शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''आकाश छुने आकाङ्क्षा'' - तेजेन्द्रनाथ श्रेष्ठ
प्रबन्ध निर्देशक
क्रिष्टल सिटी डेभलपर्स

काठमाडौंको अति व्यस्त क्षेत्र ठमेलको मुहार फेर्ने एउटा अति महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् उनले - छत जोड्ने पुलसहितका तीनओटा १६ तले विशाल भवन बनाउने । उनले निर्माण गर्ने गगनचुम्बी भवनमा  फ्ल्याटैपिच्छे गाजर, खुर्सानीजस्ता हरिया सागपात फलाउन सकिनेछ- माटोविना नै । आगलागीको समयमा आपत्कालीन मार्गका रूपमा प्रयोग गर्न छतमा पुल बनाउने उनको नवीन अवधारणा हो । क्रिष्टल सिटी डेभलपर्सका प्रबन्ध निर्देशक तेजेन्द्रनाथ श्रेष्ठलाई कालीमाटीको पैतृक सम्पत्ति टुक्रयाएर दाजुभाइमा भागबण्डा गर्नुभन्दा सामूहिक लगानीमा पाँचतारे होटलमा उपलब्ध हुने सबै किसिमका सुविधा एकैठाउँमा प्राप्त हुने बहुद्देश्यीय व्यापारिक भवन निर्माण गर्नु उपयुक्त लाग्यो । १२ रोपनी जग्गामा ती भवनलाई उभ्याउने अनुमतिका लागि उनी नगरविकास धाइरहेका छन् । निर्माण स्वीकृति पाएको तीन वर्षा परियोजना सम्पन्न गर्ने उनको लक्ष्य छ ।

रेडन कलेजका अध्यक्ष मात्र होइन, रेष्टुराँ एशोसिएशन अफ नेपाल, ठमेल पर्यटन विकास परिषद्लगायत सङ्गठित संस्थालाई नेतृत्व दिइरहेका श्रेष्ठको मातहतमा ४ सय कर्मचारी कार्यरत छन् । पर्यटकीय केन्द्र ठमेलका नाम चलेका इनयाङ र थर्डआइ रेष्टुराँका सञ्चालक उनले विभागीय प्रमुखमार्फ कार्यसम्पादन गर्ने संस्कृति विकास गरेका छन् । उनका लागि 'व्यवसाय गन्तव्य होइन यात्रा मात्र' हो । व्यापारमा घाटा नाफाको सही लेखाजोखा नभए सफलता प्राप्त नहुने उनको ठम्याइ छ । आफू सफल भएनभएको मूल्याङ्कन अरूले गर्नुपर्छ भन्ने उनलाई समयको उचित व्यवस्थापन नगर्नेले प्रगति गर्छ भन्ने लाग्दैन । समयअनुसार चल्ने र जस्तोसुकै परिस्थितिमा पनि त्यसलाई खेर नफाल्नेको उन्नति हुने उनी ठोकुवा गर्छन् । सकारात्मक सोचका साथ काम गर्दा सफलता प्राप्त हुन्छ भन्ने उनी सबैलाई त्यसैअनुरूप गर्न अनुरोध गर्छन् । लक्षित परिणाम प्राप्तिका लागि हरतरहले कर्मचारीलाई प्रेरित गर्ने उनको बानी छ । 'आफै प्रयास गर्नेलाई भगवान्ले पनि साथ दिन्छन्' कर्मचारीलाई सम्झाइ रहने आफ्नो व्यवस्थापन मन्त्र सुनाउँछन् ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेको श्रेष्ठले अष्ट्रियाबाट होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा हासिल गरेका छन् । एक छोरा र एक छोरीका बाबु उनलाई समाजसेवामा असाध्यै रुचि छ । उनले रोटरीमार्फ दीनहीनको सहयोगका लागि हजारौं डलर दान पनि गरेका छन् । यद्यपि यसबारे उनी उल्लेख गर्न चाहँदैनन् । तर, भित्तामा टाँगिएको पल ह्यारिफ फेलोसिपको प्रशंसापत्रले उनको समाजसेवी पाटो खुलाउँछ । पश्चिमा संसारलाई 'टेक्नो सोसाइटी'को संज्ञा दिने उनी नेपालको संस्कार र संस्कृति विश्वका कुनै पनि मुलुकसँग तुलना नहुने बताउँछन् । पर्यटन क्षेत्रको विकासबाट नै नेपालको आर्थिक उन्नति सहज ढङ्गले हुने उनको ठम्याइ छ । नर्भिक अस्पतालसँग भारतको वेदान्त प्रतिष्ठानले गर्न लागेको सहकार्य र भैंसेपाटीमा गैर आवसीय नेपाली उपेन्द्र महतोले करोडौंको लगानीमा शुरू गर्न लागेको स्वास्थ्यसेवा प्रदान गर्ने परियोजनालाई उनी नेपालमा लगानीको वातावरण बन्दै गएको मान्छन् । यथास्थितिमा रहन नहुनेमा जोड दिने उनी नवप्रवर्तनलाई अगाल्नुको विकल्प नभएको उल्लेख गर्छन्- चाहे त्यो विज्ञान-प्रविधिको क्षेत्रमा होस् या उद्योग-व्यवसायमा, समाज उत्थानमा उपयोगी सबै सामग्रीको सम्यक प्रयोग गर्नुपर्छ ।  

विभिन्न किसिमका सम्मेलन, सभा र समारोहको व्यावसायिक ढङ्गले व्यवस्थापन गर्दै आएको संस्था डाइरेक्सन नेपालका निर्देशक दीपक थापा श्रेष्ठलाई सकारात्मक सोचका प्रतीक मान्छन् । श्रेष्ठमा व्यक्ति र समाज राम्रो भए देश सौम्य हुन्छ भन्ने भावना अधिक छ ।  समाज परिवर्तनको दिशामा दृढतापूर्वक लाग्ने उनका गुणलाई थापा अनुकरणीय मान्छन् । 'तेजेन्द्रनाथजी आफै रोलमोडेल बनेर समाजलाई  डोर्‍याउने व्यक्ति हुनुहुन्छ' उत्कृष्ट परिणामका निम्ति प्रस्तुत हुने उनको शैली सुनाउँदै थापा भन्छन् ।

समस्यालाई अवसरका रूपमा लिनुपर्ने श्रेष्ठको विश्लेषण छ । उनका अनुसार संघर्ष गर्न सकारात्मक सोचको आवश्यकता पर्छ । इमान हरेक व्यक्तिको गहना हो र त्यसलाई कहीँ बन्धकी राख्न पाइँदैन । समस्यासँग डटेर लड्ने उनी त्यसबाट भाग्नुलाई कायरताशिवाय केही मान्दैनन् । काम गर्दा उनलाई असिम आनन्दको अनुभूति हुन्छ । झीनामसिना कुरामा आपसी मतभेद, द्वन्द्व र मनोमालिन्य बढ्दा उनको मन कुटुक्क दुख्छ । भन्छन्- नेपाली-नेपाली मिल्नुपर्छ । सङ्कट व्यवस्थापनसम्बन्धी ज्ञान हरेक नेपालीले लिनुपर्ने उनको सुझाव छ- हरेक क्षेत्रमा देखिएका विसङ्गतिलाई निमिटयान्न पार्न ।