सन्तुलित सक्रियता
कमल तामाङ
सचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ
प्रबन्ध निर्देशक, हिमरब ग्रूप अफ कम्पनीज
रोजगारीका लागि विदेशिनु नेपाली युवाको बाध्यता मात्रै होइन, आवश्यकता नै बनिसकेको छ । नेपालबाट वर्षेनि करीब ३ लाख व्यक्ति रोजगारीका लागि विदेशिने गर्छन् । रोजगारीका लागि भौंतारिरहेका नेपालीलाई दर्ुबई, कतार, मलेसिया, साउदीअरब, कुवेत, बहराइन, मलेसियालगायतका मुलुकमा पठाउन आवश्यक सहयोग गर्छन् कमल तामाङ । अर्थात्, रोजगारीका लागि सम्पर्क सूत्र नै भन्दा हुन्छ उनलाई । हिमरब ओभरसिजलाई कम्पनीकै रूपमा विकसित गर्दै यस क्षेत्रको विकासमा सक्रिय छन् । कुनै पनि कामका लागि विश्वास सबैभन्दा महत्त्वपूर्ण हुने बुझेका छन् तामङले । उनी भन्छन्, 'मलाई यस व्यवसायमा विश्वास र इमानदारीले नै टिकाइरहेको छ ।'
वैदेशिक रोजगार व्यवसायमाथि नै चौतर्फी हमला भइरहेका बेला तामाङ यस क्षेत्रमा प्रवेश गरे । इराकमा १२ नेपालीको हत्यापछि व्यवसाय नै रक्षात्मक अवस्थामा पुग्दा पनि उनी संस्था टिकाउन सफल भए । 'सङ्कटका परेका बेला पनि यो व्यवसायलाई टिकाउन सकेँ,' उनी भन्छन् । तामाङ यस क्षेत्रमा २०६० सालमा हिमरब ओभरसिज स्थापना गरी प्रवेश गरेका हुन् । अहिले यो संस्थाले वैदेशिक रोजगारीमा जानेका लागि स्वास्थ्य जाँच तथा आवश्यक अभिमुखीकरण सेवासमेत प्रदान गर्दै आएको छ । विदेश जानेहरूको सेवाका लागि सिलिङ मेडिकल सेण्टर, हिमरब पोलिक्लिनिक र संयोग ट्रेनिङ सेण्टर सञ्चालित छन् । वार्षिक रूपमा यस संस्थाले १ हजारभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउँदै आएको छ । 'संस्थाप्रतिको विश्वासमा कहिल्यै ठेस लाग्न दिइनँ,' तामाङ भन्छन्, 'यस व्यवसायबाट पूर्ण सन्तुष्ट छु ।' हालसम्म ८ हजारभन्दा बढी यस संस्थामार्फत वैदेशिक रोजगारीमा गएका छन् । 'मेरो संस्थाबाट गएकाहरूले सम्झौताअनुसार नै रोजगारी पाएका छन्,' उनी आफ्नो व्यवसाय सफल हुनुको कारणबारे भन्छन्, 'यसले संस्थाप्रतिको विश्वासलाई कायम राख्न सघाएको छ ।'
ओखलढुङ्गाको मूलखर्कमा ३६ वर्षअघि जन्मिएका तामाङ राजनेता हुने सपना सँगाल्दै राजधानी भित्रिएका थिए । प्रजातान्त्रिक विचारधारामा विश्वास राख्ने उनले शङ्करदेव क्याम्पसबाट व्यवस्थापन विषयमा २०५५ सालमा स्नातक गरे । त्यतिबेला उनले राजनीति गर्नलाई आर्थिक रूपमा सबल हुनुपर्छ भन्ने बुझे । 'त्यति बेला मसँग रोजगारीका लागि विदेश जानुको विकल्प थिएन,' उनी भन्छन् । त्यसैका लागि उनी विदेश हान्निए । वैदेशिक रोजगारीमा ५ वर्ष बिताएर फर्किए । उनी रित्तै हात स्वदेश फर्किएनन्, सँगै विदेशी रोजगारदाताहरूको सम्पर्क र सम्बन्ध लिएर आए । स्वदेश फर्किएर उनले व्यवसायसँगै राजनीतिलाई पनि अगाडि बढाए । 'राजनीति गर्ने आधार बनाउनकै लागि विदेश गएको थिएँ,' उनी भन्छन्, 'मेरो अन्तिम उद्देश्य पनि राजनीति नै गर्नु हो ।' हाल उनी ओखलढुङ्गाबाट काङ्ग्रेस महासमिति सदस्य छन् र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको सचिव पनि ।
इराक घटनापछि वैदेशिक रोजगार व्यवसायमाथि लागेको 'कालो धब्बा' मेटाउन उनले विशेष अगुवाइ गरे । त्यसबेला भएको तोडफोडको क्षतिपूर्ति दिलाउन उनको विशेष योगदान छ । त्यसैको प्रभावले सङ्घका दुईओटा निर्वाचनमा तामाङले सर्वाधिक मत ल्याएर चुनाव जितेका छन् । सूत्रबद्ध काम नै उनको व्यवस्थापन मन्त्र हो । व्यवसाय, पार्टी, राजनीति र व्यावसायिक राजनीति तीनै क्षेत्रमा उनी उत्तिकै सक्रिय छन् ।नेपालबाट दक्ष र अदक्ष जनशक्ति दुवै खाले बाहिरिररहेको उनको भनाइ छ । सबैभन्दा बढी अदक्ष जनजक्ति बाहिरिरहेको उनको बुझाइ छ । 'वैदेशिक रोजगारीमा जानेमध्ये करीब ६० प्रतिशत अदक्ष हुन्छन्,' तामाङ भन्छन्, 'त्यो पङ्क्तिले कमाएको पैसा उनीहरुको घरपरिवारले उचित सदुपयोग गर्न सकेको छैन ।' विदेश पठाएबापत प्रतिव्यक्ति रू. १० हजारको हाराहारी आफ्नो भागमा पर्ने उनको भनाइ छ ।
बिहान ५ बजे उठेर क्लब जान्छन् । घर फर्किएर खाना खान्छन् । १० बजे कार्यालय पुग्छन् । त्यहाँ २ घण्टा बसेर सङ्घको काममा जान्छन् । बाँकी रहेको समय पार्टी काममा लगाउँछन् । काम गर्न समय तालिका निर्माण गरेका छन् । उनले आफ्नो संस्थामा काम गर्ने ३० जना कर्मचारीलाई पदअनुरुपको अधिकार दिएका छन् । 'हिमरब सबैको मन्दिर हो,' उनी भन्छन्, ' यसमा मेरो जति हो, त्यति नै सबै कर्मचारीको अधिकार रहन्छ ।' फुर्सदमा केटाकेटीसँग खेल्न रुचाउने उनी राजनीतिमा गोपाल राईबाट प्रभावित भएको बताउँछन् । उनी काङ्ग्रेस सभापति सुशील कोइरालालाई आदर्श नेताको रूपमा लिन्छन् ।मुलुकको आर्थिक समृद्धिका लागि राज्यले जलविद्युत्, पर्यटन र उत्पादनमूलक उद्योगमा लगानी बढाउनु पर्ने उनको बुझाइ छ । भविष्यमा उनी टुर एण्ड ट्राभल्स व्यवसायसमेत गर्ने सोचमा छन् । आफ्नै मेहनतलाई प्रेरणाको स्रोत मान्ने उनी नेपालीहरू भारतबाट लुकेर विदेशिने क्रमलाई राज्यले नै रोक्न पहल गर्नुपर्ने बताउँछन् ।
Admin 2011-08-01