जीवनऊर्जाको उपयोग
विवेक शर्मा
प्रबन्ध निर्देशक, भर्जिन मोबाइल प्रालि
सञ्चारमाध्यम अझ भनौं प्रचारको दुनियाँबाट सधैं टाढा रहने उनको उद्यम भने सञ्चारजगत्सँग नै सम्बन्धित छ । ४ वर्षभयो उनले मोबाइलको व्यापार थालेको । नोकिया, सामसुङ, एलजी, स्पाइस, कार्बन, मोटोरोलालगायत अन्तरराष्ट्रिय बजारमा पाइने हरेक ब्राण्ड उनको 'शोरूम'मा झण्डै परलमोलमा पाइन्छ । १ करोड २५ लाख रुपैयाँको लगानीमा शुरू भएको भर्जिन मोबाइलले गतवर्ष रू. १७ करोडको कारोबार गरेको थियो । मोबाइलको बजारमा गुणस्तरीय सामान मात्र बेच्ने र ग्राहकलाई दिएका सबै सामग्रीको गुणदोषको इमानदारीपूर्वक बताउने अचम्मको बानी छ भर्जिन मोबाइल प्रालिका प्रबन्ध निर्देशक विवेक शर्माको । ग्राहकप्रति 'पूर्ण समर्पित' शर्माको कम्पनीले उनीहरूलाई नै सर्वोपरि मानेको छ । 'कष्टमर फर लाइफ' उनको कम्पनीको 'भिजन' हो । ग्राहकलाई देवता समान मान्ने उनी आफ्नो शोरूम उनीहरूले खचाखच भरिनुलाई आफ्नो अहोभाग्य मान्छन् । उनलाई 'कामले काम' दिलाएको छ । त्यसो त उनी पनि रातबिहान, झरीबादल र आँधीतूफान केहीको वास्ता नगरी मेहनत गरिरहन्छन् । उनको अनवरत परिश्रम र कम्पनीका सबैको सामूहिक प्रयासको सम्मिश्रण नै छोटो समयमा प्राप्त सफलताको रहस्य हो ।
जस्तोसुकै चुनौतीको सहजरूपमा सामना गर्नुपर्ने मान्यता छ शर्माको । हरेक दिन चुनौतीपूर्ण हुने र त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्ने उनको अभिमत छ । मोबाइलका खाली बट्टाले शोरूम भरेर प्रारम्भिक दिनमा संघर्ष गरेको झल्झली सम्झना हुन्छ उनलाई । ठूल्ठूला साहूमहाजन, साथीभाइ र आफन्तको विश्वासमा सामान ल्याएर थालिएको व्यापारले यति चाँडै स्थायित्व प्राप्त गर्ने उनले कल्पना पनि गरेका थिएनन् । तर, 'कर्म गर फलको आशा नगर' भन्ने ईश वचन पालना गर्दा त्यो आफ्नो जीवनमा ठयाक्कै अनुवाद भएकोमा गर्व गर्छन् उनी । एशियन पेण्ट्समा केही समय काम गर्दा पूर्वयोजना बनाएर कार्यसम्पादन गर्ने उनको बानी थियो । कठोर परिश्रम उनको सफलता सूत्र हो । यद्यपि आफूलाई सफल भन्न उनी रुचाउँदैनन् । आफ्नो मूल्याङ्कन अरूले गर्नुपर्ने उनलाई लाग्छ । समूहगत कार्यमा विश्वास गर्छन् उनी ।
स्पष्ट दृष्टिकोणसहितको कार्ययोजना र त्यसलाई व्यवहारमा अनुवाद गर्ने दृढ इच्छाशक्ति तथा आत्मविश्वासबाट व्यवसाय र व्यवसायी दुवै सफल हुने शर्माको ठम्याइ छ । उनीसँग सहकार्य गर्नेहरू उनलाई आफ्ना भनाइ स्पष्ट शब्दमा प्रस्तुत गर्ने र समूहगत रूपमा पनि प्रभावकारी ढङ्गले काम गर्न सक्ने प्रतिभावान् उद्यमी मान्छन् । 'सफल उद्यमी बन्न सेवक बन्नुपर्छ' लगानी गर्दैमा व्यवसाय नफस्टाउने बरु विनयी भएर सेवकका रूपमा काम गरे लक्ष्यमा पुग्न सकिने तर्क गर्दै उनी भन्छन् । आफ्नो व्यवसायलाई इमानको व्यापार भन्न रुचाउने उनले ग्राहक आकर्षित गर्न थरीथरीका योजना ल्याएर विक्री बढाइरहेका छन् । प्रियसीलाई प्रणय दिवसमा मोबाइल उपहारको अफर होस् वा नव वर्षमा नवदम्पतीलाई नवीन इलेक्ट्रोनिक 'ग्याजेट' खाली हात जान नहुने मनोवैज्ञानिक सन्देश पनि दिने उनको अचम्मको विज्ञापन एवम् बजार प्रवर्द्धनको शैली छ । दत्तचित्त भएर पेशामा लागेकाले दीपक मल्होत्राजस्ता नाम चलेका मोबाइलका व्यापारीलाई पछाडि पारेका छन् उनले ।
भारतको दरभङ्गाबाट वाणिज्यशास्त्रमा स्नातक गरेका शर्मा जीवनको अट्ठाइसौं वसन्तमा हिँड्दै छन् । सप्तरीको राजविराजमा जन्मेहुर्के भए पनि पारिवारिक व्यापारका कारण उनी त्यता गएका हुन् । वैयक्तिक जीवनबारेको प्रचारलाई तर्कसङ्गत नमान्ने उनी ७५ ओटै जिल्लामा भर्जिन मोबाइलका शाखा सञ्चालन गरेर मुलुकको आर्थिक विकासमा योगदान गर्ने प्रमुख लक्ष्य रहेको बताउँछन् शर्मा । देशको विकासबाट नै व्यक्तिको विकास हुन्छ भन्ने उनी सबै नेपालीको उन्नतिमा जोड दिन्छन् । शोषितपीडित तथा शारीरिक रूपमा अशक्तलाई उनी हरसम्भव सहयोग गर्छन् । र, कहिलेकाहीँ मनको शान्तिका निम्ति मन्दिर पनि जान्छन् । शिवभक्त उनी भोला बाबाकै कृपाबाट आजको अवस्थामा पुगेको बताउँछन् । ऊर्जाशील उमेरमा नै समाज र राष्ट्रको उन्नयनमा योगदान गर्ने चाहना छ उनको । 'सानो देश भएकाले ठूलो दिलका साथ यसको विकास गरौं' व्यवसायसँगै राष्ट्रोत्थानको भावना व्यक्त गर्न उनी चुक्दैनन् ।
Admin 2011-05-31