शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''आदर्श समाज नागरिकको दायित्व'' - माधवप्रसाद भट्ट

अध्यक्ष, इण्टरनेशनल डेभलपमेण्ट बैङ्क
जीवनको सर्वाधिक ऊर्जाशील समय मुलुकको केन्द्रीय बैङ्कमा बिताएका उनी वित्तीय क्षेत्रका सुपरिचित व्यक्ति हुन् । करीब तीन दशक नेपाल राष्ट्र बैङ्कमा बिताएका उनी  सुदूरपश्चिमाञ्चलमा बैङ्किङ क्षेत्रका नायक मानिन्छन् । अघिल्लो वर्षस्थापना भएको इण्टरनेशनल डेभलपमेण्ट बैङ्कलाई आगामी चार/पाँच वर्षमा देशको नम्बर एक विकास बैङ्क बनाउने लक्ष्यका साथ उनी दिनरात मेहनत गरिरहेका छन् । इण्टरनेशनल डेभलपमेण्ट बैङ्कका अध्यक्ष माधवप्रसाद भट्ट भन्छन्, 'सबै ग्राहकको विश्वास जितेर यसलाई उपल्लोकोटिमा पुर्‍याउने योजनामा काम गरिरहेको छु ।' विस्तृत योजना सार्वजनिक नगरे पनि त्यसको प्रारूप तयार गरिसकेको उनी उल्लेख गर्छन् ।  

विकट पहाडी जिल्ला डोटीको कपल्लेकीमा छ दशक अघि जन्मेका भट्टले गाउँबाट नै माध्यमिक शिक्षा पूरा गरेका हुन् । आईएको परीक्षा दिन काठमाडौं आएका उनले यही बसेर अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन् । कपल्लेकीबाट उबेला उनलाई धनगढी आइपुग्न सात दिन हिँड्नुपथ्र्यो । 'आईएको परीक्षा दिन राजधानी नआएको भए आजको अवस्थामा पुगिँदैनथ्यो' ४५ वर्षअघि डोटी इण्टर कलेजबाट विद्यार्थी परीक्षामा सामेल हुन काठमाडौं आउनुपर्ने बाध्यता र आफ्नो 'करिअरको टर्निङ प्वाइण्ट' सम्झँदै उनी भन्छन् । 'बैङ्किङ फाइनान्स'मा बेलायतको वेल्स विश्वविद्यालयबाट स्नातकोत्तरको अर्को उपाधि पनि उनले हासिल गरेका छन् । ज्ञानका भोका उनलाई पढेर कहिल्यै सकिँदैन भन्ने लाग्छ । कानुनमा पनि स्नातक गरेका उनलाई २०३३ सालमा दुवै हातमा लड्डु हात लाग्यो- नेपाल राष्ट्र बैङ्क र लोकसेवा आयोगको शाखा अधिकृतस्तरको परीक्षा पास गरेर । उनले आकर्षक अर्थमन्त्रालयको 'पोष्टिङ' भन्दा नेपाल राष्ट्र बैङ्कलाई रुचाए अर्थशास्त्रको विद्यार्थी भएकाले । राजनीतिमा पहुँच नभएकाले डेपुटी गभर्नर बन्नबाट वञ्चित भएका उनी त्यो पदमा पुग्न नसकेकोमा खेद प्रकट गर्छन् ।  'केही गुनासो छैन, पद क्षणिक हो' आफूभन्दा कनिष्ठ कर्मचारीद्वय कृष्णबहादुर मानन्धर र वीरविक्रम रायमाझी डेपुटी गभर्नर हुँदा त्यसबेला मन केही अमिलिएको उनी स्वीकार गर्छन् । भनसुन र चाकरीविना समयमा नै पदोन्नति र वृत्ति विकासका प्रशस्त अवसर भने उनले केन्द्रीय बैङ्कमा पाइरहे । डोटीको सुदूर गाउँमा जन्मेहुर्केका उनले वाशिङटन डिसीमा दुइ वर्षबसेर अन्तरराष्ट्रिय मुद्राकोषमा सेवा गर्न पाउनु चानचुने कुरा होइन ।

