''नीति नै नैतिकता'' - दिव्यमणि राजभण्डारी
प्रबन्ध निर्देशक
नेपाल कन्ष्ट्रक्सन एण्ड इञ्जिनीयरिङ कर्पोरेशन प्रालि
नेपाली समाजलाई उनले उचाल्न, उजिल्याउन र उन्नत पार्न सकेको योगदान गरिरहेका छन् । आफू बसेको समाजलाई समृद्ध, सुखी र सुन्दर बनाउन समाजका सबै वर्ग संयुक्त रूपमा लाग्नुपर्नेमा उनको जोड छ । नेपाल र नेपालीको उन्नतिका निम्ति काम गर्न उनी समाजका सबै वर्गलाई आव्हान गर्छन् राजनीतिक दलका नेताझै । राष्ट्रिय स्वार्थका अगाडि दलीय स्वार्थ गौण हुन्छ भन्ने उनी व्यक्ति धनी होइन मुलुक समृद्ध हुनुपर्ने मान्यता राख्छन् । देखेको कुरा हाकीहाकी भन्ने उनलाई कसैले 'बक्स्योस्' भनेको फिटिक्कै मन पर्दैन । गणतन्त्रात्मक मुलुकमा त्यस्तो शब्दावलीको प्रयोगलाई उनी 'दरबारिया' भन्छन् र आफूसँगको संवादमा त्यो शैलीमा प्रस्तुत नहुन अनुरोध गर्छन् । नेपाल कन्ष्ट्रक्सन एण्ड इञ्जिनीयरिङ कर्पोरेशन प्रालिका प्रबन्ध निर्देशक दिव्यमणि राजभण्डारीले बाबुले बसाएको व्यवसायलाई निरन्तरता दिएको पनि ३७ वर्ष पूरा भइसकेको छ । यो अवधिमा उनले धेरै उतारचढाव झेल्नुपर्यो, तर व्यावसायिक मर्यादालाई जोखिममा पारेर उनले कहिल्यै काम गरेनन् । उनलाई लप्पनछप्पन केही आउँदैन र, त्यसो गर्नेलाई पनि ठेगान लगाउन उनी पछि पर्दैनन् । ५३ वर्षदेखि सञ्चालनमा आएको उनको कम्पनी नेपालको पहिलो निर्माणकार्यसम्बद्ध संस्था हो । आजका मितिसम्म उक्त संस्थाले हासिल गरेको सफलता उनका निम्ति प्राकृतिक हो । भन्छन्- पिताले स्थापना गरेको कम्पनीलाई निरन्तरता दिएको छु, मैले यसमा ठूलो धनराशि लगानी गरेको छैन ।
आफ्ना बाबु सुब्बा इन्द्रमणि राजभण्डारीको देहावसान भएपछि १८ वर्षको उमेरमा व्यापार-व्यवसायमा लागेका दिव्यमणिले त्रिचन्द्र कलेजमा अध्ययन गरेका हुन् । व्यावसायिक एवम् पारिवारिक दायित्वका कारण स्नातकोपाधि हासिल गर्न सकेनन् उनले । घाँटी हेरर हाड निल्नुपर्छ भन्ने उनलाई ऋण लिएर व्यवसाय गर्न मन लाग्दैन । ५६ वर्षीय उनी सिद्धान्त र मर्यादा बाहिर गएर गरिएको व्यापारलाई चोरी भन्छन् । बजारको प्रवृत्तिअनुसार व्यवसाय नगर्दा सञ्चालन मात्र भएको उल्लेख गर्ने उनी प्राप्त उपलब्धिबाट सन्तुष्ट छन् । मुलकको राजनीतिक एवम् प्रशासनिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँग उठबस र राम्रो सम्बन्ध भए पनि उनले कहिल्यै अनुचित लाभ उठाएनन् । आफूलाई कसैले राजनीतिक पहुँचको फाइदा लिएको भन्नेलाई प्रमाणित गर्न चुनौती दिन्छन् उनी । उनी आफू प्रजातन्त्रवादी अर्थात् नेपाली काङ्ग्रेससँग सम्बद्ध भएको बताउन पनि चुक्दैनन् ।
समूहगत एवम् कार्यगत एकताले दिव्यमणिलाई उमङ्ग र ऊर्जा दिन्छ । आपसी सहकार्यबाट लक्ष्यमा पुगिने उनको मान्यता छ । उनको कार्यालयमा मालिक- कामदारको विभेद छैन । घरको जस्तै वातावरण छ त्यहाँ । दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न उनी कर्मचारीलाई सल्लाह दिन्छन् । उनलाई ढोङ्गी मानिससँग काम गर्न नपरोस् भन्ने लाग्छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकार दिव्यमणिलाई स्पष्ट वक्ता भन्न रुचाउँछन् । आँटेको काम पूरा गरेरै छाड्ने उनको स्वभावबाट मालाकार प्रभावित छन् । मालाकार उनलाई सफल व्यवसायी लाग्छन् । नेपाललाई देङस्याओ पेङजस्ता चमात्कार गर्न सक्ने नेताको आवश्यकता भएको दिव्यमणिको ठम्याइ छ । छ । विश्वविख्यात व्यक्तिका जीवनी पढ्न उनलाई असाध्यै मन पर्छ । चिनजानका मान्छेको जीवनगाथा उनी खोजीखोजी पढ्छन् । त्यसरी पढ्नुको एउटै उद्देश्य हो उनीहरूको अनुभवबाट सिक्ने र उसले लेखकीय इमान पूरा गरेनगरेको जाँच्ने । मुलुकका एकजना नामचलेका नेताको पुस्तकमा पनि केही वास्तविकता लुकाइएको उनले पाएका छन् । ती नेताको नाम उच्चारण गर्न आनाकानी गर्ने दिव्यमणि त्यसबाट उनीप्रतिको श्रद्धा र सम्मानमा क्षय भएको बताउँछन् । यात्रा गर्दा अधिक पुस्तक पढ्ने उनको बानी छ ।
नैतिकता, सिद्धान्त र आफ्ना मान्यतामा अडिग राजभण्डारी अर्बपतिले झै जीवनयापन गरिरहेको ठोकुवा गर्छन् । नैतिक बन्धनमा रहेर हरेक कर्म गरेको बताउने उनको राजनीतिक एवम् सामाजिक काममा विशेष रूचि छ । भगवान्मा विश्वास गरे पनि विरलै मन्दिर जाने उनी त्यहाँ जाँदा आनन्दको अनुभूति हुने गरेको बताउँछन् । ईश्वरसँग उनी केही माग्दैनन् । मागेर केही प्राप्त नहुने उनको बुझाइ छ । आफ्ना दुइ छोरालाई सरलताको पाठ सिकाउने उनी आफ्नै कम्पनीमा काम लगाउने सोचमा छन् । जेठो छोरा सिर्द्धार्थले उनको त्यो चाहना पूरा गरिसकेका छन् । कार्यालय समय समाप्त भएपछि राजनीतिक बहस एवम् अन्तरक्रिया गर्दा उनलाई रमाइलो लाग्छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी र भान्साघर रेष्टुराँका सञ्चालकसमेत रहेका दिव्यमणि दान दिन्छन् तर त्यसको प्रचार गर्न चाहदैनन् । प्राकृतिक विपत्तिका बेला उनले लाखौं दान गरेका छन् प्रचारविहीन ढङ्गबाट । उनलाई संस्थागत संस्कारको विकास भएजस्तो लाग्दैन । तर युवापुस्ताले निकट भविष्यमा त्यसको अभ्यास गर्नेमा उनी विश्वस्त छन् ।