शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

राहत र सहकार्य सँगसँगै
रोहिणी थपलिया, कार्यकारी निर्देशक, पद्मश्री समूह
आर्थिक विकास नभए मुलुक वैभवशाली हुन नसक्ने मत व्यक्त गर्ने उनी नेपालमा उपलब्ध प्राकृतिक स्रोत र साधनको अधिकतम् उपयोगमा जोड दिन्छन् । जलस्रोत, कृषि, जडीबुटी, पशुपालन, पर्यटन आर्थिक समृद्धिका वाहक भएकाले तिनको भरपूर सदुपयोग गर्न राज्यस्तरबाट आवश्यक प्रयास हुनुपर्ने उनलाई लाग्छ । प्रतिष्ठित औद्योगिक घराना पद्मश्री समूहका कार्यकारी निर्देशक रोहिणी थपलियाको दूरदर्शी नेताको अभावमा देशको बेहाल भएको विश्लेषण छ । राजनीतिक अस्थिरताका कारण राष्ट्र अन्योलउन्मुख भएको उनको ठम्याइ छ । द्वन्द्वका कारण धर्मराइरहेका उद्योगको पुनःस्थापना, पुनःनिर्माण, पुनःतालिकीकरणलाई अपरिहार्य ठान्ने उनी बेरोजगारीको समस्या समाधानका निम्ति युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रमलाई व्यापक ढङ्गले अघि बढाउनुपर्ने अभिमत व्यक्त गर्छन् ।

चीनका देङ स्याओ पेङ, भारतका मनमोहन सिंह, सिङ्गापुरका लिक्वान र मलेसियाका महाथिरबाट नेपाली नेताले सिक्नुपर्ने विचार व्यक्त गर्ने थपलिया दलीय स्वार्थबाट नेताहरू नउठेसम्म मुलुकको प्रगति नहुने बताउँछन् । आर्थिक विषय ओझेलमा पर्नु उनको दृष्टिमा विडम्बना हो । राष्ट्रको सर्वोपरि हितलाई ध्यान दिन नेतृत्व वर्गलाई अनुरोध गर्ने उनी राज्य र जनताप्रति समर्पित नेताको अभ्युदय नभएको ठोकुवा गर्छन् । 'आर्थिक विकासप्रति प्रतिबद्ध, योजना र दूरदृष्टिको अभाव'ले मुलुक पछौटेपनको शिकार भएको उनको बुझाइ छ । नेताहरूले बाटो देखाउने र जनताले होस्टेमा हैंसे गर्ने हो भने विकासको गति बढाउन सकिने उनको तर्क छ । श्रम कानून, लगानीमैत्री नीति नभएसम्म आर्थिक विकास नहुने र त्यसो नभएसम्म किचलो भइरहन्छ भन्ने उनी गाँस, बास र कपाससहित शिक्षा, स्वास्थ्य, स्वच्छ पेयजलजस्ता मानवीय आवश्यकता प्राप्त भएपछि विकासतिर नै एकाग्र हुन सकिने धारणा व्यक्त गर्छन् ।

थपलियालाई बेरोजगारीको समस्या हल नभई मुलुकमा स्थायी शान्ति र राजनीतिक स्थायित्व असम्भवप्रायः  लाग्छ । उद्योगधन्दाको संरक्षणबाट उद्यमी-व्यवसायी प्रोत्साहित हुने उनको विश्लेषण छ । लगानीमैत्री वातावरण नहुँदा हतोत्साहित भएका उद्यमीहरू राहत एवम् सहयोगका कार्यक्रमबाट लाभान्वित हुने भएकाले सक्दो सहयोग गर्न राज्यले कञ्जुस्याईं गर्न नहुने उनको ठम्याइ छ । ७० प्रतिशत जनता कृषिमा निर्भर भएकाले उनीहरूको उत्थान तथा उत्पादकत्व विकासका लागि सङ्गठित प्रयास हुनुपर्ने उनको विचार छ । कृषिमा आत्मनिर्भर बन्ने, त्यसमा आधारित उद्योगलाई टेवा दिने, किसानलाई सुविधा दिने नीति नियमको पनि उत्तिकै खाँचो उनले महसुस गरेका छन् । वनपैदावारको विकास तथा उपयोगबाट प्रशस्त आर्जन गर्न सकिने अनुभव सँगालेका उनी आधुनिक प्रविधिमा आधारित कृषि प्रणालीलाई पछ्याउनुपर्ने धारणा व्यक्त गर्छन् । उन्नत बीउ, मल, सिँचाइजस्ता आधारभूत सुविधालाई राज्यले बेवास्ता गर्न नहुने उनको विश्लेषण छ । कृषि उत्पादन बढाउन गाउँ-गाउँमा अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिने उनी कृषि उपज निर्यात गरेर पर्याप्त विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भाव्यता दर्शाउँछन् ।

