''सपना व्यवसाय विस्तारको'' - विनोद सगतानी
अध्यक्ष, सगतानी एग्जिम प्रालि
राजधानीको बाफल टोलका 'मै हुँ' भन्ने 'दादा'हरूलाई तह लगाएका छन् उनले बुद्धिको विवेकपूर्ण व्यवस्थापन गरेर । चन्दा असुलीका लागि आएका हुन् वा धम्क्याएर रकम उठाउने ध्येयले उनको ओजपूर्ण 'काउन्सिलिङ'पछि नतमस्तक भएर फर्कन्छन्- लाठीमुङ्ग्रीमा विश्वास गर्नेहरू । १ बीस १६ वयमा हिँडिरहेका उनी ८० वर्षको ज्येष्ठ नागरिकले झैँ पाका कुरा र व्यवहार गर्छन् । वास्तवमा कुरा कम गर्ने उनको बानी छ । 'मुलुकको भविष्य अन्धकारतर्फधकेलिएको काम कम कुरा बढी गरेर हो' राष्ट्र निर्माणको ठोस नीति नबन्दा नैराश्यले नयाँ नेपाल निर्माणको अभियानलाई प्रभावित पारेको उनको ठम्याइ छ । सगतानी एग्जिम प्राइभेट लिमिटेडका अध्यक्ष विनोद सगतानी आफ्नो कम राष्ट्रको भलो ज्यादा सोच्छन् । भन्छन्, 'एउटा राष्ट्रवादीले व्यवसायमा पनि राष्ट्रियताको प्रवर्द्धन चाहन्छ ।' आर्थिक उन्नयनको नीति निर्माण र त्यसको कार्यान्वयनको जिम्मेवारी युवा वर्गलाई दिनुपर्ने उनको अभिमत छ । स्थिर सरकार, असुरक्षा र विद्युत् कटौतीभन्दा पनि औद्योगिक विकासको प्रस्ट खाकाको अपरिहार्यता उनले देखेका छन् । उद्योगमैत्री ऐन, नियम र नीति भए निजीक्षेत्रले विकास-निर्माणका सबै क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ठोकुवा गर्छन् उनी । र, सँगै 'पब्लिक प्राइभेट पार्टनरशिप'को पैरवी पनि गर्छन् ।
विद्यमान परीक्षाप्रणाली एवम् पठनपाठनको पद्धत्रि्रति असहमत विनोदले प्रवेशिका परीक्षा पनि उत्तीर्ण गरेका छैनन् । यद्यपि उनको व्यापार, व्यवसाय, व्यवस्थापन र भाषाको ज्ञान कुनै एमबीए गरेको सीईओको भन्दा कम छैन । धाराप्रवाह अङ्ग्रेजी बोलेर अङ्ग्रेजजनको पितृ बुझाइदिन सक्षम छ उनको स्वाध्यायनको अपरिमेय प्रज्ञासागर । बिल गेट्स र धीरुभाइ अम्बानीले पनि उच्च शिक्षा हासिल नगरेको दृष्टान्त दिन्छन् उनी । व्यावहारिक शिक्षामा जोड दिने उनलाई अङ्क भन्दा पनि 'ग्रेड' प्रणाली उत्तम लाग्छ । 'हाम्रो शैक्षिक पद्धतिले किताबको रोज होइन, बगैंचाको गुलाफ चिनाउनुपर्छ' मौजुदा अध्ययनअध्यापन विधिप्रति कटाक्ष गर्छन् । पढाइ, पैसा, पद र प्रतिष्ठा क्षणिक लाग्छन् उनलाई । उनको विचारमा आत्मसन्तुष्टि सबै चिज हो । तर, त्यो प्रगतिको बाधक भएकाले कर्मबाट विमुख हुन नहुने उनको मान्यता छ ।
सबैका विचार सुन्छन् विनोद र आफ्नो हृदयको आदेश मान्छन् । स्पष्टवक्ता उनलाई परिवारका सदस्यले मात्र होइन, सङ्गातिहरूले पनि पृथक् प्राणीका रूपमा लिन्छन्- सम्पन्न व्यापारिक परिवारका व्यक्ति बोरा बोक्न विदेशिएकोमा । १६ वर्षअघि रू. ५ सय लिएर गुजरातको सुरत पुगेका उनले भरिया भएर पनि काम गरे । जीवनका कठिनाइ र कार्यानुभवका लागि भारी बोकेको सगर्व सुनाउन पछि पर्दैनन् उनी । सबैसँग मैत्रीपूर्ण व्यवहार गर्ने उनको बानी छ । मातहतका कर्मचारीसँग पनि फरक रूपमा प्रस्तुत नहुने उनको विशेषता हो । सम्भव भएसम्म उनीहरूको आवश्यकता पूरा गरेर अभिभावकीय जिम्मेवारीसमेत उनी निर्वाह गर्छन् । पैसाले मात्र कर्मचारीमा उत्प्रेरणा जगाउँछ भन्ने मान्यतासँग उनको असहमति छ । आफ्नो कम्पनीको उद्देश्य, लक्ष्य र विचारसँग सामञ्जस्य कायम गर्न नसक्नेसँग काम गर्न उनलाई मन लाग्दैन ।
एघार वर्षभयो विनोदले व्यवसाय थालेको । र, खुशीछन् आजपर्यन्तको प्रगतिबाट । आफ्नो मूल्याङ्कन आफै नगर्ने उनी आफ्नो इज्जत नै धन हो भन्छन् । गणेश र शिवका भक्त उनलाई धनको घमण्ड गर्नेहरू मूर्ख लाग्छन् । जीवन धोखा हो उनका लागि । मृत्यु कतिबेला सुटुक्क आउँछ भन्ने चिन्तामा पनि छैनन् उनी । आत्मशान्तिका निम्ति मन्दिर जाने उनी पशुपति पुगेका बेला आर्यघाटको पनि दर्शन गर्छन् । भन्छन्- जीवनको अन्तिम गन्तव्यको दर्शन गर्दा आफूलाई राम्रो काम गर्न प्रेरणा प्राप्त हुन्छ । होम एप्लाएन्सेज,पेष्ट कण्ट्रोल, मेडिकल डिभिजन र लगेजमा लगानी गरेको छ सगतानी एग्जिमले । आफ्नो संस्थालाई बृहत् बनाउन लागिपरेका विनोद बिजुलीविना विकास नहुने बताउँछन् । विद्युत् उत्पादनलाई नोट छाप्ने कारखानासँग तुलना गर्ने उनी यो क्षेत्र उपेक्षित भएकोमा रुष्ट छन् । संस्थागत उत्तरदायित्वबाट कोही पनि विमुख हुन नहुने उनको मान्यता छ । वृद्धाश्रम र बालबालिकाको शिक्षामा आम्दानीको केही अंश खर्च गरेको छ उनको कम्पनीले ।
Admin 2011-03-29