''समृद्धि सूत्रः बिजुली र प्रविधि'' - धनञ्जयप्रसाद आचार्य
अध्यक्ष, क्लिन इनर्जी डेभलपमेण्ट बैङ्क
'विद्युत् उत्पादनको सिद्धान्ततः अथाह सम्भावना भएको मुलुकमा दैनिक २२ घण्टा लोडशेडिङको अवस्था आउनु दुर्भाग्यपूर्ण हो' बढिरहेको बिजुलीविहीनताको वास्तविकता बोध गराउँदै उनी भन्छन् । जलविद्युत्को विकास नभएसम्म मुलुक वैभवशाली हुन नसक्ने मत व्यक्त गर्ने उनी नेपालमा उपलब्ध प्राकृतिक स्रोत र साधनको अधिकतम उपयोगलाई सर्वाधिक महत्त्व दिन्छन् । बिजुली नभई मुलुक विकास नहुने उनको मान्यता छ । जलस्रोत, कृषि, जडीबुटी, पशुपालन, पर्यटन आर्थिक समृद्धिका बाहक भएकाले तिनको भरपुर सदुपयोग गर्न पनि बिजुली नै चाहिन्छ र त्यसका लागि राज्यस्तरबाट आवश्यक प्रयास हुनुपर्ने उनलाई लाग्छ । स्वच्छ ऊर्जाको विकासका निम्ति स्थापना भएको क्लिन इनर्जी डेभलपमेण्ट बैङ्कका अध्यक्ष धनञ्जयप्रसाद आचार्यको देशमा दूरदर्शी नेताको खडेरी परेकाले अर्थतन्त्र ओरालो लागेको विश्लेषण छ । एक शताब्दी लामो विद्युत् उत्पादनको अनुभवलाई नेपालले उपयोग गर्न नसकेको उनको गुनासो छ । देशमा ६ सय ७२ मेगावाट बिजुली उत्पादन भएको दाबी गरिए पनि 'ग्रीड'मा ४ सय मेगावाटभन्दा बढी नभएको रहस्योद्घाटन गर्ने उनी पूँजीको अभावमा उपलब्ध अपार स्रोतको दोहन हुन नसकेको बताउँछन् । विद्युत् विकासका लागि राजनीतिक दलहरूले 'कमन मिनिमम प्रोग्राम' बनाएर अघि बढ्नुपर्ने उनको तर्क छ ।
विद्युत् मागका आधारमा राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत् आयोजना विकास गर्नुपर्नेमा जोड दिने आचार्य चाँडोभन्दा चाँडो 'लोडशेडिङ' घटाउन भारतले सञ्चालनको अनुमति लिएका दुइ बृहत् विद्युत् परियोजनाहरू अरूण र बूढीगण्डकीमा काम अविलम्ब थाल्नुपर्ने बताउँछन् । राष्ट्रिय श्रम, स्रोत र शक्तिलगाएर अरूण तेस्रोलगायत भारतले निर्माण गर्ने आयोजनालाई शीघ्र सम्पन्न गर्नु नेपालका निम्ति लाभदायक हुने उनको विश्लेषण छ । भारततर्फबिजुली निकासी भएपछि थप विदेशी लगानी भित्र्याउन सहज हुने उनको ठम्याइ छ । विद्युत्गृह नबनीकन उत्पादकहरूमाथि कर लगाउनु न्यायोचित नभएको उल्लेख गर्ने उनी बिजुली बेचेर भुटानले हासिल गरेको हाम्रोभन्दा दोब्बर कुल गार्हस्थ्य उत्पादनबाट नेपालले पाठ सिक्नुपर्ने टिप्पणी गर्छन् ।
१ लाख मेगावाट विद्युत् उत्पादनका लागि ४ सयभन्दा बढी समूहले अनुमति लिएका छन् । तर, बिजुली उत्पादनका निम्ति अनुमति लिएर खोला ओगट्नुलाई गम्भीर अपराध मान्दैनन्, आचार्य । नवीकरणीय र सौर्य ऊर्जाको विकासमा लगानी गरिरहेको उनको नेतृत्वको बैङ्कले १ सय ४० जनालाई रोजगारी दिएको छ । ४ वर्षअघि स्थापना भएको क्लिन इनर्जीले खासगरी पहाडी भेगलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएको छ । आम्दानीको तुलनमा खर्च बढेको बताउने उनी बैङ्क तथा वित्तीय संस्थाको 'मर्जर'लाई अपरिहार्य ठान्छन् । बैङ्कका प्रमुख कार्यकारी अधिकृतको अकाशिएको तलबमानमा अङ्कुश लगाउन नेपाल राष्ट्र बैङ्कले हालै गरेको परिपत्रलाई उनी सामयिक निर्णय मान्छन् ।
