''प्रभुलाई आभार'' - अजयसिंह कार्की
अध्यक्ष तथा प्रबन्ध निर्देशक
प्रसिद ग्रूप अफ कम्पनिज्
उनका पितापुर्खाको थातथलो दोलखा हो । चिकित्साशास्त्र अध्ययनको सिलसिलामा भारत पुगेका बाजेले उतै घरजम गरेकाले उनका पिताले पनि लामो समयसम्म हिन्दुस्तानमा नै बिताए । भारतमा नै स्थापित भएका उनका जनकलाई उताभन्दा यता प्रीतिकर लाग्यो । त्यसैले उनी काठमाडौं आए । उनको जन्म ४४ वर्षअघि यहीँ भए पनि विविधकारणले उनी उतै हुर्किए । साउँ अक्षरदेखि स्नातकोत्तरसम्मको शिक्षा पनि उनले भारतबाटै पूरा गरे । नयाँदिल्लीस्थित इण्टरनेशनल म्यानेजमेण्ट इन्षिटच्युटबाट स्नातकोत्तर गरेका प्रसिद ग्रूप अफ कम्पनिज्का अध्यक्ष तथा प्रबन्ध निर्देशक अजयसिंह कार्की झण्डै ३ दशकदेखि सक्रिय व्यावसायिक जीवन व्यतीत गरिरहेका छन् । १८ वर्षको अल्लारे उमेरमा पितृवात्सल्यबाट वञ्चित उनले काम र पढाइलाई सँगसँगै अघि बढाएका हुन् । विद्यार्थी जीवनमा उनले १२ घण्टाभन्दा बढी काम गरे- परिवारको भरणपोषण र आफ्नो 'करिअर'बनाउन ।
दिल्ली विश्वविद्यालयबाट स्नातकोपाधि गर्नेबित्तिकै भारतको प्रख्यात औद्योगिक समूह श्रीराम ग्रूप अफ कम्पनिज्मा 'सिनियर एग्ज्युकेटिभ'का रूपमा जागीरे जीवन शुरू गरेका उनले त्यहाँ ५ वर्ष बिताए र त्यही अवधिमा व्यवस्थापनमा 'पोष्ट ग्य्राजुएट ड्रि्री' पनि हात पारे । 'दुखम् पश्चात् सुखम् भवेत्'अर्थात् दु:खपछि सुख हुने मान्यता उनको जीवनमा लागू भएको छ । तर, उनी त्यो सुखका निम्ति अहिले पनि १५ घण्टा नित्य काम गर्छन् । लगनशीलता, इमानदारी र प्रतिबद्धता उनको व्यवस्थापन मन्त्र हो र सफलता सूत्र पनि । अवसरको भरपूर उपयोग एवम् कठोर परिश्रमबाट सफलताको भर्याङ चढेका हुन् उनी ।
एचसीएल-एचपी ग्रूपजस्ता अन्तरराष्ट्रिय कम्पनीका साथै युरेका फोर्ब्स लिमिटेडजस्ता संयुक्त लगानीका प्रतिष्ठित भारतीय कम्पनीमा काम गरेको अनुभव र शीपलाई उजिल्याउने उद्देश्यले उनले उद्यमशीलता अँगालेका हुन् । करीब १३ वर्षअघि आफ्ना सुपुत्रद्वय प्रशान्त र सिध्दार्थका नामका पहिला दुई अक्षर सापट लिएर 'प्रसिद ग्रूप अफ कम्पनिज्' नामकरण गरेको उनी उल्लेख गर्छन् । उनको कम्पनीअन्तर्गत मीरा इण्टरनेशनल, प्रसिद प्रिण्ट हाउस, प्रसिद इलेक्ट्रोनिक्स, प्रसिद इण्टरनेशनल कम्पनी र प्रसिद पश्मिना उद्योग सञ्चालनमा छन् । जस्तोसुकै चुनौती पनि स्वीकार गर्ने बानीका कारण नाजुक अवस्थामा रहेको रगमार्क फाउण्डेशनको नेपाल कार्यालयलाई दिगो बनाउनमा उनको योगदान अतुलनीय छ । कामप्रतिको उनको समर्पण देखेर सञ्चालक परिषद्ले एक दशकसम्म उनको सेवा लिएको थियो । कार्यकारी निर्देशक भएर रगमार्कलाई स्थायित्व प्रदान गर्न आफूले निर्वाह गरेको भूमिकालाई जीवनको उपलब्धि मान्छन् उनी ।
