बाबुजस्तै शिक्षक
नरेशप्रसाद श्रेष्ठ
प्रिन्सिपल, प्राइम कलेज
'सपना नदेख्ने मान्छेले गन्तव्य पहिल्याउन सक्दैन ।' भन्ने मान्यता बोकेका नरेशप्रसाद श्रेष्ठ शैक्षिक जागरणको अभियानमा सक्रिय छन् । आफैले स्थापना गरेको प्राइम कलेजलाई 'सपनाको साबिती' भन्न रुचाउने उनी अहिले त्यसको प्रवर्द्धनमा व्यस्त छन् । बाल्यावस्थादेखि नै आत्मनिर्भरतामा रमाउने श्रेष्ठ आफूले देखेका सपना साकार हुन लागेको बताउँछन् । 'त्यति उच्च महत्त्वाकाङ्क्षी सपना त मैले कहिल्यै पनि देखिनँ,' उनले भने । उनका समकालीन दौंतरीहरू सरकारी जागीर खान मरिहत्ते गर्थे । तर, श्रेष्ठ भने फरक सोच राख्थे- आफ्नै लगानीमा व्यवसाय सञ्चालन गर्ने र त्यसलाई अगाडि बढाउँदै लैजाने । आखिर त्यो धोको कलेज स्थापना गरेर पूरा गरिछाडे उनले ।
सामूहिक काममा विश्वास गर्ने श्रेष्ठलाई अहिले भ्याइनभ्याई छ । हाल दश जोड दुई (प्लस टू)मा विद्यार्थीको भर्नासम्बन्धी कार्य गरेरै उनको दैनिकी बित्छ । आफ्नो संस्थामा विद्यार्थीको आकर्षण बढिरहेको बताउने श्रेष्ठ दैनिक १२ घण्टा कलेजमै भेटिन्छन् । सूचनाप्रविधि विषयमा पढाइ हुने सीमित शैक्षिक संस्थामध्ये उनको कलेज पनि पर्छ । त्यसैले पनि विद्यार्थी आकर्षण बढिरहेको श्रेष्ठको भनाइ छ । सकेजति सबै विद्यार्थीलाई विश्वासमा लिएर पढाउने उनको बानी छ । त्यसैले उनलाई विद्यार्थीहरू पनि मन पराउँछन् । 'आफ्नै बुबाजस्तै लाग्छ नरेश सर त', सूचनाप्रविधिमा स्नातक गरिरहेकी सरिता पोखरेलले भनिन् ।
एसएलसी परीक्षा दिएर उनले नेपाल कमर्शियल इण्टर प्राइजेजको शोरूममा सहायक पदमा रहेर काम गरे । काम गर्दै पढ्दै गरेर व्यवस्थापनमा स्नातकोत्तर गरे । स्नातकसम्म पढाइको स्थिति सामान्य रहे पनि स्नातकोत्तरमा शङ्करदेव क्याम्पसबाट सर्वोत्कृष्ट अङ्क ल्याउन सफल भएपछि शिक्षाक्षेत्रमा रुचि झन् बढेको उनी बताउँछन् । एक दशक अमेरिकीहरूले सञ्चालन गरेको लिङ्कन स्कूलमा 'सपोट अफिसर'का रूपमा काम गरेका श्रेष्ठले न्यूरोडमा केही साथीसँग मिलेर प्राइम कम्युटस प्रालि खोलेका थिए । प्राइम कलेज त्यसकै आधारमा स्थापना भएको उनी बताउँछन् । त्यसअघि केही समय शङ्करदेव क्याम्पसमा प्राध्यापन गर्नसमेत उनले भ्याएका थिए ।
