''ग्राहकको सेरोफेरोमा'' - विवेक बिजुक्छे
महाप्रबन्धक
पूजा इण्टरनेशनल
जर्मनीको मोटर उत्पादक कम्पनी फक्सवागनको आधिकारिक आयातकर्ता तथा विक्रेता पूजा इण्टरनेशनलका महाप्रबन्धक विवेक बिजुक्छे आश्रति अर्थतन्त्रलाई उकास्न औद्योगिक प्रतिष्ठान अपरिहार्य भएको ठान्छन् । ३५ वर्षको उमेरमा महाप्रबन्धक बनेका उनी मेहनत गर्नेहरूका निम्ति उमेरको हदबन्दी नहुने बताउँछन् । इमानदारी र कामप्रतिको समर्पणलाई सफलताको सूत्र मान्छन् उनी । आफ्नो हाकिमभन्दा राम्रो काम गर्ने व्यक्ति त्यही कम्पनीमा रहन सक्दैन भन्ने उनले हाइल्याण्ड डिष्टिलरीबाट जागीरे जीवन प्रारम्भ गरेका हुन् । मदिराको बजार प्रवर्द्धन तथा विक्री उनको प्रमुख कार्यक्षेत्र थियो । मदिराको बजारीकरणबाट शुरू भएको उनको जागीरे जीवन मोटरकारको बजारीकरणमा गतिशील भएको छ । र, नाम चलेको मुलुकको औद्योगिक घराना विशाल ग्रूपमा आफ्नो वृत्तिविकासको पर्याप्त अवसर देखेका छन् उनले ।
प्राइम इण्टरनेशनलको ब्राण्ड अफिसर भएर १ वर्षबिताएपछि उनलाई बजार व्यवस्थापकको अफर आयो मोरङ अटो वर्क्सबाट । यामाहा मोटरसाइकलको बजारीकरणमा २ वर्ष बिताउन नपाउँदै उनी तानिए चौधरी ग्रूपको अटोमोटिभ डिभिजनमा । मोरङ अटो वर्क्सबाट चौधरी ग्रूपमा उनी समान तहमा गएका हुन् । त्यहाँ २ वर्षकाम गरेपछि उनी पदको परवाह नगरी हान्निए युनाइटेड फाइनान्समा । उनले बजार व्यवस्थापकको पद अँगालिरहे जहाँ गए पनि । २ सालभन्दा बढी उनले कतै काम गरेका छैनन् । युनाइटेड फाइनान्समा बिताएको २४ महीना उनका निम्ति फलदायी भयो, जसले उनलाई पुनः मोरङ अटो वर्क्सको मुख्य व्यवस्थापक बनायो । स्कोडा कारको बजार प्रवर्द्धन गरेका उनी विगत ३ वर्षदेखि पूजा इण्टरनेशनलमा छन् ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका विवेक काठमाडौंका रैथाने हुन् । सहकर्मीहरू र मातहतका कर्मचारीसँग साथीहरूको जस्तो व्यवहार गर्छन् उनी । सबैलाई काम गर्ने समान अवसर र वातावरण दिनुपर्ने उनको मान्यता छ । कर्मचारीलाई कार्यालय आउँआऊँ पार्न सक्ने व्यवस्थापकलाई वास्तविक व्यवस्थापक मान्ने उनी आफू पनि त्यसै गर्ने प्रयासमा रहेको बताउँछन् । कार्य सन्तुष्टि र वित्तीय पक्ष उत्प्रेरणाका आधार लाग्छन् उनलाई । भन्छन्, 'कामप्रति असन्तुष्ट व्यक्तिबाट परिणामको अपेक्षा गर्न सकिँदैन । आफू रिजल्टमा विश्वास गर्ने मान्छे परियो, ' भन्छन् उनी । भूलबाट पाठ सिक्नुपर्नेमा जोड दिने उनी कसैको चियोचर्चो वा गल्ती पहिल्याउनेतिर नलाग्न सुझाव दिइरहन्छन् ।
विगत ६ महीनादेखि औपचारिक विक्री थालेको विवेकले नेतृत्व गरेको कम्पनीले ४० लाखभन्दा माथिका १ सय २० ओटा फक्सवागन बेचिसकेको छ । सन् २०११ भित्र ६ सय कार बेच्ने योजना बनाएका छन् उनले । थालेको काममा असफल नभएका उनी त्यो लक्ष्य प्राप्ति हुनेमा पनि ढुक्क छन् । अर्को गन्तव्य निक्र्योल नगरेका उनी 'फाष्ट मुभिङ कञ्जुमर गूड्स'को सेरोफेरामा नै रहने बताउँछन् ।
उद्यमीद्वय अरुणकुमार चौधरी र विष्णु अग्रवालबाट उत्प्रेरणा पाएका विवेक उनीहरूलाई नै आफ्नो आदर्श मान्छन् । समयबाट पनि सिकिन्छ भन्ने उनी त्यसलाई खेरफाल्नुलाई विवेकहीन मान्छन् । कर्ममा विश्वास गर्ने उनी त्यसैलाई सफलता सूत्र भन्छन् । सेवाक्षेत्रमा काम गर्नेको मुस्कानको पनि अधिक महत्त्व देख्ने उनी प्रगतिका लागि कामप्रति समर्पण र प्रतिबद्ध हुनैपर्ने उनको ठम्याइ छ । कथनी र करनीमा तालमेल नमिलाउनेसँग व्यवहार गर्न उनलाई मन लाग्दैन । प्राकृतिक सम्पदाको उपयोगबाट देशलाई आर्थिक रूपमा सबल बनाउन सकिने उनको बुझाइ छ । नेतृत्व वर्गको विवेकशून्यताले मुलुकको विकास बन्धक बनेको उनको विश्लेषण छ । हरिया सागपात र फलफूल निर्यातबाट पनि अर्थतन्त्र उकास्न सकिने उनको बुझाइ छ ।
सीमित व्यापारिक क्षेत्रमा संस्थागत संस्कृति र संस्कारले गति लिए पनि यो पूर्ण व्यावसायिक नभएको विवेकको ठहर छ । धर्म नमान्ने उनी नास्तिक भने होइनन् । बलीप्रथा उनलाई अप्रिय लाग्छ । यस्ता गैरधार्मिक गतिविधि गर्न नहुने उनको मत छ । 'धर्म पनि समयानुसार परिवर्तन हुनुपर्छ' पुरातन सोच र अभ्यास अनुपयुक्त भएको तर्क गर्छन् उनी । आफू बसेको समाजका निम्ति सकेको योगदान गर्नुपर्ने उनको मान्यता छ । उनले स्वास्थ्यसम्बन्धी जागरण कार्यक्रममा सहयोग गर्दै आएका छन् । र, सँगै ग्रामीण भेकका शैक्षिक प्रतिष्ठानमा कम्प्युटर र व्यवस्थापन शिक्षा पनि दिएर सामाजिक उत्तरदायित्व निर्वाह गरेको सगर्व उल्लेख गर्छन् उनी ।
Admin 2011-02-27