शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''सीमाहीन समर्पण'' - सीमा गोल्छा
निर्देशक, सामसुङ प्लाजा

'महिलाहरू घरको चौघेरा र चुलोचौकाबाट बाहिर नआएसम्म महिला सशक्तीकरणको विषय भाषणमा मात्र सीमित हुन्छ' उनी नारी वर्गको उत्थानको उपाय उजागर गर्छिन्  । पुरुषप्रधान समाजको पुरातन सोचमा परिवर्तन नहुनु र महिलाहरू शिक्षा प्राप्तिको अवसरबाट वञ्चित भएकाले स्त्री जाति पछाडि परेको उनलाई लाग्छ । गोल्छा अर्गनाइजेशनअन्तर्गतको विद्युतीय उपकरण विक्रेता कम्पनी सामसुङ प्लाजाकी निर्देशक सीमा गोल्छा हरेक नारी पूर्णरूपमा शिक्षित नभएसम्म महिला विकास र सशक्तीकरणका कुरा कोरा कल्पना मात्र हुने बताउँछिन् । प्रतिष्ठित उद्योगपति शेखर गोल्छाकी जीवनसँगिनी उनलाई काम गर्नुपर्ने कुनै आवश्यकता छैन  । तर, कर्मलाई अधिक महत्त्व दिने र त्यसलाई पूजा मान्ने उनी घरभित्र मात्र सीमित हुन रुचाउँदिनन् । त्यसैले उनले सामसुङका उत्पादनलाई नेपालीका घरघरमा पुर्‍याएर उद्यमशीलतालाई बढावा दिएकी छन् ।

जन्मघर भारत भए पनि सीमाको कर्मघर नेपाल बन्यो । भावीले छैटीमा लेखेको कहाँ मेटिन्छ र ? 'देखेको होइन लेखेको पाइन्छ' भन्ने आहान अक्षरश: अनुवाद भयो उनको जीवनमा । देहरादुनमा जन्मेहुर्केकी उनको बाल्यकाल लखनउ र देहरादुनमा बित्यो । व्याङ्कर पिता र शिक्षिकाकी छोरी उनले दिल्ली विश्वविद्यालयबाट राजनीतिकशास्त्रमा अनस गरेकी छन् । आफूलाई मध्यमवर्गीय परिवारकी छोरी भन्न नहिचिकचाउने उनले दिल्ली र कोलकातामा २ वर्ष स्वतन्त्र रूपमा त्यहाँको एक प्रसिद्ध कम्पनीका निम्ति बजार प्रवर्द्धनको काम गरिन् । मेहनत नगरी नबस्ने र आत्मनिर्भर हुनुपर्छ भन्ने मातापिताले सिकाएको संस्कारलाई पालना गरिन् उनले । र, आफ्ना दुई सन्तानलाई पनि आफ्नो खुट्टामा उभिन अभिप्रेरित गरिरहेको बताउँछिन् उनी । वैभवको अभिमान रत्तीभर छैन उनमा । ८ वर्षभयो उनले 'शोरूम' सञ्चालन गरेको ।

सीमाको कार्यालयमा महिला कर्मचारीमात्र काम गर्छन् । महिला वर्ग पीछडिएकाले मात्र होइन, आफूलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्न पनि सीमाले उनीहरूलाई अवसर दिएकी हुन् । 'अवसर दिए महिला पनि कुनै काममा अक्षम छैनन्' भन्ने प्रमाणित गर्न पनि उनले महिला कर्मचारीलाई उच्च प्राथमिकता दिएकी हुन् । असल काम गर्न उनीहरूलाई प्रेरणा दिने र आफू कार्यरत संस्थाप्रतिको जिम्मेवारी नबिसन झकझक्याइरहन्छिन् उनी । इमानदारी, कामप्रति समर्पण, सामूहिक कार्यगत भावना र आपसी प्रेम उनको कार्यालयमा पुग्ने जोकोहीले अनुभूत गर्छन् । उत्कृष्ट कार्य गर्नेलाई वित्तीय पुरस्कार मात्र होइन, पदोन्नति पनि प्रदान गर्छिन् उनी । हालै उनले एकजना कार्यालय सहायकलाई बजार प्रतिनिधिमा पदोन्नति गरिन्- कम्पनीको लक्ष्यप्राप्तिलाई अर्जुनदृष्टि दिएर काम गरेकाले । उत्पादकत्व नदिने र काममा अल्छी गर्ने मान्छे उनलाई पटक्कै मन पर्दैन ।

सासूससुराको सेवाशुश्रूषा, छोराछोरीको हेरविचारमात्र होइन बगैंचा र भातभान्सासमेत हेर्न भ्याउँछिन् सीमा । 'बुहारी, आमा र श्रीमतीको भूमिका पनि निर्वाह गर्नुपर्छ' आफ्नो कर्तव्य उल्लेख गर्दै उनी भन्छिन् । समयसारिणी बनाएर काम गर्छिन् उनी । विशेष परिकार बनाउनु पर्‍यो भने उनको हातमा डाडुपन्यू हुन्छ । छोरीका फर्माइस पूरा गर्न पनि उनी भान्सामा पुग्छिन् । जैविक सागसब्जी उमारेकी छन् उनले 'किचन गार्डेनमा । फुर्सदको समयमा बगैंचामा कुटो चलाउन पनि पछि पर्दिनन् उनी । तडकभडक र 'फेशन'बाट टाढा रहन्छिन् उनी । पहिरनले ठूलो नभइने उनको बुझाइ छ ।

आस्तिक हुन् सीमा । उनको घरमा नै मन्दिर छ । यद्यपि उनी पूजापाठमा मरिहत्ते गर्दिनन् । त्यसो गर्दा विनम्रता प्राप्ति हुने उनको अनुभव छ । घुमफिर उनको सबैभन्दा ठूलो शौक हो । वर्षेनि यात्रामा निस्कन्छन् गोल्छा दम्पती । उनीहरू कहिले पेरु पुग्छन् भने कहिले लण्डन । दुई दिन अघिमात्र उनी अन्नपूर्ण क्षेत्रको पदयात्रा सकेर आएकी हुन् । पर्यटन वर्षजारी रहेको बेला नेपाली दाजुभाइलाई पनि आफ्नो देशको दर्शनमा निक्लन उनको अनुरोध छ । सामाजिक सेवामा रुचि भएकी उनी विशेष गरी दीनहीन र दु:खी महिलालाई सहयोग गर्छिन् । मुटु र किड्नीका कैयौं बिरामीलाई उनले सघाएकी छन् । महीना दुईमहीनामा उनी त्यस्ता गरीबहरूलाई सक्दो सहायता गरेर समाजप्रतिको आफ्नो दायित्व निर्वाह गरिरहेकी छन् ।

Admin 2011-04-29