शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''मातृभूमिको  माया'' - अशोकशमशेर जङ्गबहादुर राणा
प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैङ्क लिमिटेड

पारिवारिक प्रभाव र वैभवको रत्तीभर अभिमान छैन उनमा । प्रभावशाली परिवारका सदस्य भए पनि उनले उपल्लो तह ताकेनन् । २६ वर्षअघि तत्कालीन नेपाल अरब बैङ्कमा सुपरिवेक्षकका रूपमा उनको जागीरे जीवन शुरू भएको हो । हिमालयन बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भएर ५२ वर्षीय अशोकशमशेर जङ्गबहादुर राणाले वित्तीय बजारको विहङ्गम विश्लेषण गर्न थालेको पनि ७ वर्ष नाघिसकेको छ । संयुक्त राज्य अमेरिकाको जर्ज म्यासन विश्वविद्यालयबाट अर्थशास्त्रमा बीएस्सी गरेका उनले उपाधि हात पारेकै वर्षअरब बैङ्कबाट 'बैङ्किङ करिअर' प्रारम्भ गरेका हुन् । ३ वर्षको बाल्यावस्थादेखि विदेशमा बिताएका उनलाई माटोको मायाले मातृभूमिमा ल्याएको हो । 'संसारको जुनसुकै कुनामा गए पनि जन्मभूमिप्रतिको आफ्नो दायित्व कुनै पनि नागरिकले बिर्सन हुँदैन' उनी केही भावुक हुन्छन् ।

कर्ममा विश्वास गर्ने अशोकले नेपाल अरब बैङ्कमा ३ वर्ष सुपरिवेक्षकको भूमिका निर्वाह गरेपछि सहायक व्यवस्थापकमा पदोन्नति पाएका हुन् । २ वर्ष त्यो जिम्मेवारी वहन गरेपछि उनले गोर्खा ब्रुअरीमा महाप्रबन्धकका रूपमा ३ वर्षकाम गरे ।  एकाध वर्षव्यापारमा लागेका उनले बैङ्क स्थापनाको ३६ महीनापछि हिमालयनमा सल्लाहकारका रूपमा सेवा प्रवेश गरेका हुन् । नायब महाप्रबन्धक, महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृत भएका उनलाई संस्थागत सुदृढीकरण एवम् विकास अपरिहार्य लाग्छ । उनका निम्ति व्यक्ति गौण र संस्था ठूलो हो ।

निष्क्रिय कर्जालाई ३ प्रतिशतमा सीमित गर्ने तथा विप्रेषण व्यवसायलाई एशियाली, अमेरिकी र यूरोपेली बजारमा स्तरीय सेवाका साथ फैलाउने लक्ष्यका साथ अशोक काम गरिरहेका छन् । हिमालयनले अपलेखन गरिएका कर्जाको असुली प्रक्रियालाई अधिक प्राथमिकताका साथ अघि बढाइरहेको छ । विगत १९ वर्षदेखि सेवारत उनी नेतृत्वको बैङ्कले ६ सयभन्दा बढीलाई रोजगारी दिएको छ । चालू आर्थिक वर्षभित्र उनले काठमाडौं उपत्यकाबाहिर थप ३ ओटा शाखा विस्तार गरेर शाखा सङ्ख्या ३६ पुर्याउँदै छन् । अरूलाई यसो गर भन्नुभन्दा आफू नै दृष्टान्त भएर प्रस्तुत हुनुपर्नेमा उनको जोड छ । उनलाई समिति संरचनामा कार्यसम्पादन गर्न सहज लाग्छ । भूलबाट धेरै सिकिने उनको मान्यता छ ।

इमानदारी र नैतिक सिद्धान्त नभएका तथा साँचो नबोल्नेहरूसँग व्यवहार गर्न उनलाई मन लाग्दैन । मेगा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाह अशोकलाई तनावको अवस्थामा पनि शान्त भएर काम गर्ने अद्वितीय क्षमता भएको व्यक्ति मान्छन् । जस्तोसुकै समस्या पनि सहज ढङ्गले समाधान गर्ने उनको बानीबाट अनिल प्रभावित छन् । उनी अशोकलाई क्षमतावान् सीईओ र कसैको दर्जा नहेरी सबैसँग समान एवम् मानवीय व्यवहार गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्छन् ।

खेलकुदमा विशेष रुचि भएका अशोक गल्फ भनेपछि हुरुक्क हुन्छन् । फोटोग्राफी उनको रुचिको अर्को विषय हो । सन् ७० को दशकदेखि नै उनले त्यसलाई निरन्तरता दिएका छन् ।  जीवनसँगिनी र एकमात्र सुपुत्र पनि गल्फका शौकीन छन् । गल्फकोर्शमा उनीहरूबीच प्रतिस्पर्धा पनि हुने गरेको छ । तीन सदस्यीय उनको परिवार गल्फ खेलाडीका निम्तिर् इष्र्याको समूह भएको छ । सायदै अन्य बैङ्क र व्यापारिक घरानाका सबै सदस्य उनको परिवारजस्तो खेलमा पनि पारङ्गत होलान् ।

अशोक बैङ्क तथा वित्तीय संस्थाको र्'मर्जर'लाई स्वागत गर्छन् । त्यसबाट अतिरिक्त ऊर्जा एवम् सफलता प्राप्त हुने उनको बुझाइ छ । व्यावहारिक रूपमा निकै चुनौतीपूर्ण लाग्छ उनलाई मर्जर । कुनै बैङ्किङ निकायले नगरेका काम एकआपसमा मिलेर गर्न सकिने उनको विश्लेषण छ । मर्चेण्ट बैङ्कले नगरेका काममा सहकार्य गर्न सकिने उनी बताउँछन् । मुलुकमा संस्थागत संस्कार अपेक्षित गतिमा विकसित नभएको उनलाई लाग्छ । व्यापारिक सङ्घसंस्थाले शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता विकासका आधारभूत क्षेत्रको विकासका लागि रकम खर्चेर  संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने उनको मत छ । यद्यपि उनी यसलाई बहसको विषय मान्छन् । व्यक्तिगत एवम् संस्थागत रूपमा उनले विभिन्न विद्यालयलाई सहयोग गरेका छन् । निर्धन र ग्रामीण स्वावलम्बन कार्यक्रममा पनि उनको मनग्गे योगदान छ ।