राजनीतिक अस्थिरताका कारण राष्ट्र अन्योल उन्मुख भएको आचार्यको ठम्याइ छ । बढ्दो बेरोजगारी घटाउन विद्युत् विकास भरपर्दो विकल्प भएकाले सके अनुदान नसके कर छूट दिएर यसको प्रवर्द्धनका कार्यक्रमलाई व्यापक ढङ्गले अघि बढाउनुपर्ने उनको सल्लाह छ । 'विप्रेषण बढाएर हुँदैन, रोजगारीका अवसर सिर्जना गर्नुपर्छ' एउटा जलविद्युत् आयोजना पूर्ण रूपमा सम्पन्न गर्न एक दशक लाग्ने उल्लेख गर्दै उनी त्यसले प्रशस्त रोजगारीका अवसर दिने सुझाउँछन् । एकजना नेपालीको भागमा २० हजार लिटर पानी पर्ने भएकाले पानीको भरपुर उपयोग गरेर आर्थिक क्रान्ति गर्न सकिने उनको विश्लेषण छ । देशमा उपलब्ध पानी बिजुली निकाल्न र सिँचाइमा लगाउनुपर्ने उनको सुझाव छ । ऊर्जा उत्पादनलाई सरकारले प्राथमिकता नदिएकाले बिजुलीविहीनताको वर्तमान अवस्था सिर्जना भएको उनको ठम्याइ छ । ऊर्जाको अधिकतम उपयोगबाट चीन, नर्वे क्यानाडा र खाडी मुलुक वैभावशाली भएका दृष्टान्त उनी प्रस्तुत गर्छन् ।
सधैं मिहिनेत गर्ने र आत्मनिर्भर हुनुपर्नेमा जोड दिने आचार्य आफू मातहतका कर्मचारीलाई निर्णय स्वतन्त्रता र जिम्मेवारी बराबर दिन्छन् । उनीहरूलाई व्यक्तिगत तथा वृत्तिविकासको पर्याप्त अवसर दिनु नै उनको व्यवस्थापन मन्त्र हो । व्यावसायिक दक्षता र केही गर्छु भन्ने भावना भएकालाई ढाडस दिनु उनको विशेषता हो । ७० वर्षा उनी कर्ममा विश्वास गर्छन् र फलको अपेक्षा गर्दैनन् । लगावका साथ काममा समर्पित हुन युवा जमातलाई उनको सुझाव छ । योग्य मान्छेलाई रोक्नु हुँदैन भन्ने उनलाई नैतिकता नभएका मान्छेसँग काम गर्न पटक्कै मन लाग्दैन । लेखपढ भनेपछि हुरुक्क हुने उनले २०४२ सालमा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेका छन् । बाल्यावस्थामा नै पितृस्नेहबाट वञ्चित भएका उनले स्नातक गरेको धेरै वर्षपछि डिग्री लिएका हुन् । समस्या समाधान र ऊर्जासम्बन्धी काम गर्नुलाई आफ्नो शोखको रूपमा प्रस्तुत गर्ने उनी मोटर मोबाइलजस्ता भौतिक सामग्री प्रयोग त गर्छन तर फेरिरहन रुचि राख्दैनन् ।
धर्मकर्ममा विश्वास भए पनि अक्कलझुक्कल देवालय धाउने आचार्यले आफ्नै घरमा मन्दिर बनाएका छन् । सयम पाएसम्म पूजापाठ गर्ने उनको बानी छ । पूजापाठबाट उनलाई आत्मशान्तिको अनुभूति हुन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकास र तिनबाट प्राप्त सुविधाको सक्दो सदुपयोग गर्ने उनी दैनिक पत्रपत्रिका र इण्टरनेटबाट आफूलाई सुसूचित एवम् अद्यावधिक गर्छन् । अमेरिकी कम्पनीसँगको सहकार्यमा नेपालमा कम्प्युटरसम्बन्धी विविध तालिम दिने सम्भवतः नेपालको सबैभन्दा ठूलो प्रशिक्षण केन्द्र न्यू होराइजनका सञ्चालकसमेत रहेका उनलाई सूचना तथा सञ्चारप्रविधिको विकासलाई आत्मसात् गर्न सके त्यसले आर्थिक उन्नयनका प्रशस्त ढोका खोल्छ भन्ने लाग्छ ।