झण्डै आधा शताब्दीअघि पिता बद्रीप्रसाद थपलियाले 'स मिल'बाट थालेको उद्योगलाई रोहिणीको निरन्तर मेहनतले पद्मश्री समूहमा रूपान्तरण गरेको छ । पद्मश्री समूहअर्न्तर्गत जापानी मोटर माज्दा, जर्मनीको प्रसिद्ध डिउज कम्पनीका जेनेरेटरको आधिकारिक विक्रेताका रूपमा उनको नेतृत्वको व्यापारिक प्रतिष्ठान क्रियाशील  छन् । समूहअर्न्तर्गत  पाँचवटा उद्योगमा १ सय ५० भन्दा बढीले रोजगारी पनि पाएका छन् । उद्योगमा गरिएको लगानी सार्वजनिक गर्न आनाकानी गर्ने उनी कर्ममा विश्वास गर्छन् । रोहिणीको पहिचान भने पद्मश्री फर्निचर नै हो । तत्कालीन राजा वीरेन्द्रबाट उत्कृष्ट फर्निचर उत्पादक कम्पनीको लालमोहर पाउनुलाई उनी जीवनको उपलब्धि मान्छन् । राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री कार्यालयलागयत देशका प्रसिद्ध तारे होटलहरूमा सजिएका फर्निचर, कलापूर्ण झ्याल र ढोका पद्मश्रीका विशेष उत्पादन हुन् ।

कम्पनीका कर्मचारीलाई जिम्मेवारी र अधिकार बराबर दिएको भन्ने  थपलिया उनीहरूलाई अविचलित भई काम गर्ने प्रेरणा दिइरहन्छन् । राम्रो काम गर्नेलाई सार्वजनिक रूपमा पुरस्कारसहितको पदोन्नति दिने उनको संस्कार छ । सबै कर्मचारीलाई उनी मित्रवत् व्यवहार गर्छन् । एकअर्कालाई आदर गर्नु उनको विशेषता हो । प्रतिबद्धता पूरा नगर्ने, समयको बेवास्ता गर्ने र अर्कालाई आदर नगर्ने मान्छेसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन ।

सन् १९५२ मा जन्मेका थपलियाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गरेका छन् । कानूनी पृष्ठभूमिकी उनकी जीवनसँगिनी उनलाई व्यवसायमा सघाउँछिन् ।  उपयुक्त उत्पादन र  पूँजी पलायन रोकेर नेपाली जनतालाई समृद्ध बनाउने उनको लक्ष्य छ । संस्थागत संस्कृतिको विकास पूर्णरूपमा हुन नसकेको बताउने उनी बैङ्क तथा वित्तीय संस्था र विदेशी कम्पनीमा मात्र यो अभ्यास सीमित रहेकाले दिक्क छन् । देशको नै संस्थागत संस्कार विकास नभएको परिप्रेक्ष्यमा उद्योगधन्दामा त्यसको अपेक्षा गर्नु तर्कपूर्ण नहुने उनको बुझाइ छ । संस्थागत सामाजिक उत्तरदायित्वप्रति सजग उनी देखावटी रूपमा मात्र यो संस्कार अघि बढिरहेको बताउँछन् । आर्थिक विकास सुदृढ भए सामाजिक उत्तरदायित्वको कार्य पनि फराकिलो हुने थपलियाको निचोड छ । उनको संस्थाले शरीरिक रूपमा अक्षमहरूलाई आर्थिक एवम् भौतिक सहयोग गर्दै आएको छ ।