राष्ट्र बैङ्कमा रहँदा नीतिगत एवम् सैद्धान्तिक पक्षमा मात्र सीमित रहेको बताउने भट्ट त्यसबेलाका सीप र ज्ञानलाई व्यावहारिक रूपमा अभ्यास गरिरहेकोमा गर्व गर्छन् । उनी २९ वर्षको राष्ट्र बैङ्कको जागिरमा पनि सधैँ सन्तुष्ट रहेको उल्लेख गर्छन् । कर्मचारीका टेबल टेबलमा पुगेर उनीहरूका पीरमर्का बुझ्ने उनको बानी छ । इमानदार, कामप्रति समर्पित रहन उनी आफ्ना कर्मचारीलाई सधैँ अभिप्रेरित गरिरहन्छन् । उनीहरूलाई अवगुण हटाउन सुझाव दिने र घनिष्ठता बढाउने उनको कार्यशैली हो । चतुर्‍याइँपूर्वक कर्मचारी व्यवस्थापन गर्नु उनको व्यवस्थापन मन्त्र हो । आफू मातहतका मानिसलाई उनीहरूको भावना बुझेर काममा लगाउँदा सजिलै प्रतिफल प्राप्त हुने उनलाई लाग्छ । पिता पूर्णनन्द भट्टलाई आफ्नो प्रेरणाको स्रोत भन्ने उनी इमानदारीपूर्वक काममा लाग्दा सफलता प्राप्त हुने बताउँछन् ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृतको तलबभत्तामा राष्ट्र बैङ्कले लगाउन खोजेको अङ्कुशलाई सकारात्मक भन्ने भट्ट त्यसो नगरेको भए त्यसले कालान्तरमा विकृति भित्रिन्थ्यो भन्छन् । 'बैङ्कबाहेक अन्यत्र काम गर्ने उच्च तहका मान्छे नै होइनन् ?' कुस्त रकम बुझ्ने सीईओको शेखी बढेको उनको बुझाइ छ । देशको समग्र आर्थिक अवस्थालाई दृष्टिगत गर्दा राष्ट्र बैङ्कको कदम सामान्य भएको उनको मूल्याङ्कन छ । त्यस्तै बैङ्कमार्फ गरिने घरजग्गा कारोबारमा केन्द्रीय बैङ्कले निर्धारण गरेका नियम सान्दर्भिक भएको उनको ठम्याइ छ ।

देशको राजनीतिले अर्थनीतिलाई डोर्‍याउने राजनीति अस्थिरता भएकाले अर्थतन्त्र उत्थान होइन, पतनको मार्गतिर गएजस्तो भान भट्टलाई भएको छ । नीति निर्माणको स्थल संसद्ले सुचारु रूपमा काम गर्न नपाउँदा धेरै ऐन नियम थन्केका र बढ्दो बन्दहडतालले आर्थिक गतिविधिमा पूर्णविराम लागेको उनको अनुभव छ । उनले नेतृत्व गरेको बैङ्कले मन्थली र चौताराका साथै देशका विभिन्न भागमा १५ शाखा विस्तार गरेर १ सय २५ भन्दा बढीलाई रोजगारी दिएको छ ।

संस्थागत संस्कृतिको विकास सरकारी कार्यालयका साथै केन्द्रीय बैङ्कमासमेत नभएको बताउने भट्ट बैङ्क तथा वित्तीय क्षेत्रमा त्यसमा क्रमिक सुधार भइरहेको उल्लेख गर्छन् । आदर्श समाज निर्माण गर्नु सबै नागरिकको दायित्व हुने उनको जीवनदर्शन छ । 'नाफामुखी संस्थाभए पनि दायित्व बिर्सनु हुँदैन' आफू बसेको समाजको उत्थान अपरिहार्य भएको तर्क गर्दै उनी भन्छन् । एक वर्षअघिमात्र स्थापना भएको उनले नेतृत्व गरेको बैङ्कले रक्तदानलगायतका सामाजिक कार्यक्रम गरिसकेको छ । पिछडिएको सुदूरपश्चिमाञ्चल क्षेत्रका सर्वसाधारणको मुहारमा खुशीयाली छर्ने पहल गर्न नीति निर्माण र नेतृत्वमा बसेकालाई उनको सादर अनुरोध छ ।