शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सस्तोमा शिक्षा
डा. दीपकबहादुर शाक्य
कार्यकारी निर्देशक
वीरगञ्ज पब्लिक कलेज (बीपीसी)

कलेजमा पढाएबापतको तलबले उनले प्रशस्त आयआर्जन गर्ने र प्रतिष्ठित हुने आफ्नो सपना पूरा हुने देखेनन् । त्यसैले २०४२ सालमा ठाकुरराम बहुमुखी क्याम्पसका अस्थायी शिक्षक डा. दीपकबहादुर शाक्यले जागीर छाड्ने निधो गरे । तर, तत्कालीन क्याम्पस प्रमुख डा. मोहनप्रसाद लाखेले शिक्षामै उज्ज्वल भविष्य भएको बताएपछि उनको विचारमा एकाएक परिवर्तन आयो । विद्यार्थी जीवनमा राजनीति गरेका शाक्यले भविष्यमा नेता बन्ने वा व्यवसाय गर्ने सोचेका थिए । तर, परिस्थितिले उनललाई शिक्षण पेशामा नै अडयाइराख्यो । 'मेरो भाग्यमा नै शिक्षा क्षेत्रमा नै केही गर्नु भनी लेखेको रहेछ,' उनी भन्छन्, 'त्यसैले आज मेरो जीवनमार्ग नै शिक्षा भएको छ ।'डा.मोहनप्रसाद लाखेलाई आफ्नो प्ररणाको स्रोत मान्ने उनी कुनै पनि अवस्थामा लाखेलाई बिसन नसक्ने उनी बताउँछन् । वीरगञ्जमै जन्मेहुर्केका ५१ वर्षीय डा. शाक्यले वीरगञ्ज र आसपासका विद्यार्थीका लागि यसै ठाउँमा उच्च शिक्षाका लागि सुविधा दिने उद्देश्यले १० वर्षअघि वीरगञ्ज पब्लिक कलेज (बीपीसी)को स्थापना गरेका हुन् ।

वीरगञ्जको कन्या स्कूलमा विसं २०५८ सालमा रू. ५ लाख लगानी गरेर शाक्यले उच्च माध्यमिक कक्षा सञ्चालन गरे । त्यसको २ वर्षपछि बीबीएस र बीबीएको कक्षा सञ्चालन गरे । २०६३ सालमा नारायणी अञ्चलमै पहिलोपटक उनले एमबीएको कक्षा सञ्चालन गरे । एमबीएको पूरा अध्ययनका लागि उनको कलेजमा १ लाख ५ हजार रुपैयाँ खर्च लाग्छ । यति कम शुल्कमा नेपालमा अन्यत्र कतै पनि एमबीएको अध्यापन नहुने शाक्य दाबी गर्छन् ।

सामान्य परिवारका शाक्यले बैङ्कबाट ऋण लिएर कलेज स्थापना गरेका हुन् । अहिले पनि बैङ्कको ऋण तिर्दै छन् । एकपछि अर्को गरेर सफलताको खुड्किलो चढ्दै गइरहेका शाक्यले पछाडि फर्केर हेर्नुपरेको छैन । अहिले कलेजको आफ्नै चारतले भवन छ । कलेजमा २ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । बीपीसीबाट उत्तीर्ण उत्कृष्ट विद्यार्थीहरू वीरगञ्जका विभिन्न बैङ्कमा कार्यरत रहेको शाक्यको भनाइ छ । बीपीसीमा ५ करोडभन्दा बढीको लगानी छ भने वार्षिक आम्दानी अढाइ करोड हुने उनी बताउँछन् । विद्यार्थीको चाप थेग्नै नसक्ने गरी भएपछि उनी अर्को भवन बनाउन जुटेका छन् । मध्यतराईमा बीबीएको अध्ययन-अध्यापन शुरू गर्ने श्रेय शाक्य र उनको कलेजलाई नै जान्छ ।

