''विकास बुद्धको चरणमा'' - मनोहरशमशेर जबरा
प्रमुख कार्यकारी अधिकृत
यती ट्राभल्स प्राइभेट लिमिटेड
दरबारमार्गस्थित उडल्याण्ड होटलको पहिलो तलामा रहेको उनको कार्यकक्ष सम्मान र प्रशस्तिपत्रले भरिभराउ छ । प्रशंसापत्रहरूमा लयात्मक पाराले उनको नेतृत्वमा रहेको संस्थाको गुणगान गरिएको छ- राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट । सानो तर चिटिक्क परेको उनको 'च्याम्बर'मा प्रवेश गर्ने जोकोहीले महसूस गर्छन्- मुलुकको सर्वाधिक विदेशी मुद्रा आर्जन गर्ने ट्राभल एजेन्सीका प्रमुखको कोठाको सामान्यपन । उनको नाम र व्यवहार साँच्चै समान छ र, अद्भुत छ- सरलता र विनयशीलता । यती ट्राभल्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोहरशमशेर जङ्गबहादुर राणा 'पर्यटनलाई सगरमाथा र आफूलाई आधार शिविर' मान्छन् । झण्डै साढे चारदशकदेखि देशमा पर्यटन प्रवर्द्धनको पर्याय बनेको यती ट्राभल्समा उनले सेवा गरेको पनि ४० वर्ष नाघिसकेको छ । तत्कालीन श्री ५ को सरकारको शाखा अधिकृतसरहको पदमा प्रवेश गरेका उनले मासिक ३ सय ७५ रुपैयाँ बेतन बुझ्थे । कूटनीतिक सेवामा लाग्ने उनको उत्कट अभिलाषा त्यसबेला पूरा भएन- परराष्ट्र मन्त्रालयले कर्मचारी माग नगर्दा । कूटनीतितिर लागे पनि पर्यटन क्षेत्र भए पनि आखिर देशविदेश शयर गर्ने नै हो भन्ठानेर उनी यतीतिर लागेका हुन् ।
वीरशमशेरका पनाति मनोहरमा लेसमात्र पनि अभिमान छैन । आफूलाई 'मध्यमवर्गीय राणा' भन्ने उनको सन् १९५२ मा जन्म भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन् । अष्ट्रियाको साल्र्सवर्गबाट पर्यटनसम्बन्धी उच्चस्तरीय तालीम लिएका उनलाई सधैँ नयाँ काम गर्न मन लाग्छ । उनकै अगुवाइमा पहिलोपटक भीमकाय कङ्कर्ड र ७४७ विमान नेपाल भित्र्याइएको हो- पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि । पदक र पैसाका निम्ति नभई राष्ट्रका निम्ति काम गरेको बताउने उनी आफूलाई राष्ट्रवादी भन्न रुचाउँछन् । नारामा सीमित रहने खोक्रो राष्ट्रवाद उनलाई अप्रिय लाग्छ । प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा उनी राष्ट्रपे्रम देख्छन् ।
विगत ४ वर्षदेखि मनोहरले यती ट्राभल्सलाई प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरिरहेका छन् । उनको मातहतमा २ सय ५० जना काम गर्छन् । उनको ३ सय ६५ दिन काम गर्ने बानी छ । त्यसो गर्दा उनलाई मानसिक सन्तुष्टि हुन्छ । पारदर्शिता उनको व्यवस्थापन मन्त्र हो । संस्थाको प्रगतिमा आफ्नो उन्नति देख्ने उनी व्यक्तिलाई गौण ठान्छन् । आफ्ना अनुभव सुनाउने र अरूका पनि सुन्दा उत्कृष्ट ढङ्गले कार्य सम्पादन हुन्छ भन्नेमा उनी विश्वस्त छन् । कर्मचारीहरूलाई पनि त्यसै गर्न प्रेरणा दिइरहन्छन् उनी । दण्ड र पारितोषिकको चलन पनि छ, उनको कम्पनीमा । देशप्रतिको दायित्व नबिर्सन उनी सबैलाई घचघच्याइरहन्छन्- नेपाली नागरिकका हैसियतले । अनुशासनहीन, समयको बेवास्ता गर्ने र नकारात्मक सोच भएका मान्छेसँग व्यवहार गर्न उनलाई असहज लाग्छ ।
टेम्पल टाइगर ग्रूप अफ कम्पनिज्का कार्यकारी अध्यक्ष वसन्तराज मिश्र मनोहरलाई काममा मरिमेट्ने अत्यन्त व्यावसायिक व्यक्ति मान्छन् । उनको कामप्रतिको समर्पण र लगावबाट सबैले सिक्नुपर्ने मिश्रको मत छ । पर्यटन क्षेत्रमा सतिसालको वृक्षझैं अरूलाई ओत र छहारी दिएर बसेका मनोहरको मेहनतको जति प्रशंसा गरे पनि कम हुने मिश्र बताउँछन् । फ्रान्सेलीलगायत विभिन्न अन्तरराष्ट्रिय भाषामा भएको उनको पकडले पर्यटनजगत् जाज्वल्यमान भएको मिश्रको निचोड छ ।
शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थललाई धार्मिक एवम् प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न मनोहरले आध्यात्मिक पर्यटनको 'प्याकेज' अघि सारेका छन् । ताइवान, कोरिया, जापान र श्रीलङ्काका बौद्धमार्गीलाई लक्षित गरेर यो प्याकेज ल्याइएको हो । उनको लक्ष्य लुम्बिनीको विकाससँगै राष्ट्रको ढुकुटी विदेशी मुद्राले भर्ने छ । आफूले गरेको काममा उनी सन्तुष्ट छन् तर आफूलाई सफल व्यक्ति भन्न चाहँदैनन् । मुलुकलाई आर्थिक रूपले उचाल्न, उजिल्याउन र उन्नत पार्न पर्यटन क्षेत्रसँग सम्बद्ध निजीक्षेत्रका व्यवसायी एवम् सङ्घसंस्था र सरकारी निकायबीच सहकार्य एवम् सहयोग हुनुपर्नेमा उनको जोड छ । योजनाबद्ध ढङ्गले ती निकायले काम गरेमा देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्न सकिनेमा उनी विश्वस्त छन् ।
विद्यावारिधि गर्ने चाहना पूरा गर्न नपाएकोमा खेद प्रकट गर्छन् मनोहर । हिन्दूधर्म मान्ने उनी हरेक सोमवार देवाधिदेव महादेवको व्रत बस्छन् । हरेक दिन पाठपूजा गर्ने उनलाई त्यसो नगरेको दिन अँध्यारो लाग्छ । मुलुकमा अपार जलस्रोत भए पनि त्यसको सदुपयोग गर्न सकिएको छैन । त्यसैले थोरै लगानीमा अधिक प्रतिफल प्राप्त हुने पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योग घोषणा गर्न उनको सरकारसँग आग्रह छ ।