शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सेतो व्यवसाय
राजनराज पन्त
सञ्चालक
कामधेनु गाईफार्म


२०५२ सालमा केही सङ्ख्यामा गाई पाल्न शुरू गर्दा उनले शायद सोचेका थिएनन् होला- कुनै दिन आफू नेपालकै नमूना व्यावसायिक गाईपालक किसान बन्छु भनेर । मेहनतमा विश्वास गर्ने राजनराज पन्तले शुरूमा गोरखाको च्याङ्ली मैदानमा केही रोपनी जग्गा फलफूलखेतीका लागि भनी खरीद गरेका थिए । मेहनत गरे कुनै पनि व्यवसायमा असफलता चाख्नुपर्दैन भन्ने सिद्धान्त बोकेका पन्तले शुरू गरेको फलफूल खेती नसप्रे पनि उनमा केही गरेर देखाउने चाहना जीवित त नै थियो । फलफूलखेतीले मात्र राम्रो प्रतिफल नदिने देखेपछि उनले फलफूलखेतीसँगै गाई पाल्ने विचार गरे । 'ममा आत्मविश्वास थियो, म केही गर्न सक्छु भन्ने,' उनले भने । यही आत्मविश्वासले उनी अहिले नेपालकै नमूना व्यावसायिक गाईपालक कृषक बन्न सफल भएका छन् । फार्मको नाम उनले 'कामधेनु' राखेका छन् ।  

सातओटा गाईबाट यस व्यवसायमा हात हालेका उनीसँग अहिले १ सय ६५ ओटा गाई छन् । नेपालमा केही गर्ने अवसर छैन भन्ने धेरैको निराशालाई चिर्दै उनले लगानीका लागि उत्साहित गर्ने काम गरेका छन् । कामधेनुका मालिक पन्तले रू. १२ लाखजति लगानी गरेर शुरू गरेको गाईपालन व्यवसायको पूँजी अहिले रू. २८ करोड पुगेको छ । राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका उनले आफ्नो अध्ययनभन्दा फरक क्षेत्रमा हात हालेर पनि राम्रो सफलता पाएका छन् । कडा परिश्रम र लगनशीलता रहे कमजोर भइँदैन भन्ने मान्यता छ उनको । फार्ममा रहेका १ सय ६५ ओटा गाईमा स्वास्थ्य समस्या देखिए आफै उपचार गर्छन् । त्यति मात्र होइन, नयाँ प्रजनन र कृत्रिम गर्भाधानलगायतका प्रविधिमा पनि उनी अभ्यस्त भइसके । कुनै पनि व्यवसायमा लाग्ने हो भने त्यसका लागि चाहिने आधारभूत ज्ञान आवश्यक रहेको उनको बुझाइ छ । 'त्यसो गर्दा खर्च कम हुन्छ र दक्षता बढ्छ,' उनी भन्छन् । साथै, परनिर्भरतासमेत हट्ने उनी बताउँछन् । उनले सञ्चालन गरिरहेको गाईफार्म ३ सय ५० रोपनीमा फैलिएको छ ।

पन्तलाई उनले सञ्चालन गरेको यस व्यवसायमा दुई छोरा राजीव र राजकुमारले साथ दिएका छन् । 'बुबामा आत्मविश्वास र लगनशीलता छ, त्यसबाट म निकै प्रभावित छु', जेठा छोरा राजीवले भने । व्यवस्थापनमा स्नातक गरेका राजीव पिताले शुरू गरेको व्यवसायलाई निरन्तर साथ दिने बताउँछन् । बुबालाई आदर्श मान्ने उनी अरू युवालाई पिताको जस्तै पथमा लाग्न सुझाव दिन्छन् ।

 फार्ममा गाईको सङ्ख्यालाई अझ वृद्धि गर्ने सोच बनाएका छन् राजनराजले । २ सयसम्म गाई पाल्ने सोच रहेको उनले बताए । गाई पाल्न सजिलो होस् भनेर सबै जग्गामा घाँसखेती गरेका छन् । किनेको पराल, चोकर आदि खुवाएर गाई पाल्दा लागत बढी पर्ने भएकाले प्रशस्त घाँसखेती गरेर मात्र पशुपालन गर्न सुझाव दिने उनले बारीमा १९ जातका डालेघाँस लगाएका छन् । वर्षमा १ महीना घाँस कम हुने भए पनि अन्य समयमा गाईलाई घाँस नै खुवाउने गरेको उनी बताउँछन् । कुनै पनि व्यवसाय सञ्चालन गर्नुपूर्व योजना बनाएर अघि बढे असफल नभइने पन्तको बुझाइ छ । रोजगारी नपाएको भन्दै युवाशक्ति विदेश पलायन भइरहेका बेला नेपालमै प्रशस्त अवसर रहेको तर्क गर्छन् उनी । केही वर्षअघिसम्म दैनिक १० हजारभन्दा बढी लिटर दूध भारत निर्यात गर्ने नेपाल अहिले त्यसको ५ गुणा बढी दूध आयात गर्ने अवस्थामा पुगिसकेको छ । यहीँ व्यावसायिक पशुपालन गर्ने हो भने मासिक २० हजार कमाउन समस्या नभएको उनी बताउँछन् । 'डेढ लाख लगानीमा पाँचओटा गाई पाल्ने हो भने यहीँ विदेश छ, तर त्यसका लागि राज्यले पनि सहयोग गर्नु आवश्यक छ', पन्तले भने ।

नेपालकै ठूलो एकमात्र गाईफार्मका रूपमा चिनिएको उनको फार्ममा व्यावसायिक पशुपालन गर्ने र गर्न चाहनेहरूको दैनिकजसो भीड लाग्ने गरेको छ । सरकारीस्तरमा कुनै पनि व्यावसायिक गाईफार्म नभएकाले आफूले सरकारले गर्नुपर्ने काम गरिरहेको उनी बताउँछन् । राज्यले लगानी गरेर पशुपालन फार्म स्थापना गरी नयाँ जातका पशु उत्पादन र किसानलाई वितरण गर्ने हो भने पशुपालनमा जनताको आकर्षण बढ्ने उनको विश्वास छ ।

Admin 2011-06-29