''खारिएको बौद्धिकता'' - सुवर्णलाल वज्राचार्य
अध्यक्ष, एनडीईपी डेभलपमेण्ट बैङ्क
आफ्नो नामका अगाडि डा. लेख्नेहरूका निम्ति गतिलो जवाफ बनेका छन्- अध्यक्ष, नेपाल डेभलपमेण्ट एण्ड इम्प्ल्योएमेण्ट प्रमोशन (एनडीईपी)बैङ्कका अध्यक्ष सुवर्णलाल वज्राचार्य । दिल्ली विश्वविद्यालयबाट क्यास म्यानेजमेण्ट अर्थात् नगद व्यवस्थापनमा विद्यावारिधि गरेका उनलाई समाजको उत्थानका निम्ति योगदान गरेजस्तो लाग्दैन । भन्छन्- आफूले हासिल गरेको ज्ञान र शीपलाई समाजको बृहत्तर हितका लागि योगदान गर्न नसक्नेले डा. फलानो लेख्नु औचित्यहीन छ । विगत ३१ वर्षदेखि अध्यापन गर्दै आएका प्राध्यापक वज्राचार्यको अवधारणाको उपज हो- एनडीईपी बैङ्क । दक्ष जनशक्ति विदेश पठाएर अधिकाधिक विप्रेषण मुलुक भित्र्याउने ध्येयले एनडीईपी स्थापना गरिएको हो । रोजगारीका निम्ति विदेश जान चाहने अर्धदक्ष र दक्ष कामदारलाई कम ब्याजमा ऋण दिने गरेको छ उनले नेतृत्व गरेको बैङ्कले । उद्यमशीलताको विकास तथा तालीम केन्द्र सञ्चालन तथा प्रवर्द्धनलाई पनि उत्तिकै महत्त्व दिएको छ एनडीईपीले ।
मुलुकको घरानियाँ औद्योगिक समूह साख, कर्मचारी सञ्चय कोष र वज्राचार्य बन्धुहरूको लगानी छ एनडीईपीमा । २ सय ६० जनाले रोजगारी पाएका छन् त्यहाँ । कुनै पनि निर्णय समयमा गर्नुपर्ने मान्यता छ प्राध्यापक वज्राचार्यको । निर्णयमा विलम्ब हुँदा अर्थतन्त्रमा पनि प्रभाव पर्ने उनको ठम्याइ छ । यन्त्रले पढ्ने राहदानी (मेशिन रिडेबल पासपोर्ट) जारीमा भएको ढिलाइले मुलुकको भावी अर्थव्यवस्थामा असर पर्ने उनको अनुमान छ । आजको आजै राहदानी नपाउँदा आम्दानीको अवसर गुम्ने उनको बुझाइ छ । कामको सम्मान गर्ने उनको बानी छ । कुनै पनि काम सानो-ठूलो नहुने शिक्षा दिइरहन्छन् उनी । उचनिच र तहमा पनि उनको विश्वास छैन । सबैलाई समान देख्छन् उनी र त्यस्तै व्यवहार पनि गर्छन् । सरल र शिष्ट व्यवहार छ उनको । अभिमान गर्नेहरूसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन ।
चारमिनार चुरोट, दम दिने स्टोभ, भारतबाट रुलिङ मेशिन ल्याएर कापीकिताब छाप्नेलगायत उद्यमशीलताको शीप र ज्ञान प्राध्यापक वज्राचार्यले पिताबाट सिकेका हुन् । सात सन्तानमध्येका जेठा उनको परिवार व्यावसायिक व्यक्तिले खचाखच छ- कोही मेडिकल डाक्टर कोही इञ्जिनीयर । दिदी शान्तिको प्रेरणाबाट उनले विद्यावारिधि गरेका हुन् । उनको परिवारका सबैलाई प्रतिष्ठित पेशामा स्थापित गर्नमा दिदी शान्तिको ठूलो योगदान रहेको उल्लेख गर्दा केही भावुक भएको भान हुन्छ । अर्बुद रोगबाट पीडित दिदी अल्पायुमा नै ईश्वरलाई प्रिय भएकीले उनका बारेमा बोल्नुपर्दा असहज महसूस हुनु अस्वाभाविक होइन ।