अजयले नेतृत्व गरेका कम्पनीमा हाल १ सय कर्मचारी कार्यरत छन् । उनीहरूलाई स्वामित्वबोधसहितको जिम्मेवारी दिएर कार्यसम्पादन गर्ने उनको बानी छ । कामलाई केन्द्रमा राखेर त्यसमा नै आफूलाई केन्द्रित गरिरहन अभिप्रेरित गर्छन् उनी कर्मचारीलाई । हरेक काम योजना बनाएर गर्नु उनको विशेषता हो । कम्पनीको रणनीतिक प्रारूप बनाउन व्यस्त छन् उनी अहिले । समस्याको पहिचान र त्यसलाई समयमै सम्बोधन गर्नु श्रेयस्कर हुने उनको बुझाइ छ । मान्छेको व्यवहार र अनुहारबाट पनि सही र गलत व्यक्ति खुटयाउने खुबी छ उनमा । नेतृत्वमा बस्नेले दृष्टान्त बन्नुपर्ने उनको मत छ । सबैसँग समान व्यवहार गर्छन् उनी र अनुसन्धान एवम् परिणाममुखी काम गर्न सुझाव दिइरहन्छन् । अजयको मेहनतबाट अति प्रभावित छन् उनकी जीवनसंगिनी सुधा । अजयको कठोर परिश्रम र विनयशीलताले उनका सबै अवगुण छायामा पारेको सुधाको ठम्याइ छ ।
आफ्नो कम्पनीलाई जनमुखी भन्छन्, अजय । र, कम्पनीको सफलताको श्रेय सबै कर्मचारीलाई दिन्छन् । समूहगत कार्यपद्धतिमा विश्वास गर्ने उनलाई छोटो समयमा धेरै गरेको महसूस भएको छ । त्यो सफलताको पछाडि जीवनसाथी सुधाको सहयोगको सराहना गरेर थाक्दैनन् उनी । पहिलोपटक व्यापार व्यवसायमा हात हालेका उनले आजको अवस्थामा पुग्ने कल्पना पनि गरेका थिएनन् । 'परिवारका कसैले कहिल्यै नगरेको व्यापार अहिलेको स्थितिमा पुग्ला भन्ने लागेको थिएन' ईश्वरको आशिर्वादमा त्यो सम्भव भएको उल्लेख गर्छन् ।
सृष्टि सञ्चालनईश्वरबाट भएको उनको बुझाइ छ । हिन्दूधर्मका अनुयायी उनले साईबाबालाई गुरु मानेका छन् । बाबाको स्नेह र आशर्ीवादबाट पनि विमुख हुनुपरेकोमा खिन्न उनी कर्मलाई नै पूजा मानेर अघि बढ्ने बताउँछन् । मन्दिर जाँदा उनलाई आनन्दको अनुभूति हुन्छ । देशमा पारिवारिक व्यवसायको बाहुल्य भए पनि क्रमश: संस्थागत संस्कार विकास भएको उनको बुझाइ छ । भविष्यप्रति आशावादी उनी सधंै सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिन्छन् । उपभोक्तालाई गुणस्तरीय उत्पादन उपयोग गर्न अनुरोध गर्ने उनलाई उपभोक्ता मञ्च भने आम उपभोक्ताको हकअधिकार संरक्षणमा सशक्त नबनेको लाग्छ ।
Admin 2011-04-28