शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सुबोध राणा''कुरा होइन काम गरौं '' - सुबोध राणा
प्रमुख कार्यकारी अधिकृत
मल्ल ट्राभल एण्ड ट्रेक सर्भिसेज

'दशैंमा बाबुबाजेसँग टीका लगाउन घर बस्नुभन्दा बैङ्कक र पटाया घुमेर बिदाको भरपुर उपयोग गर्ने प्रवृत्ति नेपालका धनाढय वर्गमा बढेको छ' एक्काइसौं शताब्दीका नेपालीहरूको घुमफिरप्रतिको आकर्षण र प्राथमिकता सुनाउँदै उनी भन्छन् । तीन दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा समर्पित मल्ल ट्राभल एण्ड ट्रेक सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत सुबोध राणा 'देश पनि हेर्ने मुख पनि फेर्ने' आहान चरितार्थ गराउन लागिपरेका छन् (नेपालीले खर्च गर्न सक्ने विदेश भ्रमणको आकर्षक प्याकेज उपलब्ध गराएर । सात वर्षअघि साझेदारीमा थालेको मार्कोपोलो ट्राभल्सबाट बाहिरिएर १० महीनाअघि मल्ल ट्राभललाई नेतृत्व दिन पुगेका उनलाई तारन्तार हुने नेपालीको विदेश भ्रमणबाट 'डलर ड्रेन' भएको मान्न हुँदैन भन्ने लाग्छ । विदेश गएका नेपालीले केही हदसम्म त्यहाँ नेपाल भ्रमणका निम्ति प्रवर्द्धनात्मक कार्य गर्ने भएकाले विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेको विश्लेषण शतप्रतिशत सही नहुने उनको तर्क छ । उनले नेतृत्व गरेको कम्पनीले वर्षेनि ८ हजार पर्यटक नेपाल भियभयाउने गरेको छ । यात्राबाट बाहयजगत्बारे प्रचुर ज्ञान हुने र विकास बुझ्न नेपालीलाई सहज हुने उनको ठम्याइ छ । द्वन्द्वकालमा पनि विदेश जानेहरूको सङ्ख्या उल्लेख्य रहेको बताउने राणा लण्डनमा प्रधान कार्यालय रहेको बहुराष्ट्रिय कम्पनी टुईसँग भगिनी सम्बन्ध कायम गरेर व्यवसाय गरिरहेको बताउँछन् । मल्ल ट्राभल एण्ड ट्रेक सर्भिसेज र टुईले सहकार्य थालेको दुइ वर्ष भएको छ ।

हैसियत हुने नेपालीका लागि बिदाको समय मनोरञ्जनपूर्ण बनाउन राणाले यूरोप यात्राको प्याकेज तयार गरेका छन् । यस प्याकेजमा उनले मनासिब मूल्यमा सात दिन छ रातको नेदरल्याण्डस्, ब्रसेल्स र फ्रान्सको 'रोमान्स अफ यूरोप' छ भने युरोपका सात मुलुक घुमाउन दुइ साता लामो 'बेष्ट अफ द यूरोप' सञ्चालन हुँदै छ- टुईको सहयोग एवम् सहकार्यमा । टुईको आगमनले यात्रा व्यवसायमा बहुराष्ट्रिय कम्पनीलाई नेपालमा आकर्षित गर्न मद्दत पुग्नेमा उनी विश्वस्त छन् । सकारात्मक सोच र सधैँ आशावादी रहन सुझाव दिने उनको मानिसमा यात्राको लत लागेपछि सितिमिति नछुट्ने ठम्याइ छ । हरेक वर्ष २० हजार नेपाली व्यापार छुट्टी मनाउन विदेश जाने गरेको तथ्याङ्क उनी प्रस्तुत गर्छन् । अधिकांश नेपालीको प्रमुख गन्तव्य थाइल्याण्ड, मलेसिया, सिङ्गापुर हुने गरेको छ । पछिल्लो समयमा यूरोप यात्रा गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको उनको अनुभव छ ।