२०५७ सालमा फाइनान्स, सूचनाप्रविधि, पर्यटन, शिक्षाक्षेत्रका ३० जना मिलेर स्थापना भएको सो कलेज रू. ६० लाखको लगानीमा खुलेको थियो । स्थापनाको १० वर्षपछि अहिले कलेजले रू. ८ करोडभन्दा बढी मूल्यबराबरको पूर्वाधार निर्माण गरिसकेको छ । 'हामी भदौमा आफ्नै भवनमा सर्दै छौं,' उनले भने । संस्थापक सदस्यहरूका लागि आचारसंहिता पनि बनाइएको उनी बताउँछन् । संस्थापकहरूले आफ्ना छोराछोरी अनिवार्य रूपमा प्राइम कलेजमा पढाउनुपर्छ । उनको कलेजमा व्यवस्थापन, मानविकी, विज्ञान र सूचनाप्रविधि विषय रहेका छन् । स्नातकसम्मको पढाइ भइरहेको प्राइममा चाँडै स्नातकोत्तर कक्षा सञ्चालन हुने श्रेष्ठले जानकारी दिए ।
कलेजको स्थापनाकालमा सह नेतृत्वमा रहेका उनी निरन्तर ८ वर्षदेखि संस्थाको नेतृत्व तहमा छन् । उच्च माध्यमिक शिक्षा परिषद्मा व्यवस्थापन विषय विज्ञका रूपमा संलग्न उनले कक्षा ११ का लागि किताब पनि लेखिसकेका छन् । आफ्ना बुबा नारायणप्रसाद श्रेष्ठलाई उनी आदर्श मान्छन् र्।ईश पूजा नगरी उनको दिनचर्या शुरू हुँदैन । उनले आफ्नो संस्था रहेको नयाँबजार आसपासका गृहिणीहरूलाई नि:शुल्क कम्युटर तालीम उपलब्ध गराउँदै आएका छन् ।
सबैसँग सल्लाह गरेर मात्रै संस्थामा काम गर्ने श्रेष्ठको बानी छ । योजना निर्माण गरेर मात्रै कामको थालनी गर्न आफू मातहतका कर्मचारीलाई सुझाव दिन्छन् । 'म कलेजका साथसाथै यसमा काम गर्ने कर्मचारीको पनि विकास होस् भन्ने चाहन्छु,' उनी भन्छन् । आफ्नो संस्थामा शिक्षकको नियुक्ति गर्दा अनुभव र कार्यदक्षतालाई ध्यान दिन्छन् श्रेष्ठ । भौतिक पूर्वाधार विद्यार्थीका लागि सहायक कुरा भएको उनको धारणा छ । संस्थामा शिक्षक र कर्मचारी गरी १ सय ५३ जनाले रोजगारी पाएका छन् । कलेजमा २४ जिल्लाका १ हजार १ सय ५० विद्यार्थी अध्ययनरत रहेको श्रेष्ठले जानकारी दिए । विद्यार्थी जति जिज्ञासु र जागरुक हुन्छन् त्यति नै पढाउन मन लाग्छ उनलाई । 'कक्षा सञ्चालन सहभागितामूलक हुनुपर्छ', श्रेष्ठ भन्छन्, 'कक्षा कोठामा शिक्षक सहजकर्तामात्र हो' ।
काठमाडौँको झोछेंमा २०२० सालमा जन्मेका श्रेष्ठ आफू पनि मध्यम वर्गीय परिवारमा जन्मिएकाले सबै विद्यार्थीको पीडालाई बुझ्ने बताउँछन् । उनको विद्यालयमा उच्च माविले उपलब्ध गराएकाबाहेक पूर्ण छात्रवृत्ति पाएर १४ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । 'हामी आर्थिक स्थिति कमजोर भएका, दुर्गमक्षेत्र र शहीद परिवारका बच्चाहरूलाई उनीहरूको अवस्था हेरेर नि:शुल्क पनि पढाइदिन्छौं', श्रेष्ठ भन्छन् । संस्था पूर्ण नाफामुखी नभएको दाबी गर्ने उनी मुलुकका नेताहरू इमानदार भइदिए सबै समस्या समाधान हुने बताउँछन् ।
Admin 2011-07-03