''सफलताको सूत्र मध्यम मार्ग'' - किरण साःख
निर्देशक, साःख समूह
'व्यवसाय सञ्चालन होइन बन्द गर्दा फाइदा हुने परिस्थिति उत्पन्न भएको छ' मुलुकको प्रतिष्ठित औद्योगिक घराना साःख समूहका निर्देशक किरण साःख देशको अर्थतन्त्र ओरालो लागेको दुखेसो पोख्दै भन्छन् । देशमा विधिको शासन नहुँदा बढेको दण्डहीनता, बैङ्कको बढ्दो ब्याज, लम्बिदो 'लोडशेडिङ', जेनेरेटरमाथिको निर्भरता, श्रमिक विवाद, पूँजीको अभावजस्ता कैयौं समस्यामा जकडिएकाले व्यवसाय चलाउँदा भन्दा बन्द गर्दा फाइदा हुन्छ जस्तो अचेल लाग्न थालेको छ उनलाई । नीति र राष्ट्रनिर्माणको जिम्मेवारी पाएकाहरूलाई झक्झक्याउन यस्ता विषयमा बृहत् कार्यशाला आयोजना गर्ने बेला भएको उनी बताउँछन् । शान्ति र संविधानका निम्ति नेपाली जनताले गरेको योगदानको उपहास भएको उनको ठम्याइ छ । सङ्क्रमणकालीन अवस्था भनेर उम्कने नेतृत्वपङ्क्तिको प्रवृत्ति आत्मघाती हुन सक्ने आशङ्का व्यक्त गर्ने उनी अर्थतन्त्र उकास्ने अभिभारा लिएकाहरू पनि सम्भावित आर्थिक दुर्घटनाको शिकार हुनबाट नबच्ने ठोकुवा गर्छन् ।
चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका मुलुकको बीचमा रहेर पनि भौगोलिक अवस्थितिको लाभ लिन नसक्नुलाई राज्यको कमजोरी भन्ने किरण अरू देशको कुल गार्हस्थ्य उत्पादन वर्षोनि बढ्ने तर हाम्रो चाहिँ घट्नुलाई विडम्बनापूर्ण मान्छन् । कच्चा पदार्थ, लगानी, यन्त्र, प्रविधि, श्रमिक, ढुवानीजस्ता उद्योगका निम्ति अपरिहार्य पूर्वशर्त पूरा नहुँदा र उद्यममैत्री वातावरणको अभावमा देश गम्भीर आर्थिक दुर्घटनातर्फउन्मुख भएको किरणको विश्लेषण छ । मुलुकको अहिलेको आर्थिक अवस्थाबाट चिन्तित उनी त्यसलाई राजनीतिक नेतृत्वको संवेदनहीनता र गैरजिम्मेवारीपनको पराकाष्ठा भएको टिप्पणी गर्छन् ।
कुनै पनि व्यक्ति उच्च तहमा पुग्न सक्छ तर ईमानदारी र प्रतिबद्धताविना ऊ त्यहाँ सधैं टिकिरहन नसक्ने उनको ठहर छ । झण्डै २ दशकसम्म मुलुकको तयारीपोशाक उद्योगमा एकछत्र छाएका उनले ५ शय कामदार राखेर ईर्ष्यालाग्दो व्यापार गरेका थिए । आफ्नो कारखानाले वार्षिक १० लाख अमेरिकी डलर बराबरको निर्यात गरेको उनको त्यो व्यवसाय अहिले 'एकादेशको कथा' भएको छ । राजनीतिक अस्थिरताका कारण अस्तव्यस्त बनेको अर्थव्यवस्था उकासिनेमा उनमा झिनो आशा अझै बाँकी छ । बुबा र हजूरबुबाबाट व्यापारका तौरतरीका सिकेका उनको एक्लो प्रयासमा तयारीपोशाक व्यवसाय थालिएको हो । 'आफ्नै बाहुबलमा थालिएको व्यवसायले कुनै समय सर्वाधिक आम्दानी गरेको क्षण नै मेरो जीवनको उपलब्धि हो' निर्यातमा आएको मन्दीसँगै राजनीतिक द्वन्द्वका कारण धराशायी भएको समग्र तयारी पोशाकउद्योगको अवस्थाप्रति दुःख व्यक्त गर्दै उनी अहिले पारिवारिक व्यवसायमा र्फकनुपरेको कटु यथार्थ सुनाउँछन् ।
काठमाडौंका उद्यमी गणेशभक्त साखका जेठा छोरा किरणले सरकारी विद्यालयबाट कखरा सिकेका हुन् । उनको समयमा आफूसँग एउटा साइकल हुनु राजसी ठाटसरह हुन्थ्यो । विविध कारणले त्यसबेला आफूलाई साइकलप्राप्तिको चाहना पूरा हुन नसकेको स्मरण उनको स्मृतिमा अझै ताजा छ । टोलका दौंतरीसँग गुच्चा खेलेको बाल्यकालको अनुभव सुनाउने उनले विद्यार्थी जीवनमा डाक्टर, इञ्जिनियर वा पाइलट हुने सपना पनि देखेका थिएनन् तर व्यापार गर्ने चाहना भने सानैदेखि आफूमा भएको उनी बताउँछन् । त्रिभुवन विश्वविद्यालबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनी 'स्लो एण्ड स्टेडी विन्स द रेस' अर्थात् ढिलो भए पनि धर्यपूर्वक काम गर्दा सफलता प्राप्त हुने उल्लेख गर्छन् । त्यसैलाई उनी आफ्नो व्यवस्थापन मन्त्र मान्छन् । परिणाममुखी हुन कर्मचारीलाई सधैं अभिप्रेरित गर्ने उनको बानी छ । नजानेकाहरूलाई प्रशिक्षण दिने उनी सिक्न नचाहनेलाई कम्पनीमा स्थान दिइराख्न उपयुक्त ठान्दैनन् । यद्यपि सुध्रने अवसर भने प्रशस्त दिन्छन् । बढाईचढाई गर्ने र आफ्नो प्रभाव जमाउन खोज्नेहरूसँग काम गर्न उनलाई असहज लाग्छ । फोस्रो आडम्बर र रवाफ देखाउनेहरू उनका लागि सधैं अप्रिय छन् ।
जनसम्पर्क बढाउने अधिक अभिरुचि भएका किरण सामाजिक सङ्घसंस्थामा स्वयंसेवकका रूपमा पनि काम गर्छन् । व्यापार र समाजसेवा भने एकैपटक गर्दा 'ज्याक अफ अल माष्टर अफ नन' अर्थात् कुनै पनि क्षेत्रमा विशिष्टता हासिल नहुने उनको बुझाइ छ । जनसर्म्पर्क बढाउन नै उद्यमी व्यवसायीहरूको छाता सङ्गठन उद्योग वाणिज्य महासङ्घको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने उनको योजना छ । संस्थागत सुशासनको संस्कार क्रमशः उकालो लागेको बताउने उनले संस्थागत सामाजिक उत्तरदायित्व विपन्न वर्गका बालबालिकालाई शिक्षादीक्षाको प्रबन्ध गरेर पूरा गरेका छन् ।
ईश्वरप्रति आस्थावान् उनी देशबाहिर जानुअघि पशुपतिनाथको मन्दिर पुग्छन् तर लाम लागेर दर्शन भने गर्दैनन् । नास्तिकहरूसँग सकेसम्म उनी कारोबार पनि गर्दैनन् । भन्छन्, 'भगवान्सँग डर भएकाहरू अधर्मी हुँदैनन् ।'