शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 28, 2012
  

१ लाख १३ हजार शीर्षकका पुस्तकको व्यवसाय

करीब ६ सय लेखक र सम्पादक संलग्न रहेको यो संस्थालाई एकता युनिभर्सिटीका रुपमा विकास गर्ने तिमोथी को योजना छ । ४८ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको एकाताको सञ्जाल अहिले विश्वव्यापी बनेको छ ।



 

रामचन्द्र तिमोथी
कार्यकारी निर्देशक,
एकता बूक्स डिष्ट्रिब्युटर्स



दुःखमा पनि सधैं शान्त रहने र धैर्यवान् मानिसका लागि सफलता प्राप्त गर्न कुनै मुश्किल पर्दैन भन्ने एउटा उदाहरण हुन् रामचन्द्र तिमोथी । शुरूका दिनमा काठमाडौंका सडकमा साइकलमा पुस्तक ओसारपसार गर्ने तिमोथी निरन्तरको साधनाले प्राप्त गरेको सफलताबाट अहिले निकै सन्तुष्ट छन् । त्यसो त तिमोथीको सफलता अहिले थुप्रै मानिसका लागि प्रेरणासमेत बनेको छ । सडकबाट शुरू भएको उनको व्यवसाय अहिले एकता बूक्स डिष्ट्रिब्युटर्सका नामले परिचित छ । उनी त्यसका कार्यकारी निर्देशक हुन् । प्रत्येक सफलतामा कसै न कसैको साथ अवश्य रहेको हुन्छ । तिमोथी आफू सफल हुनुमा मामाहरू डा. एडन र प्राडा.राजेन्द्रकुमार रोङगोङको प्रेरणा प्रमुख रहेको बताउँछन् । ‘जस्तोसुकै सङ्कटमा पनि अधैर्य र अस्थिरता हटाएर धीर बन्न सक्ने मानिस सधैं सफल हुन्छ,’ उनले भने ।

बाह्र वर्षको कलिलो उमेरमा नै बुबाको मृत्यु भएपछि तिमोथीको मामाहरूको रेखदेखमा हुर्किए । भक्तपुरको कटुञ्जेमा २०१६ सालमा जन्मिएका तिमोथीको जापानमा गएर मेकानिकल इञ्जिनीयरिङ पढ्ने चाहना थियो । ‘शिक्षाप्रेमी मामाहरू एडन र राजेन्द्रकुमारको प्रेरणाले म पुस्तक व्यवसायमा संलग्न भएँ,’ उनी भन्छन् । उनले व्यवसाय शुरू गर्दा केही वर्ष अनगिन्ती समस्या झेल्न बाध्य हुनुपयो । तर, उनी कहिल्यै समस्यासँग आत्तिएर भागेनन् । ‘जतिजति समस्या आउँथे मलाई त्यतित्यति नयाँ कुरा सिक्ने मौका प्राप्त भएजस्तो लाग्थ्यो । र, म झन् बढी आत्मविश्वासका साथ काम गर्थें,’ उनी सम्झन्छन् । थुप्रै समस्या एकैचोटी आउँदा भने कहिलेकाहीँ उनले भगवान् नपुकारेका पनि होइनन् । रत्न पुस्तक भण्डारका शिव श्रेष्ठ र एजुकेशन इण्टरप्राइजेजका मोहन श्रेष्ठले दिएको हौसलाको स्मरण उनलाई अझै ताजा छ । ‘त्यतिबेला म सन्देशगृह भेडासिंह र रत्न पुस्तक भण्डार भोटाहिटीबाट पुस्तक र पत्रपत्रिका साइकलमा लगेर काठमाडौं र पाटनका विभिन्न स्थानमा बेच्ने गर्थें । त्यस काममा मलाई शिव र मोहन श्रेष्ठले निरन्तर उत्प्रेरणा दिने गर्नुहुन्थ्यो,’ उनले धुमील भइसकेको इतिहास सम्झिए ।

त्यो २०३५/३६ सालतिरको कुरा थियो । २०२९ सालतिरै विराटनगरमा हिमाली प्रकाशन सञ्चालन गरेका उनका मामा एडनले २०३५÷३६ सालतिर पाटनमै ‘पाटन बुक्स हाउस’ शुरू गरेका थिए । तिमोथी मामाको सहयोगीका रूपमा काम गर्थे । ‘व्यवसायका बारेमा थुप्रै कुरा सिक्ने मौका मलाई त्यहीँबाट प्राप्त भयो,’ उनी भन्छन् । ०३६ सालमा पाटन बूक्स हाउस बन्द भएपछि एडनले ०३८ सालमा पुनः पाटनमा नै हिसप बूक्स हाउस खोलेका थिए । त्यो बेलासम्म तिमोथीले आपूmलाई व्यवसायमा दक्ष बनाइसकेका थिए । त्यसपछिका दिनमा व्यवसायमा उनको संलग्नता विस्तारै बढ्दै गयो । २०४० सालतिर थापाथलीमा रहेको गेहेन्द्र शमशेरको घरमा एकता बूक्सको स्थापना हुँदा तिमोथी त्यसका हर्ताकर्ता थिए । त्यही एकता बूक्स हो, जसले आफ्नो स्थापनाको करीब २८ वर्षमा नसोचेको सफलता प्राप्त गर्न सक्षम भएको छ । करीब १ लाख ३२ हजार शीर्षकका पुस्तकको प्रकाशन तथा वितरण गर्दै आएको एकताले अहिलेसम्म नेपालका मात्र झण्डै ३ सय पुस्तक प्रकाशन गरिसकेको छ । ‘अक्सफोर्ड, क्याम्ब्रिज, पियर्सनलगायत बहुराष्ट्रिय कम्पनीका पुस्तक नेपालमा वितरण गर्ने जिम्मा पनि एकताले लिएको छ,’उनले भने ।

विद्यालय तहका पाठ्यपुस्तक र सन्दर्भ पुस्तकको प्रकाशनको शुरूआत पनि एकताले नै गरेको दाबी गर्छन् तिमोथी । श्रीमती सलोमी लेप्चाको सहयोगले व्यवसायमा अझ बढी सफलता पाएको तिमोथी बताउँछन् । उनी ०५५ सालमा लेप्चासँग प्रणयसूत्रमा बाँधिएका हुन् । उनका अहिले तीन छोरी छन् । श्रीमती लेप्चा एकताकी निर्देशक हुन् । ‘करीब ६ सय लेखक र सम्पादक संलग्न रहेको यो संस्थालाई एकता युनिभर्सिटीका रूपमा विकास गर्ने योजना छ,’ उनले भने । ४८ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको एकताको सञ्जाल अहिले विश्वव्यापी बनेको छ । सरकारले व्यवसायीलाई सकारात्मक सहयोग गर्न नसकेकोमा उनलाई चिन्ता छ । अनावश्यक दुःख दिएर सरकारले ६ वर्षसम्म बैङ्क खाता रोक्का गर्दा उनले थुप्रै झमेलाको सामना गर्नुपरेको थियो । ‘प्रशासनमा मौलाएको भ्रष्ट प्रवृत्तिले देशको विकास हुन नसकेको हो,’ उनी आक्रोश पोख्छन् ।