शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

शीप वितरण
सञ्जीव सुब्बा
प्रमुख कार्यकारी अधिकृत
राष्ट्रिय बैङ्किङ प्रशिक्षण प्रतिष्ठान
मुलुकको वित्तीय बजारलाई आवश्यक पर्ने जनशक्तिको शीप विकासका साथै उनीहरूलाई अझ दक्ष र परिणाममुखी बनाउन लागिपरेका छन् उनी । बैङ्क तथा वित्तीय क्षेत्रको 'थिङ्क टयाङ्क'का रूपमा रहेको राष्ट्रिय बैङ्किङ प्रशिक्षण प्रतिष्ठान (एनबीटीआई)का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा आफूभन्दा पनि आफूले नेतृत्व गरेको संस्थाका गतिविधिबारे सर्वसाधारणलाई जानकारी गराउन चाहन्छन् । एनबीटीआई कुनै व्यक्ति विशेषको नभई विभिन्न संस्थाको संस्थागत सामूहिक प्रयासमा स्थापना भएको साझा चौतारी भन्न रुचाउँछन् उनी ।

अर्थतन्त्रका अनेकौं आयामलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्नुका साथै बैङ्किङ जगत्मा आबद्ध मानव संसाधनलाई अन्तरराष्ट्रिय स्तरको तालीम दिने उद्देश्यले २ वर्षअघि एनबीटीआईले काम थालेको हो । एशियाली विकास बैङ्क, नेपाल राष्ट्र बैङ्क, नेपाल बैङ्कर्स एशोसिएशन र ग्रामीण लघुवित्त विकास केन्द्र (आरएमडीसी)को साझेदारीमा एनबीटीआई सञ्चालित छ ।

जोखिम व्यवस्थापन, ग्राहक सेवा, शाखा व्यवस्थापन, विदेशी मुद्रा तथा ढुकुटी व्यवस्थापनलगायत बैङ्कका खजाञ्जीदेखि प्रमुख कार्यकारी अधिकृतसम्मलाई प्रशिक्षण दिएको छ प्रतिष्ठानले । बितेको वर्षमा ५० भन्दा बढी अन्तरराष्ट्रिस्तरका तालीम सञ्चालन गरेको यस प्रतिष्ठानले १ हजार ५ सयभन्दा बढी बैङ्क तथा वित्तीय क्षेत्रका व्यक्तिलाई दीक्षा दिएको छ । साथै, प्रतिष्ठानले व्यावसायिक बैङ्किङमा डिप्लोमा उपाधि दिने गरी कक्षा प्रारम्भको तयारी गरिरहेको छ । १ वर्षको छोटो अविधिमा सुब्बाले आफ्नो क्षमता र बौद्धिकता सबै साझेदारले प्रत्यक्ष महसूस हुने गरी देखाएर मातृभूमिप्रति लगाउनसम्म गुन लगाएका छन् । उनकै सक्रियतामा एशियन इन्षिटच्युट अफ टेक्नोलोजी, इण्डियन इन्षिटच्युट अफ बैङ्किङ एण्ड फाइनान्स, पञ्जाब नेशनल बैङ्क, इण्डियन इन्षिटच्युट अफ टेक्नोलोजी र सिङ्गापुरको ओमेगा ग्रूपसँग ज्ञान र अनुभव आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

