''साहसको सतिसाल'' - टेकचन्द्र पोखरेल
अध्यक्ष, साङ्ग्रिला टूर्स
तीन बीस १६ को वयमा पनि उनी सक्रिय छन्, त्यसैले बिहान १० नबज्दै कार्यालय पुग्छन् । उनले अर्थोपार्जन गर्ने कार्यालयको काम छाडेको झण्डै १ दशक नाघिसकेको छ । हजारौं किलोमिटर टाढा रहेको उत्तर अमेरिकी मुलुक मेक्सिकोको अवैतनिक वाणिज्यदूतको जिम्मेवारी उनले निर्वाह गरेको पनि १४ वर्ष नाघिसकेको छ । ४२ वर्षेखि अविराम पर्यटन व्यवसायमा लागेका उनले साङ्ग्रिला टूर्सलाई अध्यक्षका रूपमा नेतृत्व दिइरहेका छन् । नेपाल भ्रमणमा आएका जापानी नागरिक ताकासी मियाहाराको सङ्गतले पर्यटन क्षेत्रमा लागेको बताउने उनी द्वन्द्वकालमा पनि पर्यटक आएकाले राजनीतिक अस्थिरताले केही फरक नपार्ने विचार व्यक्त गर्छन् । मियाहारा अहिले नेपालको अङ्गीकृत नागरिक भइसकेका छन् । 'राजनीतिक विवादले केही हुँदैन, पर्यटक आउँछन् तर मारकाट भने हुनुहुँदैन' बन्द-हडताल भने रोकिनुपर्नेमा जोड दिँदै उनी भन्छन् । रारा, जोमसोम, मुस्ताङ, लाङटाङ, खुम्बु, खप्तडजस्ता पर्यकीय स्थलको पूर्वाधार विकास नगरी पर्यटक ल्याउने कुरा उनलाई कोरा कल्पनाबाहेक केही लाग्दैन । '१८-२२ सिटे हवाईजहाजबाट पर्यटक ल्याएर हुन्छ ?' सडकमार्ग निर्माण पर्यटन प्रवर्द्धनको पूर्वशर्त भएको उल्लेख गर्दै उनी प्रतिप्रश्न गर्छन् । विश्वका अधिकांश मुलुक डुलेका उनी नेपालको जस्तो वेशभूषा, संस्कृति र भौगोलिक बनोट अन्यत्र कहीँ नभएकाले पर्यटक तान्न कुनै समस्या नभएको उल्लेख गर्छन् ।
सप्तरीका रैथाने पोखरेलका पुर्खाले ६ हजार बिगाहा जग्गा बिर्तामा पाएका थिए । पुस्तान्तरसँगै त्यो खुम्चिँदै गयो । उनको पुस्तामा आइपुग्दा त्यो १ सय बिगाहाको हाराहारीमा सीमित भयो । उनको भागमा परेको १४ बिगाहा सप्तकोशीकिनार बनेको छ भने केही कोशी ब्यारेजमा परेको उनी बताउँछन् । नून, चिनी र चुरोटको ठेक्का गर्ने उनका पिताबाट उनले व्यवसाय सञ्चालनका धेरै उपाय सिकिसकेका थिए- लखनउ विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गर्नुअघि नै । त्यसबेला रू. २ लाख ५० हजारमा थालिएको व्यवसायबाट १० करोडको सम्पत्ति सिर्जना हुनु उनको निरन्तर मिहिनेको प्रतिफल हो । १ सय कर्मचारीलाई उनी नेतृत्वको कम्पनीले रोजगारी दिएको छ । सेवामूलक व्यवसाय भएकाले कर्मचारीलाई हरतरहले खुशी पार्ने र राम्रो काम गर्न प्रेरणा दिने उनको बानी छ । सुम्पिएको जिम्मेवारी पूरा नगर्नेलाई बर्खास्त गर्न पनि उनी पछि पर्दैनन् । दुइ सन्तानका