शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''लक्ष्य गरीबी घटाउने'' - दीपक आचार्य
प्रबन्ध निर्देशक, जेनिथ कार्पेट इण्डष्ट्रिज
आफ्नो रगतमा राजनीति रङमङाए पनि उनी त्यसबाट धेरै टाढा छन् । चिनजानका मान्छेले उनलाई भूतपूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यका पनातिको पहिचान दिन्छन् । तर, उनी आफ्नै काम र नामले समाजमा स्थापित भएका छन् । सामूहिक हितलाई स्वार्थरहित भावले बढी महत्त्व दिएर काम गर्न नसक्नेले राजनीतिमा लाग्नु उनका निम्ति लक्ष्यविहीन गन्तव्य हो । जेनिथ कार्पेट इण्डष्ट्रिजका प्रबन्ध निर्देशक दीपक आचार्यलाई मुलुकको आर्थिक उत्थानका निम्ति भरपर्दो भविष्यद्रष्टा, पवित्र परोपकारी र नेतृत्वकुशल व्यक्तिको आवश्यक लाग्छ । राजनीतिलाई उनी फोहोरी खेल भन्छन् र नेतृत्व वर्गको आलोचनात्मक समर्थन गर्छन् । गलैंचाको व्यापार नफस्टाए पनि उनले १ सय कामदार राखेर व्यवसाय धानिरहेका छन् । दक्ष कामदारको अभावमा देशको भविष्य  भर्सेलामा पर्ने हो कि भन्ने चिन्ताले उनलाई सताउने गरेको छ । गलैंचाको मागअनुसार आपूर्ति गर्न नसकेकोमा पनि उनी खिन्न भएका छन् । उनको चिन्ताको कारण हो- कामदारको कमी । गुणस्तरीय उत्पादनका निम्ति उनीहरूको अपरिहार्यता उनलाई खट्केको हो ।

साना तथा मझौला उद्योग व्यवसायी महासङ्घको महासविचसमेत रहेका ४६ वर्षीय आचार्य कर्मचारीसँग मित्रवत् व्यवहार गर्छन् । उनीहरूको गर्जो टार्न सकेको सहयोग गर्छन् । अनुशासनमा जोड दिने उनी व्यवसायमा बेलगाम घोडाको औचित्य देख्दैनन् । हरेक कर्मचारीलाई कामप्रति समर्पित हुन प्रोत्साहन गर्ने उनको बानी छ । २१ वर्षअघि २ करोडको लगानीमा थालिएको उनको गलैंचाको कारोबारमा मन्दी छाएको एक दशक नाघिसकेको छ । सकारात्मक सोचका धनी उनी हरेक कालो बादलमा चाँदीको घेरा देख्छन् र दुखम्सुखम् व्यवसाय धानिरहेको बताउँछन् । मुनाफाको मात्रा मासिँदै गएकाले 'ब्रेकइभन' बताउन बोझिलो मान्छन् उनी । गरीबी घटाउन यथाशक्य योगदान गर्ने उनको लक्ष्य छ । महासङ्घको महासचिवको हैसियतमा उनले विपन्न वर्गलाई सम्पन्न पार्ने योजनाको खाका अघि सारेका छन् । 'एकघर एक व्यवसाय'लाई राष्ट्रिय तहमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।

युवा तथा महिला वर्गलाई आय तथा रोजगारीमूलक काममा लगाउन नयाँ उद्योगको पहिचान गर्नुपर्ने आचार्यको धारणा छ । नमूनाका रूपमा देशका पाँचओटै विकास क्षेत्रमा वस्तु सञ्चय केन्द्र स्थापनाको अभियानमा उनी जुटेका छन् । अलैंची, अदुवालगायत स्थानीय उत्पादनको भण्डारणका निमित्त त्यस्ता केन्द्र आवश्यक भएको उनको बुझाइ छ । चिया, कफी, फलफूलखेतीबाट आय आर्जन गर्न सकिने भएकाले १०-१२ हजार रुपैयाँका लागि खाडी मुलुक नताक्न युवा वर्गलाई उनको अनुरोध छ । आगामी २ वर्षभित्र ती केन्द्र स्थापना हुने उनको दाबी छ । तयारी वस्तु आयातमा रोक लगाउन र स्वदेशी उत्पादनलाई प्रश्रय दिन महासङ्घले अभियान थालेको उनी उल्लेख गर्छन् । 'चीन र भारतबाट आउने तयारी सामान रोक्न सरकारले सघाउनुपर्छ' सुक्न लागेका स्वदेशी उद्योग उकास्ने उपाय सुनाउँछन् उनी ।

स्नातक तहमा पढ्दा साथीभाइको लहलहैमा लागेर गलैंचा व्यवसायमा होमिएका आचार्यले छालासँग सम्बन्धित उद्योगमा पनि मनग्गे लगानी गरेका छन् । उनका उत्पादन कलेज र विद्यालयका विद्यार्थीमाझ लोकप्रिय भएका छन् । छालाजन्य आफ्ना उत्पादनलाई अमेरिका निर्यातको तयारी गरिरहेका छन् उनले । निर्यातयोग्य वस्तु उत्पादन गर्न सक्षम भएकोमा आफूलाई सफल उद्यमी भन्न रुचाउँछन् आचार्य । हिन्दूधर्म मान्ने उनलाई ईश्वरको आराधनाबाट आत्मशान्ति प्राप्त हुन्छ । दुइ छोरी र एक छोराका पिता उनलाई परिवारले समय नपाएको गुनासो सुनिरहनु परेको छ- महासङ्घ र आफ्ना दुवै उद्योगलाई समय दिँदा ।

मुलुकमा संस्थागत संस्कृतिको विकासले क्रमशः गति लिएको आचार्यको ठम्याइ छ । आफू बसेको समाजको विकासका लागि आर्थिक एवम् भौतिक रूपले मद्दत गनुपर्ने उनको अभिमत छ । चारुमति बालस्याहार तथा शिक्षाकेन्द्र र धारापानी सामाजिक सेवा समितिमार्फत उनले अविराम समाज सेवा गरिरहेका छन् ।