सुब्बाका पुखाको थातथलो ताप्लेजुङ हो । यद्यपि तीन पुस्ताअघिदेखि नै उनीहरू स्थायी बसोबासका निम्ति काठमाडौं खाल्डोमा आएका हुन् । सन् १९१० उनका हजुरबुबाले 'अर्डर अफ ब्रिटिश इण्डिया र रायबहादुर पदक' पाएका थिए । सम्भवतः सञ्जीवका बाजे नै पहिलो र अन्तिम नेपाली हुन् उक्त पदवी पाउने । ४४ वर्षअघि बालुवाटारमा जन्मेका उनी ५ वर्षको उमेरदेखि देशका विभिन्न भागमा पुगे -सरकारी सेवामा रहेका पिताको 'पोष्टिङ'का कारण । उनले देशका कुनाकन्दरालाई नजिकबाट नियालेका मात्र छैनन् गरीबका झुपडी पनि देखेका छन् । ती झुपडीमा समृद्धि ल्याउन सरकारीस्तरमा ठोस प्रयास हुनुपर्ने उनलाई लाग्छ । शीप र उद्यमशीलताको विकासबाट नै निर्धनहरूको उत्थान हुने उनको अभिमत छ । सञ्जीवले सिध्दार्थ वनस्थलीबाट प्रवेशिका, लखनउ विश्वविद्यालयको वाणिज्यशास्त्रको स्नातकोपाधि अनि अमेरिकाको वेबष्टर विश्वविद्यालयबाट अन्तरराष्ट्रिय व्यापारमा एमबीए गरेका छन् । उनले झण्डै ८ वर्षतत्कालीन ग्रिण्डलेज बैङ्कमा काम गरे । आफैले अध्ययन गरेको विश्वविद्यालयको कार्यकारी निर्देशक भएर बैङ्ककमा काम गर्न प्राप्त अवसरलाई गुमाएनन् उनले ।  र,  ११ वर्षत्यहाँ बिताएर एनबीटीआई आएका उनमा देशमा केही गर्न सकिन्छ भन्ने अजस्र आत्मविश्वास छ । विदेशको वैभव होइन, मातृभूमिको मायाले उनी यता आएका हुन् ।

देशको वर्तमान राजनीतिक अवस्थाबारे टीकाटिप्पणी वा गुनासो गर्नु औचित्यहीन लाग्छ सुब्बालाई । हरेक नागरिकले सकारात्मक सोचका साथ काम गर्नुपर्ने विचार व्यक्त गर्छन् उनी । कुनै पनि पक्ष झीनामसिना कुरामा अल्झेर राष्ट्र विकासको बाधक बन्न नहुने उनको बुझाइ छ । लक्ष्य निर्धारण गरेर दृढ आत्मविश्वासका साथ अगाडि बढेमा सफलता प्राप्त गर्न कठिनाइ नहुने उनलाई लाग्छ । आफै कार्यक्षेत्रमा डटेर काम गर्नु उनको व्यवस्थापन मन्त्र हो । योग्य र सक्षम मान्छेलाई अवसर दिनुपर्छ भन्ने उनी क्षमता अभिवृद्धिको अवसर दिँदा कर्मचारी अभिप्रेरित हुने बताउँछन् ।  'लर्निङ वाइ डुइङ' अर्थात् काम गर्दै र सिक्दै जाने पद्धति पनि अँगालेका छन् उनले एनबीटीआईमा । सिक्ने-सिकाउने सिलसिला सधैं सञ्चालन भइरहने मान्यता छ उनको । मनमा खोट भएका तथा कुरा लुकाउनेहरूसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन ।

धर्मकर्ममा विश्वास गर्छन् सुब्बा । आफू बसेको समाजको विकासका निम्ति हरेकले सकेको योगदान गर्नुपर्ने उनको मान्यता छ । फुसद पाउँदा मन्दिर जान्छन् र योग पनि गर्छन् उनी । त्यसो गर्दा उनलाई आनन्दानुभूति हुन्छ । 'केही दशक अघिसम्म मैदान बस्नेहरूले शौचालय प्रयोग गर्न थालेको कति नै भयो र !' देशमा संस्थागत संस्कारको विकास भएनभएकोबारे सटिक प्रतिक्रिया दिँदै उनी भन्छन् । 'कर्पोरेट कल्चर'को विकास क्रमशः हुँदै गरेको उनको ठम्याइ छ । उनले शारीरिक रूपमा अशक्त तथा वृद्धाश्रममा आश्रतिहरूलाई सक्दो सहयोग गर्दै आएका छन् ।

Admin 2011-06-02