पिता उनी आफूलाई सन्तानले पाल्छन् भन्ने लाग्दैन । भन्छन्- 'मेरा बाले हजुरबालाई पाल्नुभएन, न मैले बुबालाई नै पालेँ ।' बुद्धका उपदेश मान्ने उनी मन्दिर जाँदैनन् । बालिका शिक्षाका लागि रोटरीमार्फत हरेक वर्षउनी रू. १ लाख २२ हजार प्रदान गरिरहन्छन्- संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहको क्रमलाई निरन्तरता दिन ।
उच्च शिक्षा हासिल गर्न चाहने नेपालीलाई मेक्सिको सरकारले वर्षेनि दिँदै आएको दुइ सिट छात्रवृत्ति मान्छे नआएर ल्याप्स हुने गरेकोमा पोखरेललाई नरमाइलो लाग्छ । स्पेनी भाषा परीक्षा उत्तीर्ण गरेकाले त्यहाँको विश्वविद्यालयमा सजिलै छात्रवृत्ति पाउने उनी बताउँछन् । 'मान्छे आए थप सिट पनि ल्याउन सक्छु' अमेरिकातिर मात्र ओइरिनेहरूका कारण मेक्सिको उपेक्षित भएको उनी सुनाउँछन् । अध्ययन र जीवन गुजारा गर्न पुग्ने गरी मेक्सिकोले छात्रवृत्ति दिने गरेको उनको दाबी छ । हालसम्म ८ जनाभन्दा बढी विद्यार्थी उता नगएको उनको अनुभव छ । आर्थिक कूटनीति 'कुरामा मात्र सीमित' भएको उनलाई लाग्छ । र्'गर्न सक्ने धेरै ठाउँ भए पनि व्यक्तिगत स्वार्थ हाबी भएपछि कसको के लाग्छ !' उनी राष्ट्रिय स्वार्थ गौण बन्दै गएको गुनासो गर्छन् । मुलुकको नेतृत्व वर्गमा राष्ट्र विकासको चाहना नदेखिएको र विदेशी शक्तिको पछि लाग्ने प्रवृत्ति बढेकाले आर्थिक सङ्कट गहिरिएको उनको विश्लेषण छ । स्पष्टवक्ता पोखरेल नेतालाई 'नालायक' होइन सत्तामा पुर्याउने मतदातालाई त्यो विशेषणले पुकार्छन् । राष्ट्र निर्माणका लागि जनदबाब अबको अन्तिम विकल्प भएको उनको बुझाइ छ । चीन र भारतले हासिल गरेको आर्थिक प्रगतिबाट नेपालले सिक्नुपर्छ भन्ने उनी बिजुली निकाल्छु भनेर खोलानाला ओगट्नेलाई कारबाही गर्नुपर्ने विचार व्यक्त गर्छन् ।
नेपाल पर्यटन वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य नारामा मात्र सीमित रहने टिप्पणी गर्ने पोखरेल ६ लाखको हाराहारीमा पाहुना आउनेमा विश्वस्त छन् । जहाजविना त्यति धेरै पर्यटक ल्याउने योजना उनलाई महत्त्वाकाङ्क्षी लाग्छ । यद्यपि उनी सकारात्मक सोचका धनी हुन् । हिमालयन रेस्क्यु एशोशिएसन अफ नेपालका उपाध्यक्ष डीबी कोइराला पोखरेललाई निडर व्यक्तिका रूपमा चित्रित गर्छन् । 'सत्यको पक्षमा सतिसालझैं ठिङ्ग उभिने साहस उहाँमा छ' पोखरेलमा कुनै अवगुण नदेखेका कोइराला भन्छन् । उनका अनुसार प्राप्त जिम्मेवारी जस्तोसुकै परिस्थितमा पनि पूरा गर्ने पोखरेलको विशेषता हो ।