शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''प्रविधि प्रेम'' - अमित अग्रवाल
अमित अग्रवालप्रबन्ध निर्देशक
एसएचटीसी इण्टरनेशनल प्राइभेट लिमिटेड

उनले सूचनाप्रविधिसम्बन्धी सामग्री बेचबिखनको व्यवसाय थालेको झण्डै ३ वर्ष भयो । यो अविधिमा उनले कहिल्यै हतोत्साही हुनु परेन- व्यापार बढेन भनेर । किशोरावस्थादेखि नै पारिवारिक व्यापारमा बानी परेका एसएचटीसी इण्टरनेशनल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अमित अग्रवाललाई आईटीसम्बन्धी उपकरणको व्यापार फस्टाएको लाग्छ । बजारमा कठोर प्रतिस्पर्धा भए पनि त्यो स्वस्थ भएकोमा सन्तुष्ट छन् उनी । जर्मनी, जापान र सिङ्गापुरमा उत्पादित 'ब्राण्डेड' सामानको मात्र उनको कारोबार छ । भारतबाट भन्सार छलेर ल्याइने सामानले बजार प्रभावित पार्न खोजे पनि जागरुक उपभोक्ताका कारण  'ब्राण्डेड' सामानको बोलवाला नै रहेको उनको अनुभव छ । १६ वर्षको उमेरदेखि नै व्यापारमा हात हालेका ३५ वर्षीय उनी आफूलाई सफल भन्न रुचाउँदैनन् ।

आफ्नै व्यवसाय भए पनि तल्लो तहबाट काम सिकेको र सबै विभागमा काम गरेर अनुभव बटुलेका अमित प्रविधिसँग सम्बन्धित काम गर्न मनपराउँछन् । उनको सानैदेखिको स्वभाव नै यस्तै थियो । वीरगञ्जमा हुर्केका उनले त्यहीँबाट व्यवस्थापनमा स्नातक गरेका हुन् । पारिवारिक व्यवसाय कलर ल्याबमा उनले धेरै समय काम गरे । र, त्यहाँका सबै यन्त्र सञ्चालन गर्ने शीप र दक्षता हासिल गरेको उनी बताउँछन् । साथीभाइसँग मोजमस्ती र घुमफिर गर्ने 'टिनएज' मा पनि उनलाई काम नै प्रिय लाग्यो । उनले अभिभावकको निर्देशनमा काम थालेका पनि होइनन् । भन्छन्- कामप्रति लगाव र समर्पण स्वस्फूर्त भावना नै हो । जीवनलाई जोश, जाँगर र जागृतिले जाज्वल्यमान बनाउन सकिने उनको धारणा छ ।

अमित एक्लोको बुतामा सञ्चालन भएको एसएचटीसीमा ५० जना कर्मचारी छन् । काममा कञ्जुस्याइँ नगर्न उनीहरूलाई हौस्याइरहन्छन् उनी । उनको कम्पनीले निजीक्षेत्रका कैयौँ संस्थाले प्रदान नगरेका सुविधा दिएका छन्- सञ्चयकोष र अतिरिक्त समयमा काम गरेको पारिश्रमिकबाहेक । काममा पूर्णताको चाह छ उनमा  । र, त्यो प्राप्तिलाई लक्ष्य बनाउन मन्त्रदान गर्ने उनको बानी छ । समयको सम्मान नगर्ने र ठूला कुरा गर्नेहरूसँग व्यवहार गर्न नपरोस् भन्ने लाग्छ उनलाई । सूचनाप्रविधिको क्षेत्रमा वैशिटय हासिल गर्ने उनको लक्ष्य छ । लक्ष्यप्राप्तिका निम्ति अविराम परिश्रम गर्छन् उनी । नेपाल चेम्बर अफ कमर्शका महासचिव किशोरकुमार अग्रवाल अमितलाई युवापुस्ताका ऊर्जाशील व्यवसायी मान्छन् । उनको उद्यमशीलता र कार्यव्यवस्थापन शैली किशोरलाई प्रभावकारी लाग्छ ।

एक छोरीका पिता अमित संयुक्त परिवारमा बस्छन् । संयुक्त परिवारमा अझ मातापिताको छत्रछायामा बस्दा उनलाई उहाँहरूको अभिभावकीय जिम्मेवारीका अलावा अलौकिक आनन्द प्राप्त हुन्छ । परिवारबाट सञ्चालित व्यापार व्यवसाय विस्तारै व्यावसायिक शीप एवम् दक्षता हासिल गरेका व्यक्तिद्वारा सञ्चालन गर्ने परम्पराको विकास भइरहेको उनको ठम्याइ छ । महाबली हनुमान् उनका कुलदेवता हुन् । हनुमान्को आराधना नगरी उनी भोजन गर्दैनन् । मुलुकमा संस्थागत सामाजिक उत्तरदायित्व वहनको संस्कार शनैः शनैः अभ्यास हुन थालेको उनको अनुभव छ । सभ्य र शिष्ट समाज सामूहिक हितमा विश्वास गर्ने खालको हुने उनलाई लाग्छ । त्यस्तो समाज सशक्त, सुशिक्षित र स्वाधीन हुन सदैव सचेष्ट रहनुपर्नेमा उनको जोड छ । मारवाडी सेवा समितिजस्ता सामाजिक एवम् सामुदायिक सङ्घसंस्थामार्फत उनको कम्पनीले दानदातव्य गरिरहेको उल्लेख गर्ने उनी त्यसलाई र्सार्वजनिक गर्न चाहँदैनन् ।