फराकिलो सोच
कृष्णप्रसाद ताम्राकार
प्रमुख कार्यकारी अधिकृत
आरएस एक्सपोटस्/आरएस मेटल क्राफ्टस्
'नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा नेकपा एमालेले ह्वीप जारी गर्नु र केही उद्यमी साथी पैसामा बिकेपछि कसको के लाग्छ ?' हालै सम्पन्न महासङ्घको निर्वाचनमा आफूलगायत आफ्नो प्यानलका अधिकांश सदस्य पराजित भएको कारण कोटयाउँदै महासङ्घका पूवउपाध्यक्ष कृष्णप्रसाद ताम्राकार भन्छन् । झण्डै अढाइ दशकदेखि महासङ्घमा सक्रिय उनले यस पटकको निर्वाचनमा जस्तो बेथिति कहिल्यै नदेखेको बताए । 'भ्याटले ब्याक फायर गर्यो' आफूसहित आजाद श्रेष्ठ सम्बद्धसमूहको हारको अर्को कारण खुलाउँछन् उनी । नक्कली बिल बनाएर करीब रू. १२ अर्ब मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा महासङ्घले मौन रहनु विडम्बनापूर्ण लाग्छ उनलाई । र, सरकार, सार्वजनिक लेखासमितिजस्ता संसदीय समितिसमेत निष्क्रिय रहनुलाई 'मिलेमतो'को संज्ञा दिन्छन् उनी ।
ताम्राकारकै सक्रियतामा महासङ्घमा 'एक गाउँ एक उत्पादन' शुरू भएको हो । हरेक गाउँलाई आर्थिक रूपले सबल बनाउन उनले उत्पादनको सम्भावना भएका स्थानको हावापानीअनुसारका उपजलाई बढावा दिएका छन् । दोलखामा लोक्ता, भक्तपुरमा लप्सी, सिन्धुली र रामेछापमा जुनार, रसुवा र नुवाकोटमा ट्राउट माछा, बर्दिया र सिरहामा बेल, ललितपुरमा सुनगाभा, स्याङ्जामा जैविक कफी अनि कास्कीको लेखनाथलाई 'एग्रो टुरिजम' को केन्द्रमा रूपान्तरण गर्न उनले निर्वाह गरेको भूमिकाको विपक्षीहरूसमेत सराहना गर्छन् ।
त्रिभुवन विश्वविद्यालयबाट एक बीस वयमा नै वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका ताम्राकारले ६ महीना राष्ट्रिय योजना आयोगमा शाखा अधिकृत भएर काम गरे । त्यहाँ कार्यरत रहँदा पश्चिम जर्मनी भ्रमणको मौका पाएका बेला उनका निम्ति निर्यातको थालनीको सुवर्णनवसर जुटेको हो । यद्यपि उनी व्यापारिक परिवारका सदस्य हुन् । सम्भवतः उनी हस्तकलाका सामग्री निर्यात गर्ने प्रमुख उद्यमीमा पर्छन् । उनले नै मुलुकको हस्तकला प्रवर्द्धनलाई व्यावसायिकतामा ढालेका हुन् । विश्वका विभिन्न मुलुकमा वर्षकोनि आयोजना हुने व्यापार मेलामा महासङ्घको मेला समितिको संयोजक रहेर उनले विश्व बजारमा नेपाली उत्पादन पुर्याउन उल्लेख्य योगदान गरेका छन् । बाबुसँग विद्रोह गरेर यूरोप पुगेका उनले बर्लिन र कोपनहेगनमा पुराना हस्तकलाका सामग्री र थाङ्का बेचे । चरेशबाट बनेका बडेमानका कचौरालाई उनले 'सिङगिङ बाउल' न्वारान गरेर अमेरिका, जापान, स्वीट्जरल्याण्ड र जर्मनीमा निर्यात गरिरहेका छन् । उनको आरएस एक्सपोटस् र आरएस मेटल क्राफ्टस्ले हरेक वर्ष रू.६ करोडभन्दा बढीका सामग्री विदेशमा बेच्दै आएका छन् ।
भक्तपुर इँटा कारखाना, क्लब बाग्मती, भक्तपुर क्राफ्टस् भिलेजका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पतालका कोषाध्यक्षसमेत रहेका ताम्राकार कार्यतालिका बनाएर काम गर्छन् । उनको व्यवस्थापन मन्त्र इमानदारी र परिश्रम हो । समूहगत कार्यप्रणालीमा विश्वास गर्ने उनी स्वामित्वबोधसहितको जिम्मेवारी आफ्ना कर्मचारीलाई दिन्छन् । उनले कैयौं कामदारको बिहेदानसमेत गरेका छन् । 'छोराछोरीलाई झैँ व्यवहार नगरे अन्यत्र जान्छन्' दक्ष तथा शीपवान् कर्मचारी पलायन रोक्न पनि उनीहरूलाई पूर्ण पारिवारिक वातावरण दिएको स्पष्ट गर्दै भन्छन् ताम्राकार । दिइएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पन्न गर्न कर्मचारीलाई प्रेरित गरिरहन्छन् । उनलाई विश्वासघात गर्नेहरूसँग व्यवहार गर्न मन लाग्दैन ।
भक्तपुरका इँटाभट्टालाई विस्थापित गरेर त्यहाँ ५ तारे होटल बनाउनुपर्नेमा जोड दिन्छन् ताम्राकार । राजधानीका सडकको बढ्दो सङ्कुचन, शान्त र स्निग्ध स्थानको अभाव पूरा गर्न पनि भट्टा मालिकलाई समेत सहभागी गराएर होटल स्थापना गर्नुपर्ने उनको मत छ । भक्तपुरको चौतर्फी विकासलाई लक्ष्य बनाएका उनी त्यहाँका स्थापित नेताहरूलाई विकासे कामका निम्ति पनि बारम्बार झकझक्याइरहेको बताउँछन् ।
मुलुकमा संस्थागत संस्कृति र संस्कारले गति लिएको मान्दैनन् ताम्राकार । आस्तिक हुन् उनी । समय पाउँदा मन्दिर जान्छन् । त्यसो गर्दा उनलाई अनुशासनमा रहन प्रेरणा प्राप्त हुन्छ । ब्रा⋲मणलाई दान नगर्ने उनी अनाथ बालबालिकाको भरणपोषण एवम् शिक्षामा सघाइरहन्छन् । क्यान्सर अस्पतालमा आउने निःसहाय तथा आर्थिक रूपमा अक्षम बिरामीलाई पनि सकेको सहयोग गरेर संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिरहन्छन् उनी ।