''नेपालीपन नेपाली मन'' - भरत बस्नेत
संस्थापक, द एक्सप्लोर नेपाल ग्रूप
खोटाङको चिसापानीमा २०१४ सालमा जन्मेका उनले त्रिभुवन विश्वविद्यालयमा वाणिज्यशास्त्रमा स्नातकोत्तर पढ्दा केन्द्रीय पुस्तकालयमा काम गरेर पढाईखर्च जुटाएका थिए । तत्कालीन शाही नेपाल वायुसेवा निगममा काम गर्ने फुपूकी छोरीले ट्राभल एजेन्सीमा लगाइदिएको जागीरमा उनी धेरै दिन टिकेनन् विनाबेतन काम गर्नुपरेकाले । 'तलब नपाएपछि यती ट्राभल्समा काम थालें, डेढ वर्ष त्यहाँ काम गर्दा योग्यतानुसारको पदोन्नति नपाएपछि टाइगर टप्सतिर लागें', तीन दशकअघिका कठिन दिन सम्भFmदै उनी भन्छन् । वर्षको ३ महीना बन्द रहने टाइगर टप्समा ५ वर्ष काम गरेका उनी एकजना जर्मनीका पर्यटकसँगको सँगबाट झण्डै ३ महीनाका निमित्त जर्मनीतिर हान्निए- 'देश पनि देखिने मुख पनि फेरिने' बुढापाकाको भनाइ चरितार्थ गर्दै । जर्मनीबाट फर्किएपछि उनले पहिलोपटक मुलुकमा साइकल टुर र जलयात्रालाई व्यावसायिक रूपमा स्थापना गरेका हुन् । तत्कालीन प्रशासनले ट्राभल एजेन्सी सञ्चालनको अनुमति नदिएकाले 'साइक्लिङ, र्याफ्टिङ र कायाकेयिङ' थाल्नुको विकल्प थिएन- द एक्सप्लोर नेपाल ग्रूपका संस्थापक भरत बस्नेतलाई ।
कामप्रति समर्पित बस्नेतले मुलुकको सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यबाट विदेशीलाई मुग्ध पार्न सकिने ठानेर काकाससुरासँगको साझेदारीमा विसं २०४४ मा भिक्टोरिया ट्राभल्स एण्ड टुर्स स्थापना गरे । पर्यावरणीय पर्यटन प्रवर्द्धन उनको कार्यक्षेत्र हो । नेपाली मौलिक परम्परा र सांस्कृतिक सम्पदा हेर्न पर्यटक लालायित भएका उनको बुझाइ छ । आफ्नोपन अझ भनौं, वास्तविक नेपाली पहिचानको संरक्षणलाई उनले जोड दिएका छन्- इनर नेपाल ट्रेक, कल्चर एण्ड वाइल्डलाइफ टुर्स, कान्तिपुर टेम्पल हाउस, भोजनगृह, कोशी टप्पु वाइल्डलाइफ र गाउँघर बन्दीपुर सञ्चालन गरेर । आफूले देखेभोगेका स्थान हेर्न नभई नदेखेका नयाँ क्षेत्रलाई पर्यटकले रुचाउने तथ्यलाई बुझेर नेपाल र नेपालीको परिचयसँग गाँसिएका वस्तुलाई समेटेर आफूले यस्ता व्यवसाय विस्तार गरेको उनी बताउँछन् । 'नेपाली शैली र परम्परा हेर्ने चाहना पर्यटकको भएकाले तिनको संरक्षणलाई प्राथमिकता दिएको हुँ' तानमा बुनेको कोट र दौरासुरुवालमा सजिएका उनी भन्छन् । भनाइ र गराइमा तादात्म्य कायम गर्ने उनको बानी छ । पाश्चात्य संस्कृति एवम् परम्पराको प्रभाव नेपाली समाजमा परेकोमा खिन्न उनलाई त्यसको संवर्द्धन गर्ने दायित्व हरेक नागरिकले निर्वाह गर्नुपर्ने लाग्छ ।
