परिश्रम धर्म र भाग्य
मदन शर्मा
अध्यक्ष
कास्की फाइनान्स, पोखरा
मानिस पेशामा प्रतिबद्ध, व्यवहारमा इमानदार र कामप्रति लगनशील हुनुपर्छ भन्छन्, मदन शर्मा । यही आदर्शले नै आफू व्यवसायमा सफल भइरहेको ठान्छन् उनी । पोखरामा पर्यटन उद्योगबाट आरम्भ भएको शर्माको व्यावसायिक यात्रा वित्तीय संस्था सञ्चालनसम्म आइपुगेको छ । उनी रिसोर्ट, बैङ्किङ र शिक्षा सबै क्षेत्रमा सफल भएका छन् । २९ वर्षको व्यावसायिक यात्रा स्मरण गर्दै शर्मा भन्छन्, 'आफूले फुलाएको व्यवसायले असीम सन्तुष्टि दिँदो रहेछ ।''व्यवसायमा नयाँ अभ्यास हुनुपर्छ' भन्ने उनले १५ वर्षको उमेरदेखि नै पर्यटन व्यवसायमा हात हालेका हुन् । २०३८ सालमा एसएलसी दिएपछि फुर्सदको समयमा उनलाई घरमै बसिरहन मन लागेन । राजधानीको बत्तीसपुतलीमा जन्मेका शर्मा 'केही गर्नुपर्छ' भन्दै व्यवसाय गर्न पोखरातिर लागेको बताउँछन् । घरबाट रू.२ हजार लिएर व्यवसाय आरम्भ गरेका उनी निरन्तरको मेहनत र परिश्रमले अहिले करोडौंको मालिक भएका छन् । पोखराको लेकसाइडमा अन्नपूर्ण रिजर्भेसन ट्राभल स्थापनबाट शुरू भएको उनको व्यवसाय अहिले बहुआयामिक छ । उनको स्वामित्वमा लेकसाइडमा वरदान रिसोर्ट एण्ड अपार्टमेण्ट होटेल छ । वनसम्बन्धी अध्ययन हुने एकमात्र निजीक्षेत्रले प्रवर्द्धन गरेको शैक्षिक संस्था काठमाडांै वन विज्ञान क्याम्पसमा पनि उनको लगानी छ । पछिल्लो समय कास्की फाइनान्स स्थापना गरेर वित्तीय क्षेत्रमा पनि आफूलाई संलग्न बनाएका छन् उनले ।
कास्की र तनहुँलाई मात्रै कार्यक्षेत्र बनाएको उनको संस्थाले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको शर्मा बताउँछन् । ११ हजार सेवाग्राहीमाझ पुगेको यस संस्थाको केन्द्रीय कार्यालय पोखराको न्यूरोडमा छ । पोखराकै अमरसिंहचोक, पार्दी-विरौटा र दमौलीमा फाइनान्सका शाखा छन् । संस्थामा ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 'सेवाग्राहीको विश्वास जित्दै गएका छौं,' उनी भन्छन्, 'यो सफलताले उत्साहित छु ।'हरेक काम पूर्ण जाँगरका साथ गर्नुपर्छ भन्छन्, उनी । काममा अपनत्वबोध नभएसम्म कुनै पनि कार्यमा सफल नभइने उनको तर्क छ । पारदर्शिता र इमानदारी उनका व्यवस्थापन मन्त्र हुन् । त्यसैको परिणाम हो- संस्थाले चारवर्ष यात्रा सफलतापूर्वक पार गरेको । वित्तीय संस्थासामु खतराको सङ्केत देखिएका बेला पनि गत आव मा आफ्नो संस्थाले ३ करोड २ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताउँछन् शर्मा ।
धेरै संस्थालाई नियमन गर्नुपर्छ, त्यसैले समयतालिका बनाएर काम गर्छन् उनी । बिहान १० देखि ३ बजेसम्मको समय उनी वरदानलाई दिन्छन् । त्यसपछिको बाँकी समय फाइनान्सलाई । संस्थाका कर्मचारीको भावनालाई निकै ख्याल गर्छन् । 'कर्मचारी हाम्रा सम्पत्ति हुन्,' उनी भन्छन्, 'तिनलाई प्रोत्साहन गरिएन भने संस्थाको प्रगति सम्भव छैन ।' कुनै महत्त्वपूर्ण निर्णयलिँदा कर्मचारीलाई विश्वासमा लिन्छन् ।संस्थाको वार्षिकोत्सव सामाजिक काम गरी मनाउँछन् । रक्तदान, वृक्षरोपण, युवा तथा वृद्धलाई अभिनन्दन, चन्दा, सहयोगजस्ता सामाजिक सेवामा फाइनान्स पोखरामा अग्रणी छ । फाइनान्सको हालको अधिकृत पूँजी रू.४० करोड, जारी पूँजी रु. २१ करोड र चुक्ता पूँजी साढे रू.२० करोड रहेको छ । आगामी साधारणसभाबाट चुक्ता पूँजी रू.२४ करोड पुर्याउने शर्माको योजना छ । हालैमात्र पाँचौं वर्षपुगेको अवसरमा फाइनान्सले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
आइतवारका देवता सूर्यनारायणप्रति अगाध आस्था राख्छन् उनी । त्यसैले कुनै नयाँ काम शुरू गर्दा आइतवार नै पर्खिन्छन् । बिहान ५ बजे उठ्छन् । जगिङ, साइक्लिङ हुँदै ब्याडमिण्टन खेलेर एक घण्टा पूजापाठमा गर्छन् । उनी जीवनलाई सार्थक बनाउन '५० प्रतिशत परिश्रम, २० प्रतिशत धर्म र वास्तु, २० प्रतिशत पितृदेवता र १० प्रतिशत भाग्यमा विश्वास गर्छु,' भन्छन् । कुनै पनि कुराको अम्मल गर्दिनँ भन्छन् उनी । सामाजिक उत्तरदायित्व नै सेवा ठान्ने शर्माले ललितपुरको नाइटिङ्गेल र पोखराको कन्या क्याम्पसमा आफ्नै खर्चमा आधा दर्जन असहाय बालबालिका पढाउँदै आएका छन् । हाल ४४ औं वसन्तमा हिँड्दै गरेका शर्मा आफ्नो जन्मदिन कहिले पशुपतिमा त कहिले पोखरामा करीब २ सय असहाय र वृद्धवृद्धालाई भोजन गराएर मनाउँछन् ।
Admin