'सोफीको सफा मन' - सोफी उपाध्या
अध्यक्ष, भान्छाघर
'महिलाहरू घरको चौघेरा र चुलोचौकाबाट बाहिर नआएसम्म महिला सशक्तीकरणको विषय कुरामा मात्र सीमित हुन्छ' उनी नारी वर्गको उत्थानको उपाय उजागर गर्छिन् । पुराना पुस्ताले पूर्वीय पद्धतिमा बनाएको पुरातन शैलीको घरमा नेपालीले हरेक दिन खाने परम्परागत परिकार पस्कने भान्छाघरकी अध्यक्ष सोफी उपाध्यालाई पुरुषप्रधान समाजले नारीजगत्लाई अझै पनि पूर्ण स्वतन्त्रताको उपभोग गर्न नदिएको महसूस हुन्छ । स्वतन्त्रताका नाममा उच्छृङ्खल र असामाजिक क्रियाकलाप गर्नेविरुद्ध कठोररूपमा प्रस्तुत हुने उनको बानी छ । स्त्री जातिले आफ्नो इज्जतको ख्याल आफै गर्नुपर्ने र तदनुरूप जीवन जिउनुपर्ने उनको बुझाइ छ । आफ्ना दुइ सन्तानप्रतिको सम्पूर्ण कर्तव्य पूरा भएपछि घरमा नै बसिरहनुभन्दा २१ वर्ष पहिले श्रीमान्ले साझेदारीमा सञ्चालन गरेको भान्छाघरको नेतृत्व सम्हाल्न दुइ वर्षअघि भान्छाघर छिरेकी हुन् सोफी । एकपटक भान्छाघरको भोजन गर्नेहरू बाहिर खाना खाने योजना बन्नासाथ सपरिवार त्यही पुग्ने- सोफीको ठहर छ । उनको कुशल व्यवस्थापन र रेखदेखमा पस्किइने स्वस्थकर एवम् स्वादिष्ट परिकार त्यो आकर्षणको कारण भएको बुझ्न गार्हो होइन ।
घरको जस्तो वातावरण, प्रचुर सरसरसफाइ, स्वादिला खानेकुरा नै भान्छाघरका आकर्षण हुन् । पश्चिमा खाना खाँदाखाँदा वाक्क भएका तथा नेपाली र नेवारी स्वादका पारखीलाई एकपटक भान्छाघरका परिकार चाख्न उनी आग्रह गर्छिन् । भान्छाघर पर्यटकप्रति लक्षित भए पनि उच्च मध्यम वर्गीय परिवारलाई उनको रेष्टुराँमा खाना खान मूल्य बाधक नहुने उनी बताउँछिन् । प्रचलित बजार भन्दा खासै फरक छैनको रेष्टुराँको 'रेट'। मुखै रसाउने आलुतामा, कराहीमा पकाएको कालोदाल अनि गुन्द्रुक र सिन्कीको स्वाद लिन भान्छाघरलाई बिर्सन नहुनेमा उनी जोड दिन्छिन् । सबै कर्मचारीलाई परिवारको सदस्यझै व्यवहार गर्ने, उनीहरूलाई सारोगारो परेको बेला भौतिक एवम् आर्थिक सहयोग उपलब्ध गराउने उनको बानी छ ।
असल काम गर्न कर्मचारीलाई सधैँ अभिप्रेरित गर्ने तथा आफू कार्यरत संस्थाप्रतिको स्वामित्वबोधले सहजढङ्गले उनको व्यवसाय सञ्चालन भइरहेको छ । इमानदारी, कामप्रतिको समर्पण, सामूहिक कार्यगत भावना र आपसी प्रेमले मालिक कामदारबीचको सम्बन्धलाई परिवारको सदस्यमा परिणत गरेको छ- सोफीको कार्यशैलीले । स्तम्भकारको परिचयप्रति अनभिज्ञ उनको रेस्टुराँमा द्वारपालको भूमिका निर्वाह गरिरहेका एकजना ज्येष्ठ नागरिक सोफीलाई 'आँखामा राख्दा पनि नबिझाउने' ममतामयी महिला भन्छन् । उनले हुनेखाने गृहिणीहरूलाई समेत तितौरामस्यौरा र गुन्द्रुक उत्पादनमा उत्प्रेरित गर्दै आएकी छन् ।
सीमान्तकृत वर्गका नारीलाई शीप सिकाउन उनी पछि पर्दिनन् । र, उनीहरूका उत्पादनको बजारीकरणमा मद्दत गर्छिन् । कुनै पनि काम तुच्छ हुँदैन भन्ने भावनाले काम गर्न उनी युवापुस्तालाई सुझाव दिन्छिन् ।
दुइ नातिनातिनीकी हजुरआमा उपाध्या मनको शान्तिका लागि हरेक बिहान एक घण्टा गणेश र लक्ष्मीको पूजाअर्चनामा बिताउँछिन् । समयसारिणी बनाएर काम गर्ने संस्कारका कारण घडीको सुईसँगै उनको दैनिकी चल्छ । 'सादा जीवन उच्च विचार'की उनलाई शृङ्गारका लागि 'पार्लर' धाउनुपर्दैन- न त उनलाई भद्दा 'मेकअप' मनपर्छ । सेण्ट मेरिज स्कूलबाट विद्यालय शिक्षा हासिल गरेकी उनले स्नातकतहसम्मको अध्ययन पद्मकन्या कलेजबाट गरेकी हुन् । शिक्षालाई विश्व हेर्ने र बुझ्ने ज्ञानज्योति ठान्ने उनलाई पढाइ पूरा नगरी वैवाहिक बन्धनमा बाँधिनु श्रेयस्कर लाग्दैन । दिउँसो रायोको साग र कुखुराको साँधेको मासुसँग फापरको रोटी खाने उनी रातिमात्र दालभात खान्छिन् । मह मिसाइएको एकग्लास कागतीपानीले बिहान थेग्ने उनी यामअनुसारका फलफूलले क्षुधा मेट्छिन् । पौडिनु उनको शोख हो । यूरोप अमेरिकाको भ्रमण गरेकी उनले देशदर्शन भने यथेष्ट रूपमा गर्न पाएकी छैनन् ।
गीतसङ्गीतप्रति रुचि भएकी उपाध्या नारी भएर जन्मेपछि खसम, घर र लालाबालाप्रतिको जिम्मेवारीबाट कदापि विमुख हुन नहुने बताउँछिन् । हास्यव्यङ्ग्यप्रधान टेलिशृङ्खला र हिन्दी टेलिसिरियलबाट मनोरञ्जन लिने उनी लामो समयसम्म सुवास दिने अत्तरलाई प्राथमिकता दिन्छिन् । 'घाँटी हेरेर हाड निल्नुपर्छ' आहानलाई आत्मसात् गर्ने उनी मोटर, मोबाइललगायत साधनले काम दिउञ्जेल फेर्दिनन् । उनी आफूले गर्ने दानदातव्यलाई गोप्य राख्न चाहन्छिन् ।