ट्रेड युनियन विषयमा विद्यावारिधि गर्ने डा. शाक्य नेपालमै पहिलो व्यक्ति हुन् । मगध विश्वविद्यालय भारतबाट विद्यावारिधि गरेका शाक्यको व्यवस्थापन सूत्र कामको उचित बाँडफाँट र कर्मचारीप्रतिको विश्वास नै हो । उनको कलेजमा शिक्षक र कर्मचारी गरेर ९० भन्दा बढी कर्मचारी छन् । शुरूमा शिक्षालाई नै व्यवसाय बनाउँदा धेरैले ठट्टामा उडाएको उनको मानसपटलमा अझ ताजै छ । 'मैले अँगालेको पेशा धेरैका लागि हाँसो भयो, खुट्टा तान्ने पनि उत्तिकै भए, तर पनि मैले हरेश खाइनँ', उनी विगत सम्झँदै भन्छन् ।  सकारात्मक सोच र दृढ अठोट सफलताका लागि नभई नहुने उनको बुझाइ छ । शिक्षण पेशालाई 'रोयल जब' मान्ने शाक्य यस पेशाले नाम, दाम र प्रतिष्ठा सबै दिने मान्छन् । राम्रो शिक्षकले नै उत्कृष्ट विद्यार्थीको उत्पादन गर्ने मान्यता राख्ने शाक्य विद्यार्थीहरूसँग पनि फरासिलो व्यवहार गर्छन् । ठूलो, सानो सबैसँग समान व्यवहार गर्ने र सधैं जस्तोसुकै तनावमा पनि हँसिलो मुद्रामा देखिने शाक्य समाज सेवामा समेत सक्रिय छन् । शाक्य नेपाल जेसिजका राष्ट्रिय अध्यक्षसमेत भइसकेका छन् । हरेक वर्षजाडोमा गरीबहरूलाई कम्बल र ऊनी लुगा वितरण गर्ने कार्यलाई शाक्यले अभियानकै रूपमा सञ्चालन गरेका छन् ।

राति ११ बजे सुतेर बिहान साढे चार बजे उठ्छन् शाक्य । अध्ययन र लेखनमा रुचि राख्ने उनी बिहानको समयलाई भरपूर सदुपयोग गर्छन् । उनले व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुका साथै यसै विषयको सेरोफेरोमा रहेर थुप्रै किताब र लेख लेखेका छन् । बेलाबेला राजधानीका विभिन्न कलेजमा भिजिटिङ प्रोफेसरका रूपमा पनि पढाउन पुग्छन् । भगवान्प्रति अत्यन्त आस्थावान् उनी दैनिक पूजापाठ गर्छन् । फुसद र बिदाको समयमा घुम्न मन पराउने शाक्यले १० ओटा देशको भ्रमण गरिसकेका छन् । खाली बस्न मन  पराउँदैनन् । घरपरिवारसँग सुखदु:खको कुरा र रमाइलो गरेर साप्ताहिक बिदा मनाउँछन् ।

गुणस्तरीय र सस्तो शिक्षाप्रति प्रतिबद्ध उनी छिट्टै ई-एमबीएका कक्षा सञ्चालन गर्दै छन् । साथै, बीबीए र एमबीएका विद्यार्थीहरूका लागि सबै सुविधायुक्त छुट्टै भवन निर्माण गर्ने उनको योजना छ । वीरगञ्जमा कम्पनी ऐनअन्तर्गत दर्ता भएको कलेज आफ्नो मात्र भएको बताउने शाक्य विद्यार्थीको व्यक्तित्व निर्माण र व्यावहारिक ज्ञानका लागि विभिन्न प्रशिक्षण दिने गर्छन् । 'समाज र देशलाई गुणस्तरीय शिक्षा प्रदान गरेर सेवा दिनु र एउटा सभ्य नागरिकको दायित्व पूरा गर्नु मेरो उद्देश्य हो,' उनी भन्छन् ।

Admin 2011-08-03