विश्व पर्यटन सङ्गठनको सदस्य नेपाल पनि 'विश्व एउटा सानो गाउँ' को मान्यताबाट अछुतो नरहेको ठान्ने राणा आजको युगमा कुवाको भ्यागुतो कोही पनि हुन नचाहने बताउँछन् । उनका अनुसार पश्चिमा सभ्यता र विकासका आयामबारे नेपालीले सिक्न जरुरी छ । आन्तरिक पर्यटन, देशको आर्थिक अवस्था, समसामयिक राजनीतिक विश्लेषण आफ्नो चासो बाहिरका विषय भएकाले तिनमा कुनै किसिमको टिप्पणी नगर्ने उनको अडान छ । 'आफूले गरिरहेको र गर्न सक्ने कामबारे मात्र कुरा गर्नुपर्छ' हरेक विषयमा आफूलाई अति जान्ने सुन्ने दाबी गर्ने औसत नेपालीभन्दा पृथक्रूपमा उनी प्रस्तुत हुन्छन् । 'धेरै कुरा नगरौं, काम गरौं । सानो कामले पनि बृहत्रूप लिन्छ' नयाँ पुस्तालाई उनको सुझाव छ ।

खेलकुदसँग सम्बन्धित सामग्री उत्पादन गर्ने अमेरिकी कम्पनी नाइकीको 'जष्ट डु इट' लाई व्यवस्थापन मन्त्र मान्ने राणा ४० वर्षअघि तारे होटल स्थापनाको पारिवारिक परियोजनालाई साकार पार्न डेनमार्कबाट होटल व्यवस्थापनसम्बन्धी उच्च तालीम लिएका छन् । त्यो पारिवारिक परियोजना कार्यान्वयन नभए पनि उनी अहिले पर्यटन क्षेत्रका प्रभावशाली हस्ती भएका छन् । बेलायतबाट हासिल गरेको ए लेभलको पढाइ उनलाई व्यवसायमा उन्नति गर्न उपयोगी भएको छ । 'लिड बाइ एग्जाम्पल' आफूले गरेर देखाए मातहतका कर्मचारीले पनि त्यसलाई अनुसरण गर्ने उनको अनुभव छ । कर्मचारीलाई आर्थिक रूपमा नै उत्प्रेरणा गर्ने उनको कम्पनीको चलन छ ।

टेनिस र गल्फका शौखिन खेलाडी राणाले आधा शताब्दी उमेर पार गरेका छन् । एक छोरीका पिता उनी यात्रा र आफ्नो कामसँग सम्बन्धित सीमित तर 'सेलेक्टेड' पत्रिका पढ्छन् । भाषासाहित्यमा पनि उनको रुचि छ । नेपालको इतिहासमा अधिक चाख भएका उनले ब्लग सञ्चालन गरेका छन् । ब्लगमार्फत मुलुकको इतिहासलाई अङ्ग्रेजीमा प्रस्तुत गर्ने उनले त्यसैबाट पर्याप्त मनोरञ्जन पनि लिने गरेका छन् । फुर्सदको समय ब्लगमा नयाँ रचना 'अपलिङ्क' गर्ने उनले दक्षिण अमेरिकाबाहेक संसारका सबै महत्वपूर्ण मुलुकको भ्रमण भ्याएका छन् । देशका अधिकांश उद्योग परम्परागत ढर्रामा सञ्चालन भएका र ती पारिवारिक सञ्जालमा नै सीमित रहेकाले वास्तविक संस्थागत संस्कार विकास नभएको उनको विश्लेषण छ ।

सामाजिक एवम् व्यावसायिक जमघटमा आफ्ना 'प्रोडक्ट'बारे विचारविमर्श गर्ने उनको बानी छ । हिन्दूधर्ममा आस्थावान् उनलाई आफ्नी पोलिस जीवनसँगिनीले मान्ने इशाई धर्मप्रति पनि गहिरो सम्मान छ । भ्याएसम्म विभिन्न मठमन्दिर चहार्ने उनले ब्लगको अनुसन्धानका लागि एकपन्थ दुईकाज गर्ने गरेका छन् ।