शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

निरोग आन्दोलन
सुदर्शन बस्नेत
कार्यकारी अध्यक्ष
वेलनेस हस्पिटल


अकुपञ्चर उपचारपद्धतिबाट बिरामीलाई आरोग्य बनाउनु उनको काम हो । प्राकृतिक चिकित्साप्रति बढेको जनविश्वासलाई अझ विस्तार गरेका छन् वेलनेस  हस्पिटलका कार्यकारी निर्देशक सुदर्शन बस्नेतले । ३ वर्षअघि सेवा थालेको वेलनेस अकुपञ्चर, फिजियो थेरापीलगायत प्राकृतिक चिकित्सा चाहनेका लागि प्रमुख गन्तव्य बनेको छ । अन्तरङ्ग र बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको वेलनेसमा दैनिक २५ जना सेवाग्राही आउने गरेका छन् । 'एउटै छानामुनि धेरै सेवा पाइने भएकाले होला बिरामीहरूको भीड लाग्ने गरेको छ' होमियोप्याथिक र एलोप्याथिक उपचार प्रविधिप्रति पनि उत्तिकै विश्वास रहेको सुनाउँदै बस्नेत भन्छन् ।

चौध वर्षअघि अकुपञ्चरमा तीनवर्षको डिप्लोमा गरेका बस्नेत मामाका छोराको प्रेरणाबाट यो पेशामा लागेका हुन् । जापानी सहयोग संस्था (जाइका)ले नेपालमा सञ्चालन गरेको डिप्लोमा कोस पूरा गरेपछि वैकल्पिक उपचार केन्द्र स्थापना गरेका उनले उक्त अस्पतालका अतिरिक्त चैतन्य स्पा पनि सञ्चालन गरेका छन् । २०३३ सालमा दोलखाको क्षमावती गाविसमा जन्मेका उनले त्यहीबाट प्रवेशिका परीक्षा पार गरेका हुन् । टुकीको उज्यालोमा विद्यालय शिक्षा पूरा गरेका उनले ९ कक्षामा पढ्दा पहिलोपटक गाडी देखेका थिए भने आईएस्सी पढ्न काठमाडौं बसेपछि फोन सेटमा हात पुगेको थियो । 'गाउँबाट आएको मान्छे राजधानीमा टिक्न कति संघर्ष गरियो भनीसाध्य छैन' शिक्षा आर्जनकालमा भोगेका आरोहअवरोह वर्णनगर्न हिचकिचाउँदैनन् उनी ।  

सामूहिक एवम् सहभागितामूलक कार्यप्रणालीमा विश्वास गर्छन् बस्नेत । तल्लो तहका कर्मचारीलाई पनि अधिकार र जिम्मेवारी दिएर कार्यसम्पादन गर्ने उनको बानी छ । प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न मातहतका कर्मचारीलाई झकझक्यारहन्छन् उनी । कसैलाई काखापाखा नगर्ने र समान रूपमा अवसर दिन भरमग्दुर प्रयास गर्दै आएका छन् उनले । नैतिकता गुमाएको मान्छेसँग व्यवहार गर्न उनलाई मन लाग्दैन । पूर्ण एकाग्रताविना गरिएको काम सफल नहुने उनको मान्यता छ । त्यसैले 'मन लागे काम गर नत्र आराम गर' भन्छन् उनी कर्मचारीलाई । उनीहरूलाई  सरकारले उपलव्ध गराएजत्तिकैको तलब सुविधा दिएका छन् उनले । समय व्यवस्थापन र त्यसको पालना उनको व्यवस्थापन मन्त्र हो । तीनवर्षको जापानी गुरुहरूको उठबसबाट उनले सिकेको गूढतत्त्व त्यही हो । हरेक व्यक्तिका निम्ति सफलताको सोपान पनि समयको पालना लाग्छ उनलाई ।

मानव संसाधन, पानी र पर्यटनको भरपूर उपयोगबाट आर्थिक क्रान्ति सम्भव हुने बस्नेतको ठम्याइ छ । कृषिको विविधीकरण, वन पैदावार र जडीबुटी प्रशोधन तथा त्यसको निर्यातले पनि आर्थिक विकासमा टेवा पुग्ने उनलाई लाग्छ । सामूहिक प्रयासबाट समाज बनाउन सकिने धारणा छ उनको । समाज सुधार वा आर्थिक विकासका काम यसले वा त्यसले गर्नुपर्छ भन्ने मान्यताको विरोध गर्छन् उनी । हरेक नागरिकले आफ्नो कर्तव्य सम्झेर राष्ट्रोन्नतितिर लाग्नुपर्ने उनको अभिमत छ । यातायात, सडक र विद्युत्जस्ता आवश्यक पूर्वाधारको विस्तारबाट सन्तुलित विकास गर्न सकिनेमा उनी विश्वस्त छन् ।

ईश उपासना गरे पनि पूजार्चना गर्दैनन् बस्नेत । अदृश्य शक्तिमा विश्वास छ उनलाई । संस्थागत एवम् व्यावसायिक संस्कृतिका पैरवीकर्ता नै हुन् उनी । देशमा संस्थागत संस्कृति र संस्कारले क्रमश: गति लिएको उनको विश्लेषण छ । आफ्नो मान्छे होइन, योग्य मान्छेलाई अवसर दिने गरेका छन् उनले । संस्थागत उत्तरदायित्वबाट विमुख छैनन् उनी । सडक बालबालिकालाई तृप्त हुने गरी भोजन गराउने होस् वा गाउँका विद्यालयलाई पुस्तकालय बनाइदिने होस् वर्षेनि आर्थिक एवम् भौतिक सहयोग गरिरहन्छन् उनी । युवा पुस्तालाई मेहनत नगरी छोटो समयमा धेरै कमाउन खोज्ने सोचबाट मुक्त रहन उनको अनुरोध छ ।

Admin 2011-06-30