''अनुरोध जनसेवाको'' - प्रतापकुमार पाठक
सचिव, उद्योग मन्त्रालय
उनले निजामती सेवामा बिताएको साढे तीन दशक भइसकेको छ । ३५ वर्षअघि अति आकर्षण थियो- सार्वजनिक सेवामा । त्यसैले उनले नेपाल राष्ट्र बैङ्कको जागीरलाई चटक्क छाडेर सरकारी सेवा शुरू गरेका हुन् । उद्योग मन्त्रालयका सचिव प्रतापकुमार पाठकलाई निजीक्षेत्र फराकिलो बन्दै र सार्वजनिक सेवा साँघुरिँदै गएको लाग्छ । निजामती सेवालाई चुस्त बनाउनु चुनौतीपूर्ण भएको उल्लेख गर्छन् उनी । कर्मचारीमा पर्याप्त व्यावसायिकताको विकास नहुनु, जनताको सेवक हुँ भन्ने भावना पनि नहुनु र राजनीतिक व्यक्तित्वको पाइलापाइलामा हुने हस्तक्षेपले प्रभावकारी सेवा प्रदान हुन नसकेको उनको विश्लेषण छ । 'हरेक राजनीतिक दलका घोषणापत्र देश र जनताको उन्नयनका निम्ति समर्पित छन् तर लेखिएको कुरा व्यवहारमा अनुवाद नहुँदा समस्या बढेको छ' प्रशासनयन्त्र राजनीतिकरण भयो भन्नेहरूलाई 'व्यक्तिवादी प्रवृत्ति हाबी भएको' उल्लेख गर्छन् उनी ।
निजामती प्रशासनलाई अन्तरराष्ट्रियस्तरको प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिन्छन् पाठक । विशेषज्ञता हासिल गरेका व्यक्तिलाई उसको शैक्षिक योग्यता र अनुभवका जिम्मेवारी दिनुपर्ने उनको मान्यता छ । साथै संयुक्त राष्ट्रसङ्घ र त्यसअन्तर्गतका अन्तरराष्ट्रिय निकायमा काम गर्ने अवसर पनि नेपालीलाई दिनुपर्ने उनलाई लाग्छ । 'एक्सपोजर'बाट पनि धेरै सिक्न सकिने र कर्मचारीलाई उत्प्रेरणा हुने उनको ठम्याइ छ । कर्मचारीलाई कामअनुसार तलब दिनुपर्नेमा जोड दिने उनी वर्तमान बजारलाई विश्लेषण गर्दै सचिवको तलब कम्तीमा पनि ४५ हजार हुनुपर्छ भन्छन् । छिमेकी मुलुक भारतमा सचिवको मासिक पारिश्रमिक १ लाख पुगेको सुनाउन पछि पर्दैनन् उनी । दर्जाको आधारमा व्यक्तिलाई आँकलन गर्नुपर्ने र ज्ञान र शीपअनुसार जिम्मेवारी दिनुपर्ने उनको मान्यता छ । जनताबाट स्याबासी पाउने किसिमले काम गर्न उनी मातहतका कर्मचारीलाई झकझक्याइ रहन्छन् । पर्याप्त कार्य वातावरण दिने र सँगै अधिकार पनि दिँदा लक्षित परिणाम प्राप्त हुनेमा उनी ढुक्क छन् ।
राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नबनेको पाठकको विश्लेषण छ । ऊर्जा सङ्कट, श्रमिकको न्यून उत्पादकत्व, सडक, पानीजस्ता औद्योगिक पूर्वाधारको अभाव, उद्योग मैत्री नीतिको विहीनता, निजीक्षेत्रमा पूर्ण रूपमा विकास हुन नसकेको प्रतिस्पर्धात्मक क्षमता, औद्योगिक संस्कारको कमी र नवीन प्रविधि भित्र्याउन नसक्दा उद्योगको उन्नयन नभएको उनको भनाइ छ । पारदर्शिता र उत्तरदायित्व नबढेसम्म सुशासन कायम नहुने उनलाई लाग्छ । टीके प्रवृत्ति सुशासनको बर्खिलाफ भएकाले त्यो अभ्यासलाई निमिटयान्न नपारेसम्म सुशासन नारामा मात्र सीमित रहने टिप्पणी गर्छन् उनी । र्सार्वजनिक निर्णय प्रणालीमा जनसहभागितालाई अपरिहार्य मान्ने उनी त्यसबाट जनता सशक्त एवम् सबल बन्ने ठान्छन् । नागरिक समाजको सार्थक सहभागिता पनि सुशासनका निम्ति उत्तिकै महत्त्वपूर्ण लाग्छ उनलाई ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका पाठक ज्ञान र शीप बढाउन युवा पुस्तालाई अपील गर्छन् । कामप्रतिको समर्पण र इमानदारीले सफलता हातपर्ने उनको बुझाइ छ । प्रक्रियागत रूपमा सचिव भएका उनी मुख्य सचिवका उम्मेदवार हुन् । सामान्य असफलताबाट हतास नहुन सुझाव दिने उनी सकारात्मक सोच र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नुपर्नेमा जोड दिन्छन् । देशको समृद्धिका लागि आपसी सहकार्य अपरिहार्य मान्ने उनी राष्ट्रलाई सर्वोपरि मानेर काम गर्न सबैलाई अनुरोध गर्छन् ।
धर्म मान्छन् पाठक तर आफूलाई धर्मान्ध भन्न रुचाउँदैनन् । एकाग्र चित्तका लागि मन्दिर जान्छन् उनी । त्यहाँ जाँदा सकारात्मक सोच विस्तारित हुने उनको अनुभव छ । पशुवलि विरुद्ध छन् उनी । समाजको विकासका लागि दान गर्नुपर्ने उनको मान्यता छ । संस्थागत सामाजिक उत्तरदायित्व सबै संस्थाले निर्वाह गर्नुपर्ने उनको मत छ । पारदर्शिता, उत्तरदायित्व, सृजनशीलता, रचनात्मकता, मानव संसाधन विकास र स्वभाव परिवर्तनबाट राष्ट्रको समृद्धि हुने उनको बुझाइ छ । व्यक्तिको आग्रह वा पूर्वाग्रहमा होइन जनताका र मुलुकको बृहत्तर हितमा काम गर्न कर्मचारीलाई उनको अनुरोध छ ।
Admin 2011-02-28