भिक्टोरिया ट्राभल सञ्चालनको क्रमसँगै बस्नेतको यूरोप-अमेरिकाको यात्रा पनि बाक्लियो जहाँबाट उनले राष्ट्रविकासको मार्गचित्र इमानदारीपूर्वक गरिने काम नै हो भन्ने बुझे । समर्पित भएर गरेको कामले सुखद परिणाम दिने विश्वासका साथ उनले श्रीगणेश गरेका पर्यापर्यटनको उद्यमले मुलुकमा बेग्लै पहिचान कायम गरेको छ । भौतिकभन्दा पनि आध्यात्मिक एवम् सांस्कृतिक रूपमा वैभवपूर्ण हुनुपर्ने उनको मान्यता छ । सम्पत्ति आर्जनको विषय उनलाई गौण लाग्छ । उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगबाट मुलुकको आर्थिक उन्नयन सम्भव हुने उनको बुझाइ छ । बस्नेतको सिङ्गो जीवनशैलीले नेपालीपन झल्किन्छ भने उनले गर्ने व्यवसायमा संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्य अन्तरनिहित रहने गरेको छ ।
व्यापारघाटा बढेकोमा बस्नेत चिन्तित छन् । निर्यातजन्य उद्योगको हाराहारीमा रहेको पर्यटनक्षेत्रको चौतर्फी विकासबाट विदेशीमुद्रा आर्जन गर्न सकिनेमा विश्वस्त उनको व्यवस्थापन मन्त्र इमानदारी हो । संस्थागत विकासलाई अधिक ध्यान दिने उनी एकले अर्कालाई सघाउनुपर्नेमा जोड दिन्छन् । आपसी सहकार्यबाट सफलता सहज हुने उनको ठम्याइ छ । कुनै समय ५ सय कर्मचारीलाई रोजीरोटी कमाइको अaसर दिएका थिए उनले भने अहिले त्यो आधामा झरेको छ । कर्मचारीलाई गाह्रोसाह्रो पर्दा सघाउँछन् उनी । र, उल्लेखनीय कामको सार्वजनिक रूपमा प्रशंसा गरेर अझ राम्रो गर्न हौस्याउँछन् । चरम राजनीतीकरणका कारण कामप्रति उत्प्रेरणा जगाउने अवस्था नरहेको उनको अनुभव छ ।
कृषिमा आत्मनिर्भर हुन सकिने वास्तविकतालाई बिसन नहुनेमा जोड दिन्छन् बस्नेत । घरेलु उद्योगको विकास, फलफूलखेती, मूर्तिकला, काष्ठकला, जडीबुटीको प्रशोधन तथा निर्यात देशको आर्थिक पक्ष सबल बनाउने औजार भएका उनको विश्लेषण छ । व्यावसायिक शिक्षा एक्काइसौं शताब्दीको आवश्यक भएको उल्लेख गर्ने उनी दक्ष मानवशक्ति उत्पादन अपरिहार्य भएको बताउँछन् । 'कपाल काट्ने, जुत्ता सिउने, कपडा सिलाउनेजस्ता गर्न सकिने कामका लागि पनि हामीले बाहिरियालाई लगाएपछि राष्ट्र निर्माणको यज्ञ कसरी सम्पन्न हुन्छ ?' बढ्दो परनिर्भरताले जरा गाडेकोमा खिन्न हुँदै प्रत्रि्रश्न गर्छन् । मुलुकको कुल जनसङ्ख्यामध्ये ५० लाखले मात्र इमानदारीपूर्वक ८ घण्टा काम गरेमा देश विकास गर्न बेर नलाग्ने उनको दाबी छ ।
सबैसँग समान व्यवहार गर्छन् बस्नेत । संस्थागत सामाजिक उत्तरदायित्व ज्यादै गहन विषय लाग्छ उनलाई । समाजोत्थानका लागि यसको खासै उपयोग भएको अनुभव गरेका छैनन् उनले । भन्छन्, 'अरूलाई कठिनाइ हुने गरी व्यवसाय नगर्नु पनि सीएसआर हो । ' कोशीटप्पुका तीनओटा प्राथमिक विद्यालय र समता विद्यालयलाई निरन्तर सहयोग गर्दै आएका छन् उनले ।
Admin 2011-04-01