शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पैसारहित पूँजी
कृष्णमोहन श्रेष्ठ
अध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घ

पेशाले व्यापारी भए पनि उनको प्रमुख ध्येय समाजसेवा हो । समाजसेवामा सक्रिय हुँदा र अरूको व्यवसायलाई सल्लाह सुझाव दिँदादिँदै उनको दैनिकी सकिन्छ । पोखराका व्यवसायीहरू उनलाई उपयुक्त परामर्शदाताका रूपमा चिन्छन् । व्यापारिक घरानामा जन्मे पनि उनी कहिल्यै पैसाको पछि हिँडेनन् । त्यसैले त उनका सहपाठी अर्बौं रुपैयाँको मालिक हुँदा पनि कृष्णमोहन श्रेष्ठ सामान्य अवस्थामा छन् । तर, यसमा उनलाई ग्लानि नभई गर्व छ । उनी आफूले पाएको मानसम्मानलाई जीवनको सबैभन्दा अमूल्य सम्पत्ति ठान्छन् ।

व्यवसायीहरू व्यवसाय शुरू गर्नुअघि  पूवपरामर्श र योजना कार्यान्वयनका लागि उनलाई  समेत अनुरोध गर्छन् । पोखराका उद्योगी व्यवसायीहरूको नेतृत्व लिएका श्रेष्ठको एउटै उद्देश्य सदस्य व्यवसायीहरूलाई व्यवसायमा सफल पार्ने रहेको छ । उनी कहिल्यै आफ्नो मात्र लाभ हुने काममा हिँडेनन् ।

नेपाली र चाइनिज खाना मनपराउने श्रेष्ठको समाजसेवाबाहेक अर्को महत्त्वाकाङ्क्षा राख्दैनन् । बेलुका जति बेला सुते पनि उनी हरेक दिन बिहान ५ बजे नै उठ्छन् । बिहानीको सामान्य व्यायाम र समाचार सुनेपछि उनी आफ्नोदैनन्दिनीमा लागिहाल्छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्ष भएपछि उनले निर्णयनै गरे 'म अब अध्यक्षको कार्यकाल नसकिएसम्म कुनै पनि व्यवसाय गर्दिनँ ।’ 'आफ्नो व्यवसायमा व्यस्त हुँदा अन्य व्यवसायीका समस्या समाधानमा सघाउन समय र वातावरण नमिल्ने भएकाले अहिले आफ्नो व्यवसाय रोकेको छु,’ उनी भन्छन् । कार्यकाल सकिएपछि भने आफ्नो व्यवसायलाई निरन्तरता दिने उनी बताउँछन् । पोखराका व्यवसायी आजाद श्रेष्ठलाई नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको प्रत्याशीमा उठाउन पनि उनैले भूमिका निर्वाह गरेका थिए । देश विकासका लागि सबैले आफ्नोसामाजिक दायित्व पूरा गर्नुपर्छ भन्ने उनको मूलमन्त्र हो ।

सामान्य विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका श्रेष्ठले पोखराकै पृथ्वीनारायण क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन् । पोखराको मोहरिया टोलका स्थायी बासिन्दा श्रेष्ठले केके इण्टरनेशनल नामक खाद्यान्न सप्लायसको माध्यमबाट पोखराको वाणिज्य क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएका छन् । तीन छोरीका पिता श्रेष्ठले आफ्नोव्यावसायिक जीवनको शुरुआत भने अरूको कम्पनीमा कन्सल्टयाण्ट भई शुरू गरेका थिए । त्यही भएर अहिले पनि पोखराका उच्च व्यावसायिक घरानाले व्यवसाय परामर्शका लागि उनैलाई अनुरोध गर्छन् । विसं २०५३ देखि पोखरा उद्योग वाणिज्य सङ्घको सदस्य भई चार कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल महासचिवका रूपमा काम गरिसकेका श्रेष्ठ सबैलाई उचित परामर्श दिनु आफ्नो कर्तव्य ठान्छन् ।

व्यवसायसँगै उनी अभिनयमा पनि अब्बल कलाकार हुन् । उनले थुपै नाटकमा अभिनय गरेर धेरैको मन जितेका छन् । नाटककार सरुभक्तले लेखेको नेपालकै पहिलो विज्ञान नाटक 'युद्ध ग्यास च्याम्बर भित्र’मा उनले सशक्त अभिनय गरेका थिए । अभिनयसँगै श्रेष्ठ कविता र मुक्तक लेखक पनि हुन् । २ महीनापहिले पोखरामा भएको 'टिकटमा मुक्तक कार्यक्रम’मा पैसा तिरेर उनका मुक्तक सुन्न थुप्रै पोखरेली आयोजनास्थल पुगेका थिए । उनी मुक्तकको किताब पनि प्रकाशित गर्दै छन् । व्यवसायमा सफल हुन आर्थिक लाभको कार्यमा मात्र लाग्नुपर्ने अन्यथा सफल नभइने उनको बुझाइ छ । 'व्यवसायमा सफल हुने हो भने गोप्यता खोलेर काम गर्नु  हुँदैन तर म अरूसँग बढी विश्वास गर्छु,  धेरै स्वतन्त्र छु । यही कारण व्यवसायमा सोचेजति सफल हुन सकिनँ,’ उनले भने ।  

पोखरा र समग्र कास्कीकै  विकासका लागि उनले थुप्रै योजना ल्याएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घ र पोखरा उद्योग वाणिज्य सङ्घको संयुक्त प्रयासमा गे्रटर पोखराको अवधारणामा काम गरिरहेको उनले जानकारी दिए  । त्यसका लागि लेखनाथ र पोखरालाई समेट्ने चक्रपथको आवश्यकता देखेका छन् उनले । 'अनि मात्र यस क्षेत्रको कृषि उपजको बजारीकरण हुन सक्छ,’ उनी भन्छन् । पोखरालाई पर्यटकीय गन्तव्य बनाउन सबैले सहयोग गर्नुपर्ने उनको धारणा छ  । यसका लागि अव्यवस्थित बसोबास  नियन्त्रण गर्ने, व्यवस्थित बसपार्क, क्षेत्रीय विमानस्थल, व्यवस्थित वधशालालगायत निर्माणका लागि स्थानीयसँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । सानैदेखि समाजसेवामा रुचि भएका श्रेष्ठ सोहीअनुसार कार्य गरिरहेका छन् । त्यति मात्रै होइन, उनी लायन्स क्लब अफ लेकसिटीको संस्थापक अध्यक्षसमेत हुन् । उनी गर्वका साथ भन्छन्, 'मसँग पैसा छैन तर मसँग जति सम्पत्ति छ, अरू कसैसँग पनि छैन ।' खेलमा समेत रुचि राख्ने आध्यात्मिक श्रेष्ठ फुर्सदमा परिवारसँग बसेर चलचित्र हेर्न मनपराउँछन् ।

Admin 2011-05-02