बेनिन, क्यामरुन, घाना, जाम्बिया र टोगोलगायत देशबाट पनि सञ्चालन हुने गरेको छ । डाङ्गोटेको व्यापारले पश्चिमी अफ्रिकी क्षेत्रलाई समेट्छ । आफ्ना यिनै व्यापारिक गतिविधिका कारण 'डाङ्गोटे' समूह नाइजेरियाको सबैभन्दा ठूलो औद्योगिक र व्यापारिक समूह बन्न सफल भएको छ । सन् २०१० मा 'डाङ्गोटे समूह' को कुल आम्दानी १ खर्ब ६ अर्ब अमेरिकी डलर रहेको बताइन्छ ।
तर, व्यावसायिक सफलतासँगै डाङ्गोटेलाई नाइजेरियाको सत्तारूढ दलसँग नजिकको सम्बन्ध बनाएर व्यापारिक फाइदा लिएको आरोप पनि लाग्दै आएको छ । नाइजेरियाली पूर्वराष्ट्रपति ओलुसेगुन ओबासाञ्जोका निकटवर्ती उनले सन् २००३ को राष्ट्रपतीय चुनावमा ओबासाञ्जोलाई जिताउन २० लाख र राष्ट्रपतीय पुस्तकालयलाई अर्को २० लाख अमेरिकी डलर चन्दा दिएका थिए । त्यसैगरी चुनावताका नै 'ओबासाञ्जो सहयोग समूह'मार्फत नाइजेरियाको राष्ट्रिय मस्जिदलाई ५ लाख डलर दिएपछि उनलाई ओबासाञ्जोलाई जिताउन मुस्लिमहरूको भोट खरीद गर्ने प्रयत्न गरेको आरोप लागेको थियो । त्यसका साथै उनलाई नाइजेरियाको सत्तारूढ पिपुल्स डेमोक्रयाटिक पार्टीका मुख्य चन्दादाता भएको पनि बताइन्छ । तर, डाङ्गोटेले आफूमाथि लगाइएका आरोपहरू निराधार भएको बताएका छन् ।
जे भए पनि आफ्नो लगशीलता, बुद्धि र जाँगरले डाङ्गोटेले सफलता हासिल गरेकोमा भने शङ्का छैन । सन् २०१० मा प्रसिद्ध पत्रिका 'फोर्ब्स'ले उनलाई अफ्रिकी महादेशकै सबैभन्दा धनी व्यक्ति भएको बताएको थियो । यसका साथै पत्रिकाले उनलाई विश्वका धनीहरूको सूचीमा ५३औं स्थानमा राखेको छ । 'फोर्ब्स'ले दिएको जानकारीका अनुसार अलहाजी अलिको डाङ्गोटको निजी सम्पत्ति १३ दशमलव ८ अर्ब अमेरिकी डलर रहेको छ ।
Admin 2011-08-31