दिन प्रतिदिन मुलुकको आर्थिक अवस्था खस्कँदै गएकोमा चिन्ता व्यक्त गर्छन् प्राध्यापक वज्राचार्य । राजनीतिक नेतृत्वलाई मात्र दोष पनि चाहँदैनन् उनी विद्यामान अव्यवस्थाका निम्ति । देशमा आर्थिक उन्नयनका अधिक अवसर देख्ने उनी निश्चित नियम बनाएर हिमाललाई 'लिज'मा दिन सकिने सुझाउँछन् । १० वर्षमा कम्बोडियाले हासिल गरेको विकास नेपालले पनि सहजै गर्न सक्ने उनको विश्लेषण छ । राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर दुवै पक्षलाई फाइदा हुने गरी लुम्बिनीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनको बुझाइ छ । 'लुम्बिनीलाई पनि लिजमा दिन सकिन्छ, राष्ट्रिय स्वाभिमानमा आँच नआउने गरी त्यसो गर्दा अर्थोपार्जन हुन्छ' राष्ट्रभक्तिसँगै पिछडिएका नेपालीको समृध्दीप्रति चासो व्यक्त गर्दै उनी भन्छन् । पानी निर्यात गरेर पनि मनग्गे कमाउन सकिने उनको ठम्याइ छ । त्यसका लागि नीति र जागरणका कार्यक्रम अपरिहार्य भएको उनलाई लाग्छ । 'धुञ्चेको जस्तो पानी देशका विभिन्न भागबाट उत्पादन गर्न सकिन्छ' प्राकृतिक स्रोतको खानीमा बसे पनि त्यसको दोहन गर्न नसक्दा पछि पर्नुपरेको कटुसत्य सुनाउँछन् उनी ।
अध्यापन गर्दा आनन्द आउँछ प्राध्यापक वज्राचार्यलाई । पब्लिक युथ क्याम्पसलगायत कैयौं शैक्षिक प्रतिष्ठानमा बितेका ३३ वर्षदेखि अविराम पढारहेका छन् उनले । तरलता समस्या सम्बोधन गर्न राष्ट्र बैङ्कले नीति बनाउनुपर्नेमा उनको जोड छ । केन्द्रीय बैङ्कले वाणिज्य तथा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको पारिश्रमिकमा लगाएको 'सिलिङ'प्रति उनी सहमत छन् । अन्य कर्मचारी र सीईओको सुविधामा विशाल अन्तर हुन नहुने उनको मत छ । पूँजी वृद्धिका लागि मर्जर अत्यावश्यक लाग्छ उनलाई । विदेशी बैङ्क नेपाल पसेपछि साना बैङ्क गभिनुको विकल्प नहुने उनको ठम्याइ छ ।
बुद्धधर्म मान्ने वज्राचार्य धर्मलाई ज्यूने बाटो मान्छन् । वृद्धाश्रम बनाउने उनको लक्ष्य छ । सकेको दान गर्नुपर्ने उनलाई लाग्छ । शिक्षादान गरेर उनले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन् । नेशनल ट्रेडिङ लिमिटेडमा दर्ताचलानीको कामबाट जागीरे जीवन थालेका उनले अञ्चल प्रबन्धकसम्म भएर काम गरेका हुन् । शिक्षण पेशाले उनी त्यसैत्यसै आकर्षित भए जसलाई उनले अद्यापि निरन्तरता दिइरहेका छन् । मुलुकको हरेक क्षेत्रमा संस्थागत संस्कार र व्यावसायिकता विकास भएको उनको अनुभव छ ।
Admin 2011-03-01