''सकारात्मक दृढता'' - विमलप्रसाद वाग्ले
सचिव, प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय
'टेलिफोन उठाउने, चियाचमेना बनाउनेलगायत कार्यालयका काम सघाउने अर्को सहायक, सरकारी गाडी, चालक र मासिक ७० लिटर पेट्रोल अनुत्पादक खर्चका ज्वलन्त उदाहरण हुन्' सरकारले हरेक मन्त्रालयका सचिव र सहसचिवका लागि गर्दै आएको खर्च औचित्यपूर्ण नभएको विश्लेषण गर्दै उनी भन्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विमलप्रसाद वाग्ले सरकारले प्रथम र विशिष्ट श्रेणीका निजामती कर्मचारीलाई एउटा मारुति कार दिएर 'आफ्नो व्यवस्था आफै गर' भन्नुपर्ने तर्क गर्छन् । 'इन्धन, मोबिल र मोटर मर्मतसम्भारका नाममा स्वाहा हुने रकमको लेखाजोखा नै छैन' राज्यको ढुकुटी रित्त्याउने मनोवृत्ति भएकाहरूको सोचमा परिवर्तन नआएसम्म अनुत्पादक खर्च बढिरहने उनको विश्लेषण छ । निजामती प्रशासनका विकृति-विसङ्गतिप्रति कठोर प्रहार गर्छन् उनी । र, अमिल्दा, अव्यावहारिक एवम् औचित्यहीन कामबाट सधैं टाढै रहन्छन् ।
तेत्तीस वर्षभयो विमल सरकारी जागीरमा रमाएको र यस अवधिमा उनले काठमाडौं खाल्डोबाहिर गएर सेवा गरेका छैनन् । राजधानीबाट बाहिरिनु परे जागीर नै त्याग गर्ने उनको जायज प्रणका अगाडि कसैको केही लागेन । सुक्खा तलब घरखर्च र परिवारको भरणपोषणमा नै समाप्त हुने भएकाले जागीरे जीवन प्रारम्भ गरेको समयदेखि नै उनले कलेजहरूमा अध्यापन गर्दै आएका छन् । 'माष्टरी नगरी पुग्दैन, त्यसका लागि राजधानीबाहिर जाने कुरा अकल्पनीय छ' निजामती सेवाका अधिकतम कर्मचारीको बाध्यता र आवश्यकता प्रतिविम्बित हुन्छ उनको भनाइमा । हरेक बिहान सखारै उनी विद्यादान गर्न निस्कन्छन् भने घण्टाको सुईले १० छुन नपाउँदै कार्यालय पुगिहाल्छन् । साँच्चै व्यस्त छ, उनको जीवन ।
पितापुर्खाबाट अकूत सम्पत्ति पाएका, बारम्बार विदेश गइरहने, लामो समयसम्म परदेशमा 'पोष्टिङ' पाएका र आकर्षक मन्त्रालय, संस्थान, समिति वा आयोगको सञ्चालक समितिको सदस्य भएकाहरूबाहेक सबै कर्मचारीको आर्थिक अवस्था सबल हुन्छ भन्ने लाग्दैन विमललाई । आफ्नो स्वच्छ छवि धमिल्याउन चाहँदैनन् उनी । त्यसैले उनले अनेक अनुरोधलाई पन्छाउँदै अर्थ मन्त्रालयको जागीर खाएनन् लामो समयसम्म । अर्थ मन्त्रालयप्रतिको उनको वितृष्णाको कारण हो- 'अर्थ' शब्द । अर्थको कर्मचारी भनेपछि सबैले हेयको दृष्टिले हेर्ने भएकाले त्यस्तो पात्र हुन नचाहेका हुन् उनी । तर, तत्कालीन अर्थराज्यमन्त्री रूप ज्योतिको एकल निर्णया कारण केही समय निजीकरण एकाइ शाखाको जिम्मेवारी वहन गरे उनले अर्थ मन्त्रालयमा ।
सहभागितामूलक व्यवस्थापन प्रणाली अगाँलेका छन् विमलले । जोसँग पनि घुलमिल हुने 'फ्री एण्ड फ्र्याङ्क' सचिवका रूपमा चिनिन्छन् उनी कर्मचारी र साथीभाइमाझ । उनी सबैसँग मित्रवत् व्यवहार गर्छन् । कर्मचारीलाई स्वामित्वबोधसहितको निर्णयअधिकार दिनु परिणाममूलक हुने उनको बुझाइ छ । उनीहरूलाई कामको जस पनि दिनुपर्छ भन्छन् उनी । सबै काम सकारात्मक सोचका साथ गर्न उनीहरूलाई सधैं प्रेरणा पनि दिइरहन्छन् । बेइमान र नकारात्मक सोच भएको मान्छेसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन । फटाहा, धूर्त र द्वैधचरित्र भएकाहरूबाट उनी १० हात पर बस्छन् ।
त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य र व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् विमलले । उनीसँग विकास अध्ययनसम्बन्धी अर्को विदेश डिग्री पनि छ-नेदरल्याण्डस्मा लिएको । सार्वजनिक नीतिको अनुगमन तथा मूल्याङ्कन एवम् परियोजना विश्लेषणमा उनले विशिष्टता हासिल गरेका छन् । राजधानीको चाबहिलका रैथाने उनलाई २०३६ पछिको प्रशासनयन्त्र बिटुलिएको लाग्छ । भनाइ र गराइमा तालमेल नमिल्दा सार्वजनिक प्रशासनप्रति सवसाधारणको विश्वास घटेको उनको अनुभव छ । उपयुक्त राजनीतिक एवम् प्रशासनिक नेतृत्वको अभावका कारण निजामती प्रशासन पद्धतिबाट विमुख भएको उनको ठम्याइ छ । राष्ट्र निर्माणको अठोटका साथ समर्पित भएर सम्बद्ध पक्ष प्रस्तुत हुने हो भने केही पनि असम्भव देख्दैनन् उनी । २०४९ साल कात्तिकमा कर्मचारीलाई 'काखा र पाखा' गर्नु निजामती सेवामा सरकारले गरेको गम्भीर त्रुटि भएको उनको तर्क छ ।
अत्यन्त धार्मिक स्वभावका विमलईश्वरमा आस्था राख्छन् । कार्यव्यस्तताले गर्दा मन्दिर जान भने उनले भ्याएका छैनन् । मुलुकमा संस्थागत संस्कारले विस्तारै गति लिएको उनलाई अनुभव भएको छ । बुद्धि र विद्या दान गरेर अरूलाई अनुग्रहित पारे पनि जीवनमा आजपर्यन्त कसैको अनुग्रहमा बाच्नु नपरेकोमा उनलाई गर्व छ । आफ्नै बलबुतामा आजको अवस्थामा पुगेका उनलाई संस्थागत सामाजिक उत्तरदायित्व 'फेशन' बनेको जस्तो लाग्छ । 'यो देखाउनका लागि होइन, भावनाका साथ हुनुपर्छ', उनी भन्छन् ।
Admin 2011-03-31