सुन्दर स्वास्थ्य
लिमा अधिकारी
प्रबन्ध निर्देशक, सेप अप प्रिमियर स्लिमिङ क्लब
व्यवसायका अनेक आयाम हुन्छन्, त्यसलाई समयमै पहिल्याउन सक्ने खुबी मानिसमा हुनुपर्छ । एसएलसी दिएपछि लिमा अधिकारीको रुचि थोरै लगानीमा भए पनि आफ्नै व्यवसाय सञ्चालन गर्नुपर्छ भन्नेमा थियो । जब उच्च शिक्षा हासिल गर्न छिमेकी मुलुक चीन गइन्, त्यहाँ उनले व्यवसायका अनेक क्षेत्र देख्न पाइन् । स्वदेश फर्किंदा लिमाले चिनियाँ अकुपञ्चर विधिबाट उपचार गराउने पद्धति नेपालमा भित्र्याउने विचार गरिन् ।शुरूमा केही चिनियाँको सहयोगमा उनले काठमाडौँ प्लाजामा यो अकुपञ्चर उपचार पद्धति शुरू गरिन् । अहिले उनको यो व्यवसाय फैलनुका साथै आकर्षक पनि बन्दै गएको छ । सेप अप प्रिमियर स्लिमिङ क्लबकी प्रबन्ध निर्देशक लिमा भन्छिन्, 'परिणाम देखिने खालको व्यवसाय गरेछु भनेर अहिले खुशी लाग्छ ।'
मानिसहरू दिन प्रतिदिन ऐस-आराम र सुखको खोजीमा छन् । सुक्खमा रमाउने आममानिसको जीवनशैली बिग्रिँदै गएको छ । त्यसले मानिस आफैले रोग निम्त्याइरहेको छ । यसलाई राम्ररी अनुभूत गरिरहेकी उनले चीनमा फस्टाइरहेको अकुप्रेसर-अकुपञ्चर मेशिनको प्रयोगमार्फत 'वेट लस' (तौल घटाउने) विधि १० वर्षअघि नै नेपाल भित्र्याएकी थिइन् ।शुरूमा उनको व्यवसायलाई कसैले पनि पत्याएन् । २ वर्षसम्म त त्यस विधिबारे मानिसहरूलाई जानकारी गराउनै लागेको उनी बताउँछिन् । तर, मानिसहरूको दिनप्रतिदिन आकर्षण बढ्न थालेपछि अहिले उनले उपत्यकाका तीन स्थानबाट उपचार शुरू गरेकी छन् । अहिलेसम्म महिलाहरूमा मात्रै सीमित यो सेवा पुरुषहरूलाई पनि चाँडै उपलब्ध गराउने सोच बनाएकी छन् उनले । आफ्नो संस्थामार्फत ३० जना महिलालाई रोजगारी दिएकी छन् । आफ्नै मेहनतबाट गाडी किनेकी छन् । उमेरले ३७ वर्षकि लिमा स्वस्थ छिन् र अरूलाई पनि त्यस्तै हुन सिकाउँछिन् ।
शारीरिक व्यायाम र कसरत नगर्ने बानीले धेरै मानिसको शरीरमा बोसो भरिने, रक्त प्रवाहमा समस्या, मुटु रोग, डाइबिटिज र रोग प्रतिरोध प्रणाली कमजोर हुने जस्ता समस्या देखिन थालेका छन् । ती समस्या समाधान गर्ने अभियानमा सक्रिय छिन् उनी । आफ्नो संस्थाबाट अहिलेसम्म १० हजारभन्दा बढी महिलाले उपचार लिइसकेको उनको दाबी छ । १५ दिनको एउटा प्याकेज छ उनकोमा उपचार लिनलाई । १२ हजार रुपैयाँ लिएर उनी उपचार गर्छिन् । 'आफ्नो पेशाका लागि शरीरलाई सन्तुलनमा राख्नलाई एयर होष्टेज, चलचित्रका अभिनेत्रीहरु बढी नै आउनुहुन्छ', उनले भनिन् ।
आफ्नो व्यापार सेवामा आधारित रहेको दाबी गर्छिन् उनी । कडा श्रम र मेहनतकै परिणाम हो यो सफलता भन्छिन् । इच्छाअनुसारको काम रोजेर लगनशीलता देखाउने हो भने कहिल्यै असफल नभइने उनको दाबी छ । 'मैले रुचिअनुसारको क्षेत्रलाई समातेँ, त्यसैले सफलता पाएँ', उनी भन्छिन् ।
उनको दिनचर्या नक्साल, काठमाडौँ प्लाजा र ललितपुरको कुमारीपाटीमा रहेको संस्थाको कार्यालयको अनुगमन गर्नुमै बित्छ । आफूले रोजेको व्यवसायले सफलता प्राप्त गरेकोमा दङ्ग छिन् लिमा । राजनीतिमा समर्पित उनको परिवारले उनलाई यसो गर्नुपर्छ भनेर कहिल्यै दबाब दिएको छैन । हालका उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारी उनका पिता हुन् । उनी आफ्ना पितालाई भेट्दा निजी र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन सुझाव दिन्छिन् । बैङ्किङ क्षेत्रलाई तरलता अभावबाट उकास्न उनले आफ्ना पितालाई धेरै सम्झाएकी छन् । कृषिमा लगानी गरेमात्रै मुलुकको गरीबी घटाउन सकिने उनको धारणा छ । राजनीतिप्रति निकै सचेत देखिने लिमा आवश्यक पर्दा त्यस क्षेत्रमा जाने सोचाइमा पनि देखिन्छिन् ।
आफ्ना ठूलो बुबा मनमोहन अधिकारी (पहिलो कम्युनिष्ट प्रधानमन्त्री) र पिता भरतमोहन अधिकारीलाई आदर्श ठान्ने उनको समाजसेवामा लाग्ने सोच छ । कम्युनिष्ट विचारलाई स्वीकार गर्ने उनी भगवान्प्रति पनि त्यतिकै विश्वास राख्छिन् । 'कम्युनिष्टहरूले भगवान् नै मान्नुहुन्न भन्ने कहाँ लेखेको छ र ?' उनको प्रश्न छ । फुर्सदमा राजनीतिक किताब पढ्न रुचाउने लिमा घरायसी काम पनि गर्छिन् ।बिहानै उठ्छिन् र घरमा गर्नुपर्ने सम्पूर्ण काम सिध्याएर बाँकी समय व्यवसायलाई दिन्छिन् । लिमाले चीनको ह्वाचुङ विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी छन् । प्रत्येक दिन योजना बनाएर मात्रै काम गर्ने बानी परेकी उनी उत्साहित हुँदै भन्छिन्, 'सानो पूँजीबाट शुरू गरेको व्यवसायले पनि असीम उत्साह दिँदो रहेछ ।'
Admin 2011-07-01