शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''समर्पण उद्यममा'' - लक्ष्मीदास मानन्धर
अध्यक्ष
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड

चारबीस तीन वयमा पनि उनमा ऊर्जा, उत्साह र उमङ्ग उत्तिकै छ । नामअनुसारको काम छ उनको र त्यो साच्चै चरितार्थ भएको छ उनको जीवनमा- ईश्वरीय अनुकम्पाले । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धर आफूलाई 'स्लिपिङ चेयरम्यान' भन्छन् कर्पोरेशनको कार्यकारी अधिकार आफूमा निहित नरहेको बोध गराउन । २००७ सालतिर उनले पिताको पसलमा बसेर तेल चामल बेचेका थिए भने त्यही बेला टेलिफोन अपरेटर र नेपाल खाद्य संस्थाको मुखिया भएर जनसेवा गरेका थिए । '४ वर्षजति जागीर खाइयो अनि व्यापारतिर लागियो' सरकारी जागीरमा मन नरमाएकाले आफ्नै व्यवसायतिर लागेको खुलासा गर्दै उनी भन्छन् । भारतबाट नून आयात गरेर देशका कुनाकुनामा त्यसलाई पुर्‍याउने सम्भवतः पहिलो उद्यमी उनी नै हुन् ।

राणाशासनविरुद्धको आन्दोलन र राजा त्रिभुवनबाट प्रजातन्त्रको घोषणा भएको अवसर मानन्धरको मनमस्तिष्कमा अझै ताजा छ । दिल्लीबाट फर्केका राजा त्रिभुवनको भाषण सुन्न र त्यहाँको माहोल हेर्न उनी सानोगौचरन विमानस्थल पनि पुगेका थिए । 'बोल्न नहुने, होश गरेर हिँड्नुपथ्र्यो' बाह्य विश्वसँग सम्पर्क गर्न नदिने राणाराजको जनतालाई कुवाको भ्यागुताका रूपमा राख्ने प्रवृत्तिको आलोचना गर्न उनी चुक्दैनन् । जनता जागेर नै राणा र पञ्चायती व्यवस्था ढलेको विश्लेषण गर्ने उनी देशको आर्थिक उत्थानका लागि पनि एकपटक जनजागरण दबाब अपरिहार्य ठान्छन् । 'पञ्चायत कालको उत्तरार्द्धसम्म पनि सुकिलामुकिला मान्छेको ज्यादै कमी थियो, टालेका लुगा लगाउनेको बाहुल्य थियो,' पञ्चायत फाल्न भएको प्रजातान्त्रिक आन्दोलनपूर्वको नेपालीको अवस्था चित्रण गर्छन् उनी ।

जनआन्दोलनका सर्वोच्च कमाण्डरलाई मनग्गे आर्थिक सहायता गरेका मानन्धर प्रजातन्त्र पुनः स्थापनासँगै साम्यवादीहरूसँग निकट हुन पुगे । त्यसो त उनमा पहिलेदेखि नै उनी वामपन्थी विचारधाराले जरा गाडेको थियो । 'संसर्गजा दोषगुणा भवन्ति' भनेझै नजानिँदो पाराले नेकपा (एमाले) का नेताहरूसँग नजिकिए उनी । उद्योगीका हैसियतले उनले पार्टीलाई गरेको सहयोगको सम्मान भयो । २०५८ सालामा उनी राष्ट्रियसभा सदस्य भए भने २०६३ मा अन्तरिम व्यवस्थापिकाको विधायक । नेकपा (एमाले)केन्द्रीय आर्थिक विभागको सल्लाहकार रहेका उनी हिजोआज राजनीतिलाई 'फोहरी खेल'का रूपमा बुझ्न थालेका छन् । राजनीतिक अस्थिरताले देशको अर्थतन्त्र डामाडोल पारेकोमा उनलाई राजनीतिप्रति वितृष्णा जागेको हो ।

विप्रेषणको भरमा देशको अर्थव्यवस्था चलेको लाग्छ मानन्धरलाई । संसारको सुन्दर मुलुक नेपालको आर्थिक विकास पर्यटन प्रवर्द्धन र पानीको उपयोगबाट हुनेमा उनी विश्वस्त छन् । स्थिर सरकार भएमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन कठिनाइ नहुने उनको बुझाइ छ । सरकारको ११ दशमलव ६८ र नेशनल ट्रेडिङ लिमिटेडको ९ दशमलव ७४ प्रतिशत तथा सर्वसाधारणको ७८ दशमलव ५८ प्रतिशत शेयर रहेको साल्ट ट्रेडिङलाई अध्यक्षका रूपमा उनले नेतृत्व गरेको केही महीना मात्र भएको छ । नून, चिनी, मैदा, पीठो, सुजी, चामल, चिउरा, ग्यासलगायत दैनिक उपभोगका अत्यावश्यक सामग्रीको उत्पादन एवम् आपूर्ति गर्दै  आएको छ । उनले नेतृत्व गरेको संस्थामा ४ सयभन्दा बढीले रोजगारी पाएका छन् । सबैलाई समान व्यवहार गर्ने उनको बानी छ । कर्मचारीलाई उत्तरदायित्व र जिम्मेवारीबोधका साथ काम गर्न अभिप्रेरित गर्छन् उनी । दण्ड र पुरस्कारको उत्प्रेरणा पनि सान्दर्भिक लाग्छ उनलाई ।

कर्पोरेशन अन्तर्गतको गोरखकाली टायर उद्योग अव्यावहारिक सरकारी नीतिका कारण मारमा परेको दुखेसो गर्छन् मानन्धर । राष्ट्रिय उद्योगलाई बचाउने नीति नहुँदा ५ सय कर्मचारीले रोजीरोटी कमाउने उक्त उद्योगलाई धराशयी हुनबाट जोगाउन हरेक राष्ट्रभक्त जुट्नुपर्ने बेला आएको उनी बताउँछन् । भारतीय उत्पादन रेडियल टायरको आयातलाई सहज हुने करका दर घटाइएकाले गोरखाकाली जीवनमरणको दोसाँधमा रहेको उनको गुनासो छ । क्षणिक लाभलाई प्राथमिकतामा राखेर काम गर्दा यस्तो अवस्था आएको उनको भनाइ छ ।

समाजसेवा भनेपछि हुरुक्क हुने मानन्धर धार्मिक, शैक्षिक एवम् सांस्कृतिक फाँटमा दानवीर कर्णले झैँ सहयोग गरेका छन् । काठमाडौंको ठहिटीस्थित शान्ति विद्यामन्दिरले चर्चेको तीन रोपनी जग्गा उनले दान गरेका हुन् । पिपल्स क्याम्पसमा पनि उनको उल्लेख्य सहयोग छ । दानधर्मको प्रचार गर्नु उनलाई वाञ्छनीय लाग्दैन । मानन्धर समाज गुठी, धर्मोदयसभालगायत दर्जनौं धार्मिक एवम् सामाजिक सङ्घसंस्थामा सम्बद्ध उनले हालै एक हूल वृद्ध तथा अधबैंशे र युवालाई वराहक्षेत्रको तिर्थाटन गराएर पुण्य कमाएका छन् । उनको कसैसँग रिसइबी पनि छैन न एक रुपैयाँ ऋण नै । भन्छन्- कसैको तिरोभरो नहुँदा अर्कै आनन्द आउँछ ।

Admin 2011-03-03